सहकारी महासम्मेलन : एक दर्जन विषयमा राष्ट्रिय र अन्तर्राष्टिय विज्ञको कार्यपत्र 

सहकारी महासम्मेलन : एक दर्जन विषयमा राष्ट्रिय र अन्तर्राष्टिय विज्ञको कार्यपत्र  :: Sahakari Akhabar

काठमाडौं । चैत २३ देखि २५ गतेसम्म हुन लागेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा एक दर्जन विषयहरुमा राष्ट्रिय र अन्तर्राष्टिय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् । राष्ट्रिय सहकारी महासंघका अनुसार कुल १२ वटा सेसनमध्ये २ वटामा अन्तरर्राष्ट्रिय र ९ वटामा राष्ट्रिय व्यक्तित्वहरुको कार्यपत्रमा छलफल हुनेछ । यसैगरी एउटा सेसन समूह छलफलका लागि छुट्याइएको छ ।

महासम्मेलनमा विजनेश काउन्सिल अफ को-अपरेटिभ एण्ड म्युचुअल अष्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसन र आइसीए एसिया प्यासेफिकका क्षेत्रिय निर्देशक वालु आयरले सहकारीको पहिचानबारे र जेए जेन्चु जापानका सिनियर म्यानेजर टकउ इचियाको सहकारी एकीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले डिजिटल इनोभेसन, पूर्व सचिव रामेश्वर खनालले सहकारीमा प्रभावकारी लोकतान्त्रिक शासन पद्धति, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले स्वनियमन र सुपरिवेक्षण, राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले तरलता व्यवस्थापन, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले दिगो विकास लक्ष्य, उद्योग मन्त्रालयकी सहसचिव राधिका अर्यालले वित्तीय र लैङगिक समावेशीता, कृषि तथा बन विश्वविद्यालयका उपकुलपती प्रा.डा पुन्य रेग्मीले कृषि सहकारीरसहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले भिजन २०३० बारे कार्यपत्र प्रस्तुती गर्नेछन्।

यसैगरी महासम्मेलनमा पूर्व बैंकर अनिल केशरी शाहको उत्प्रेरणा मन्तव्य र मन्त्रालय, नेपाल उद्योग बाणिज्य महासंघ र सहकारी महासंघबीच पब्लीक–प्राइभेट–कोअपरेटिभ पार्टरसिपबारे प्यानल छलफलको कार्यक्रम पनि राखिएको छ । हरेक पाँच–पाँच वर्षमा हुदै आएको महासम्मेलनका लागि ‘सहकारी दिगोपनाका लागि स्वनियमन र सुशासन’ भन्ने नारा तय गरिएको छ ।

यस अघि सन् –२०१८ अप्रिल ४-५ मा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने थिमका साथ दोस्रो महासम्मेलन गरिएको थियो । महासम्मेलनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिवी न्यूनीकरणमा आफ्नो क्षेत्रको भूमिका बढाउनेलगायतका विषयहरु समेटेर १० बुँदे घोषणापत्र जारी गरेको थियो ।

महासम्मेलनले तय गरेको घोषणापत्र अनुसार केहि कामहरु अघि बढेकोे महासंघले जनाएको छ ।तर, कोभिड १९ माहामारी तथा क्षेत्रिय द्धन्दले गर्दा अन्य क्षेत्रहरू झै विश्व सहकारी अभियान समेत नराम्रोसंंग प्रभावित भएको, विश्वमा आर्थिक मन्दी तथा बढ्दो मूल्यवृद्धि लम्विदै गईरहेको छ।

सहकारी क्षेत्रमा तरलता अभावको बर्तमान स्थिति थप जटिल हुनुभन्दा पहिले नै सहकारीको सुशासन सम्वन्धी मुद्धाहरू सुल्झाउन अति आवश्यक रहेको र त्यस विषयमा केन्द्रीत गरी छलफल गर्न महासम्मेलन आयोजना गरिएको महासंघले उल्लेख गरेको छ।



Leave a comment