काठमाडौं । राष्ट्रिय सहकारी महासंघले यस बर्षको सहकारी दिवसका लागि थिम (नारा) तय गरेको छ । महासंघको संचालक समितिले यस बर्षको लागि ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ नारा छनोट गरेको हो ।
महासंघले हरेक वर्ष सहकारी दिवसको अवसरमा वर्षभरीका लागि नारा बनाउदै आएको छ । तरलता अभावका कारण सहकारी संस्थाहरु समस्यामा रहेका बेला महासंघले दिगोपना, स्वनियमन र सुशासनलाई प्राथमिकता दिएर नारा तय गरेको हो ।
२०१३ साल चैत्र २० गते चितवनमा बखानपुर सहकारी ऋण समिति स्थापना भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । जसका लागि महासंघले हरेक वर्ष नारा तय गर्दै आएको छ ।
यसअघि महासंघले सामाजिक संजालमा सूचना प्रकाशित गर्दै सहकारी अभियानको यस वर्षको थिम छनौटका लागि तयारी भइरहेको हुदा सुझाव पठाउन आग्रह गरेको थियो । उत्कृष्ट थिम प्रस्तावकर्तालाई छनौट भएको खण्डमा प्रोत्साहनको व्यवस्था गरिएको सूचनामा उल्लेख भएपनि कसको प्रस्ताव छनोट गरिएकोबारे महासंघले खुलाएको छैन ।
यसअघि गत वर्ष पनि महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसको थिम पठाउनका लागि समेत सार्वजनिक सूचना नै जारी गरेको थियो । नगद पुरस्कारको व्यवस्था सहित थिम प्रस्ताव गर्न आग्रह गर्दै सूचना प्रकाशित गरेपनि अघिल्लो वर्षकै ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारालाई निरन्तरता दिएको थियो ।
Leave a comment