केन्द्रीय संघले बचत फिर्ता नगर्दा बहुउद्देश्यीय संस्थाहरु अफ्ठेरोमा 

केन्द्रीय संघले बचत फिर्ता नगर्दा बहुउद्देश्यीय संस्थाहरु अफ्ठेरोमा  :: Sahakari Akhabar

काठमाडौं । तरलता अभावलगायतको समस्यासँग जुधिरहेका बेला बहुउद्देश्यीय सहकारी संस्थाहरुभने आफ्नै छाता संघबाट पनि पिडित बनेका छन् । बहुउद्देश्यीय सहकारीहरुको छाता संगठन नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेपछि सदस्य संस्थाहरु थप अफ्ठेरोमा परेका हुन् ।

केन्द्रीय संघमा राखेको बचत फिर्ता नपाएपछि संस्थाहरुलाई पनि सदस्यको बचत फिर्ता गर्न समस्या हुन थालेको बहुउद्देश्यीय सहकारी संस्थाका संचालकहरु बताउँछन् । शान्ति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठका अनुसार केन्द्रीय संघले ९ महिनायता कुनै पनि संस्थाहरुलाई बचत फिर्ता गर्न सकेको छैन ।

संघबाट बचत फिर्ताको माग गर्दै शान्ति, आश्रय, मिलन र सुझाव बहुउद्देश्यीय सहकारी संस्थाहरुले ७ महिना अघि नै निवेदन पेश गरेपनि हालसम्म रकम नपाएको शान्ति बहुउद्देश्यीयका अध्यक्ष श्रेष्ठले बताए । ‘संघले भने अनुसार नै चार वटा संस्थाहरुले संचालक समितिको निर्णय सहित बचत फिर्ताको लागि संयुक्त निवेदन दिएका थियौं’ उनले भने, ‘अहिलेसम्म थोरै पैसा पाएका छैनौं ।’

केन्द्रीय संघले पैसा नदिएको भन्दै उनीहरुले राष्ट्रिय सहकारी विकास बोर्ड र राष्ट्रिय सहकारी महासंघमा समेत लिखित निवेदन दिएका छन् । तर, हालसम्म यी निकायले पनि कुनै पहल नगरेको श्रेष्ठले गुनासो गरे । यता महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्मसुहाङ सुब्बाले भने बहुउद्देश्यीय केन्द्रीय संघले बचत फिर्ता नगरेको विषयमा महासंघमा कुनै उजुरी दर्ता नभएको दावी गरिन् ।

संघका अध्यक्ष समेत रहेका सुरेन्द्र भण्डारी सचिव रहेको श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्यामा परेपछि संघले पनि बचत फिर्ता गर्न नसकेको हो । अधिकांश निक्षेप लालिगुराँसमा रहेकाले संघ अप्ठेरोमा परेको बताइएको छ ।

बहुउद्देश्यीय केन्द्रीय संघकी व्यवस्थापक सन्ध्या श्रेष्ठले सिंगो वित्तीय क्षेत्रमा नै समस्या आएकाले संघमा तरलता अभाव भएको दावी गरिन् । ‘बहुउद्देश्यीय केन्द्रीय संघमा मात्र होइन, सिंगो वित्तीय क्षेत्रमै तरलता अभाव छ’ उनले भनिन्, ‘सबै बचत लगानीमा रहेकाले त्यो असुली गरी सदस्य संस्थाहरुको बचत फिर्ता गर्न क्रियाशिल छौं ।’केन्द्रीय संघमा ३५० ओटा संस्थाहरु सदस्य रहेका छन् । उनीहरुको डेढ करोड सेयर पुँजी र २० करोड रुपैयाँ भन्दा बढि निक्षेप रहेको बताइएको छ ।

साधारणसभा पनि अन्योलमा 

२ वर्षअघि नेतृत्वको विषयमा संचालकहरुबीचको विवाद अदालतमा पुगेपछि संघको साधारणसभा नै अन्यौलमा छ । संघमा अध्यक्ष सुरेन्द्र भण्डारीले पुनः नेतृत्व गर्ने तयारी गरेपछि सचिव माधव तिमल्सिनाले पनि अध्यक्षमा दावेदारी पेश गरेका थिए ।

त्यसपछि एक पछि अर्को मुद्दा परेपछि तोकिएको समयमा साधारणसभा हुन सकेन । संचालक समितिमा देखिएको दुई पक्षबीच सहमतिका लागि संघिय सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघले प्रयास गरेपनि सफल हुन सकेन ।



Leave a comment