काठमाडौं । सहकारी संस्थाहरुका समस्या समाधानमा संघ÷महासंघका नेताहरु सक्रिय नभएको उनीहरुलाई कालोमोसो लगाउनेसम्मको आवाज उठ्न थालेपछि ‘सहकारी बचाऔं राष्ट्रिय अभियान’ को नाममा सुरु आन्दोलनलाई मत्थर पार्न सहकारी नेताहरु नै सक्रिय भएका छन् ।
आन्दोलनमा सहभागि सहकारीका संचालकहरु आक्रोशित हुदै गएपछि त्यसले नकारात्मक सन्देश जाने भन्दै त्यसलाई सहज रुपमा अघि बढाउन र संघ–महासंघका नेताहरुलाई आन्दोलनका मागप्रति सकारात्मक बनाइ आन्दोलन कार्यक्रमलाई मत्थर बनाउन अभियानभित्रैका दोस्रो तहका नेताहरुले सक्रियता देखाएका हुन् ।
आन्दोलनकारीहरुले गत शुक्रबार विभिन्न १३ बुँदे माग अघि सार्दै संघ÷महासंघ विरुद्ध समेत आन्दोलन घोषणा गरेका छन् । उनीहरुले सन्दर्भ ब्याजदर खारेजी, तरलता व्यवस्थापनका लागि राज्यकोषबाट सहयोग, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण स्थापना, ऋणी तथा जमानीको चलअचल सम्पत्ति संस्थाको परिपत्रमार्फत रोक्का गर्न सकिने व्यवस्था, व्यक्तिगत बचतको सीमा २५ लाख तोक्ने प्रावधान खारेजलगायतका माग गरेका छन् ।
यस्तै संचालक र कर्मचारीहरुले त्रासमुक्त भएर संस्था सञ्चालन गर्ने वातावरण, ब्याजकर दाखिला गर्न एक वर्ष समय थप, संस्था सञ्चालनका लागि आवश्यक बातावरण बनाउन२ वर्षको कुलिङ पिरियड, नियमनका लागि सेकेण्ड टायर इन्स्टिच्युसन, सहकारीमा विश्वासको बातावरण बनाउन सरकार र अभियानको स्पष्ट पहलका साथै सभा, सम्मेलन, गोष्ठीजस्ता कार्यक्रम स्थगनको माग अघि सारेका छन् ।
आन्दोलनकारीहरुले शुक्रबार गरेको छलफलमा कतिपय संचालकहरुले सहकारीका समस्यामा छाता संघ महासंघ संवेदनशिल नभएको भन्दै उनीहरुलाई कालोमोसो दल्नुपर्नेसम्मका आवाज उठाएका छन् । जसको कारण पनि आन्दोलन ‘अराजक’ बन्न थालेको भन्दै महासंघका नेताहरुले नै मत्थर पार्नका लागि सहकारी बैंकका संचालकद्धय रामहरि बजगाई र मनोज थापा, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला सहकारी संघ काठमाडौंका सचिव बालकुमार बास्तोलालाई परिचालन गरेका छन् । यी नेताहरु शुक्रबार सहकारी बचाऔं राष्ट्रिय अभियानले गरेको भेलामा समेत सहभागि भएर एकीवद्धता जनाएका थिए ।
यिनै नेताहरुको सक्रियतामा शनिबार सहकारी महासंघका अध्यक्ष मिनराज कडेँल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीसहितको बैठक भएको थियो । बैठकमा तिनै जना सहकारी नेताहरुले अहिले सिंगो सहकारी अभियानको समस्या स्वीकार गर्ने र त्यसै अनुसार बोल्ने सहमति भएको बताइएको छ।
यसअघि महासंघ र नेफ्स्कूनले केहि सहकारीमा मात्र समस्या देखिएको र सहकारी नीति, सिद्धान्त र कानून अनुसार चलेका सहकारीहरुमा समस्या नरहेको बताउदै आएका थिए । यस्तै आन्दोलनकारीहरुले उठाएका मागहरु अगाडी बढाउनका लागि महासंघका अध्यक्ष कडेँलले नै नेतृत्व लिएर लविङ गर्ने समेत सहमति भएको छ ।
‘छलफलमा महासंघका एक कर्मचारीले सामाजिक संजालमा लेखेको कमेन्टसम्मको छलफल भएको छ’ सहभागि एक नेताले भने, ‘अध्यक्ष कडेँलबाट नै कमी कमजोरी सच्याएर आन्दोलनकारीले उठाएका माग पुरा गर्न नेतृत्व लिने प्रतिवद्धतटा आएको छ ।’
शनिबारको छलफलपछि आईतबार नै महासंघको कार्यकारीणी समितिको बैठक बसेको थियो । त्यसपछि आईतबार नै महासंघका अध्यक्षको नेतृत्वमा सहकारीकर्मीहरुले संघिय सहकारी विभागका रजिष्ट्रारसँग समेत भेटघाट गरेका छन् ।
आन्दोलनकारीको माग सम्बोधन गरी उनीहरुलाई मत्थर पार्नका लागि महासंघले विज्ञप्ती निकाल्ने तयारी समेत गरिरहेको छ । जसमा आन्दोलनकारीले उठाएका मागहरुका साथै छक्कापन्जा–४ चलचित्रको सम्वादमा सहकारीलाई हेपिएको विषयसम्म समेटिनेछन् ।
Leave a comment