सहकारी लगायत वित्तिय संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन गृह मन्त्रालयको निर्देशन

सहकारी लगायत वित्तिय संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन गृह मन्त्रालयको निर्देशन :: Sahakari Akhabar

काठमाडौँ । सरकारले देशभरका सहकारी, बैंक र लघुवित्त संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन सुरक्षा निकायहरुलाई परिपत्र गरेको छ ।

बैंकिङ कसुर, ठगी, खराब ऋणमा संलग्नले आफूले लिएको कर्जा तिर्नुको साटो उल्टै वित्तीय संस्थालाई नै धम्क्याएका घटना बाहिरिएपछि गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सहकारी, बैंक, लघुवित्तलगायत संस्थामाथि निशाना बनाएर आपराधिक गतिविधि हुनसक्नेप्रति सावधान रहन र कसैले कानुन हातमा लिएमा कडाइका साथ कारबाही गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिइएको बताए ।

प्रवक्ता बस्नेतले शुक्रबार साँझ सबै जिल्ला प्रशासन र नेपाल प्रहरीलाई यससम्बन्धी विषय समेटेर परिपत्र गरिएको बताए । सहकारी, बैंक र वित्तीय संस्था लक्षित गरेर उत्शृङखल, अराजक र अवाञ्छित गतिविधि हुनसक्छ, त्यसप्रति सजग रहन र कसैले कानुन हातमा लिएको छ भने कारबाही गर्न निर्देशन दिइएको उनले बताए ।

यसैगरी सहकारीको पैसा नतिर्न उर्दी गर्ने समुहलाई सामुहिक रुपमा बहिस्कार गर्न जिल्ला सहकारी संघ झापाले सदस्यहरुलाई अपिल गरेको थियो ।

देशभर सहकारीलगायत वित्तिय संस्थाको ऋण नतिर्न केही समुहले उर्दी गर्ने गरेकोले त्यस्ता ब्यक्ती र समुहलाई कालो सूचिमा राखेर दण्डित गर्नुपर्ने संघका अध्यक्ष गणेश ढकालले बताए ।



Leave a comment