युवा परिषद्सँगको सहकार्यमा नेफ्स्कूनले गरेको लगानी जोखिममा, असुली नभएपछि आन्तरिक स्रोतबाटै भुक्तानी 

युवा परिषद्सँगको सहकार्यमा नेफ्स्कूनले गरेको लगानी जोखिममा, असुली नभएपछि आन्तरिक स्रोतबाटै भुक्तानी  :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा गरेको लगानी जोखिममा पर्न थालेको छ ।नेफ्स्कूनले परिषद्सँग आर्थिक वर्ष २०७४ / ०७५ र २०७५ / ०७६ मा गरी कूल १९ करोड ५० लाख रुपैयाँ परिचालन गरेको छ ।

सम्झौता अनुसार ३७२ वटा युवा उद्यम समूह र ४५ जना शिक्षित वेरोजगार युवाहरुलाई शैक्षिक प्रमाणपत्र धितोमा ऋण परिचालन गरेको थियो । तर, उक्त लगानीको नियमित सावा तथा ब्याजको किस्ता असुली हुन छाडेपछि नेफ्स्कून अप्ठेरोमा परेको छ ।

ऋणीबाट असुली गर्न नसकेपछि नेफ्स्कूनले आन्तरिक स्रोतबाट परिषद्लाई ऋण भुक्तानी गरेको छ । स्रोतका अनुसार परिषद्ले संघलाई कालो सुचीमा राख्ने चेतावनी दिएपछि नेफ्स्कूनले आन्तरिक स्रोतबाटै ऋण भुक्तानी गरेको हो ।

कोषाध्यक्ष दिपक पनेरुको आर्थिक प्रतिवेदन अनुसार ऋण असुली नभएपछि नेफ्स्कूनले परिषद्लाई एक करोड ७४ लाख रुपैयाँ आफ्नै स्रोतबाट भुक्तानी दिएको छ । गत आर्थिक वर्षसम्म युवा कार्यक्रम अन्तर्गत ९ करोड ६३ लाख ९२ हजार ७५९ रुपैयाँ ऋण लगानीमा रहेको छ । तर, परिषद्लाई भने ७ करोड ८९ लाख रुपैयाँ मात्र तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेफ्स्कुनको लेखा समितिका संयोजक नबराज सापकोटाले पनि युवा परिषद्सँगको सहकार्यमा भएको ऋण जोखिममा रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । ऋणहरुको अनुगमन र भाका नाघेको किस्ताको पर्याप्त जोखिम कोषको व्यवस्थापन नगरेको लेखा समितिले टिप्पणी गरेको छ ।

परिषद्सँगको सम्झौता अनुसार परिषद्ले तोकेको मापदण्ड र संघले तय गरेको किस्ताबन्दीबीच सामञ्जस्यता कायम गरी लगानी र असुलीको व्यवस्थान मिलाउनु पर्ने देखिन्छ ।

युवा परिषद्ले ऋणको भुक्तानकिा लागि बारम्बार तागेता गरिरहेको सन्दर्भमा युवा उद्यम ऋण असुलीका लागि विषेश पहल गर्न, परिषद्को सहकार्यमा अनुगमनलाई प्राथकिता दिन र ऋण असुलीमा आवश्यक सुरक्षा प्रवन्ध मिलाउन समेत समितिले सुझाव दिएको छ ।

यसैगरी समितिले ऋण भुक्तानी नेफ्स्कूनको आन्तरिक स्रोतबाट भएको उल्लेख गर्दै आगामी दिनमा असुली पश्चात मात्र परिषद्लाई भुक्तानी दिन समेत संचालक समितिलाई सुझाव दिएको छ ।
 



Leave a comment