काठमाडौं । सहकारीका देखिएका समस्या समाधानका लागि सहकारी अभियान र सरकार गम्भिर नभएको भन्दै ‘सहकारी बचाऔं राष्ट्रिय अभियान’का नाममा चरणवद्ध आन्दोलन हुने भएको छ । फागुन २ राष्ट्रिय सहकारी महासंघमा १३ बुँदे ज्ञापनपत्र बुझाएका उनीहरुले त्यसको सम्बोधन नभएको भन्दै थप आन्दोलनको घोषणा गर्न लागेका हुन् ।
गत, आईतबार भएको बैठकले आन्दोलन घोषणाका लागि वृहद भेला बोलाउने निर्णय गरेको थियो । सोही अनुसार शुक्रबार क्वालीटी ब्याङ्केट बुद्धनगरमा बृहत भेला बोलाइएको छ । भेलाबाटै संघ, महासंघ तथा सरकारी निकायहरुमा दवावमुलक कार्यक्रमहरु गर्ने उनीहरुको तयारी छ ।
बृहत भेलाबाट सहकारी महासम्मेलन स्थगित गर्ने मागसहित यसअघि पेश गरेको १३ बुँदा सम्बोधनका लागि पहलकदमी नलिए महासंघमा तालाबन्दी गर्नेसम्मको कार्यक्रमका लागि छलफल हुदैछ । उनीहरुले सन्दर्भ ब्याजदर खारेजी, कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण र बचत तथा ऋण सुरक्षण कोष स्थापनाको मागसहित महासंघको नेतृत्वमा आन्दोलन हुनुपर्ने र नभएमा सहकारी बचाऔं अभियानको नाममा समिति गठन गरी आन्दोलन गर्ने तयारी छ ।
आन्दोलनकारीहरुले विश्व आर्थिक मन्दीको असरले नेपालमा वित्तीय संकटको अवस्था सिर्जना भएको, तरलताको अवस्था सहकारीमा मात्र नभई अन्य क्षेत्रमा पनि रहेको स्वीकार गर्दै तरलता समस्या समाधान तथा सहकारी प्रवद्र्धनात्मक काम अघि बढाउन माग गरेका छन् ।
यसअघि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेँललाई बुझाएको ज्ञापनमा सहकारीमा देखिएका समस्या सरकार र अभियानको तर्फबाट सम्बोधन गर्नुपर्ने, ब्याजदर बजारलाई खुल्ला छोड्नुपर्ने, कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरण तत्काल स्थापना गर्नुपर्ने लगायताका विषयहरु समेटिएका छन् ।
उनीहरुले तीन दिन भित्र माग सम्बोधन नभएमा आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका थिए । तर, दुई साता वितीसक्दा पनि महासंघले कुनै पहल नगरेको भन्दै थप आल्दोलन गर्न लागेका हुन् ।
Leave a comment