मर्जरको ८ वर्षमै बिलायो ‘हाम्रो सगरमाथा’ सहकारी 

मर्जरको ८ वर्षमै बिलायो ‘हाम्रो सगरमाथा’ सहकारी  :: Sahakari Akhabar

काठमाडौं । २०७१ साल भदौमा ७ वटा सहकारीहरु मर्जर भए । सहकारी इतिहासकै ठूलो मानिएको उक्त मर्जरमा सगरमाथा बहुउद्देश्यीय, जनता बहुउदेश्यीय, स्वयम्भू डल्लु बचत तथा ऋण, शुभलक्ष्मी बचत तथा ऋण, मेगा बचत तथा ऋण, हिमशिखर बचत तथा ऋण, हौसला बहुउद्देश्यीय, हाम्रो गाउँ बचत तथा ऋण र भ्याली बहुउद्देश्यीय एक आपसमा गाभिएर हाम्रो सगरमाथा वहुउद्देश्यीयको नाममा एकीकृत कारोबारसुरु भयो।

सहकारी अभियानका नेता केबी उप्रेतीले नेतृत्व गरेको र देशभर कार्यक्षेत्र सहितको पहिचान बनाउन सफल हाम्रो सगरमाथा पछिल्लो समय हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी मर्जरको ८ वर्षमै बिलाएको छ । शनिबार सात वटा सहकारीबिच मर्जर गरी आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी संस्थाका नाममा कारोबार गर्ने निर्णयसँगै सहकारीको इतिहास बनाएको सगरमाथा विलय भएको हो ।

यस अवधिमा हाम्रो सगरमाथामा डेढ दर्जन संस्थाहरु मर्जर भए । तर, जसबाट संस्थाको नाम राखियो त्यो संस्था नै २ वर्ष अघि छुट्टीएको थियो । हाम्रो सगरमाथा वहुउद्देश्यीय सहकारीमा मर्जर भएको सगरमाथा बहुउद्देश्यीय करिब ५ वर्षपछि छुट्टीएको थियो ।

सगरमाथा छुट्टीए पनि हाम्रो सगरमाथाकै नाममा संचालन भइरहेका नयाँ मर्जरपछि भने इतिहासमा मात्र सिमित बनेको छ । ६ महिना अघिमात्र एकीकरणका लागि सम्झौता गरेका ५ वटा संस्थाहरुमा हाम्रो सगरमाथा र तपाई हाम्रो बहुउद्देश्यीय गरी २ ओटा थपिएर कुल ७ वटा सहकारीबीच मर्जरका प्रस्ताव पारित भएको हो । अब संघिय विभागले स्वीकृती दिएपछि एकीकृत कारोबार सुरु हुनेछ ।

गत भदौ २९ गते आइडियल यमुना बहुद्देश्यीय, नेशनल नमोवुद्ध बचत तथा ऋण, नागरिक कल्याण बहुद्देश्यीय, सत्कार बचत तथा ऋण र घेदुङ बहुउद्देश्यीयबीच मर्जरका लागि सम्झौता भएको थियो । उक्त सम्झौता अनुसारको एकीकरण नै अन्यौलमा रहेका बेला एकीकरणमा हाम्रो सगरमाथा र तपाई हाम्रो बहुउद्देश्यीय दुई वटा नयाँ संस्थाहरु थपिएका हुन् ।

शनिबार सम्पन्न संयुक्त साधारण सभाले तर्दथ समिति समेत गठन गरेको छ । तर्दथ समितिको अध्यक्षमा के.बी. उप्रेती छन् । त्यस्तै उपाध्यक्षमा मनोज कुमार थापा मगर, सचिवमा कुयाङ लामा र सदस्यहरुमा श्रवण कुमार राई, प्रकाशमान शाही, प्रजुल कुमार गुरुङ, राधादेवी राई, धन श्रेष्ठ, श्याम बहादुर तामाङ, हस्त रावत चयन भएका छन् । त्यस्तै तदर्थ लेखा समितिको संयोजकमा गोविन्द पुरी रहेका छन् । सदस्यहरुमा कुमार सिंह घिसिङ र बद्री महत रहेका छन्।

एकीकरण पश्चात संस्थाको सेयर सदस्य ५१ हजार ४ सय ८२, सेयर पुँजी ४७ करोड माथी, सेवा केन्द्र ५५, कुल बचत ८ अर्ब १८ करोड, कुल कर्जा ९ अर्ब, कुल कारोबार ११ अर्ब हुनेछ। पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको तरलता अभावका कारण सहकारीहरुले बचत फिर्ता गर्न नसक्ने स्थिती भएपछि मर्जरको लहर चलिरहेको छ ।

उप्रेती पनि आफुले नेतृत्व गरेको संस्था बलियो बनाउन चाहान्थे । बचत फिर्ता गर्न धौ धै परिरहेका बेला उनले दुई बलिया संस्था आइडियल यमुना र तपाईहाम्रोलाई मर्जरमा जोडेर संस्था बनाएका हुन् । मर्जर भएका संस्थाहरुमध्ये बलियो र छवि समेत राम्रो भएको संस्था आइडल यमुना भएका कारण नयाँ संस्थाको नाम पनि यहि छनोट गरिएको बताइएको छ । यसैगरी पछिल्लो समयमा हाम्रो सगरमाथा नामको छवि विग्रदै गएकाले पनि नयाँ संस्थाको नाम परिवर्तन गर्नका लागि उप्रेती आफै सहमत भएका थिए ।



Leave a comment