सहकारी संस्थाहरु समस्यामा : संघहरु गोष्ठीको तयारीमा ब्यस्त 

सहकारी संस्थाहरु समस्यामा : संघहरु गोष्ठीको तयारीमा ब्यस्त  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाहरु चरम तरलता अभावको समस्यामा छन् । बैंक तथा वित्तीय संस्था हुदै सहकारीमा देखिएको यो समस्याका कारण केहि संस्थाहरुले  सदस्यहरूको बचत समेत फिर्ता गर्न सकेका छैनन्।

बचत गरेको पैसा मागेको समयमा नपाउने अवस्था भएपछि सर्वसाधारणहरू सहकारीप्रति सशंकित तथा नकारात्मक हुन थालेका छन् । फलस्वरुप सर्वसाधारण एकातर्फ सहकारीमा बचत गर्न डराउछन् भने अर्कोतर्फ बचत झिकेर निजी बैंकमा राख्ने ध्याउन्नमा देखिन्छन् । अर्कोतर्फ संस्थाहरुलाई लगानीमा रहेको ऋण असुलीमा समेत समस्या भइरहेको छ ।

एकमाथी अर्को समस्या थपिदै गएपछि सहकारी संस्थाहरुमा समस्या गहिरिदै गएको छ । तर, संस्थाहरु समस्यामा परेका बेला सहयोग गर्नुपर्ने जिम्मेवारी बोकेका सहकारी महासंघ तथा संघको भूमिका प्रभावकारी बन्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

काठमाडौंका केहि संस्थाका संचालकहरु त महासंघ तथा संघका नेतृत्वले प्रभावकारी काम नगरेको, सरकारसँग लविङ गर्न नसकेको, वर्षौैदेखि उठाएका मागहरु सम्बोधन नगरेकोलगायतका आरोप लगाउदै ‘सहकारी बचाउँ अभियान’ का नाममा महासंघ तथा संघ विरुद्ध आन्दोलन समेत सुरु गरेका छन् । तर, संघ÷महासंघको नेतृत्व भने यतिबेला सामान्य अवस्थामा झै तारे होटेलमा गोष्ठीको तयारीमै व्यस्त छन् ।

चालू आर्थिक वर्षमा मात्रै दुई वटा ठूला राष्ट्रिय गोष्ठी हुदैछ । यस्तै आगामी आवको सुरुमै एउटा अन्तर्राष्ट्रिय गोष्ठी समेत नेपालमै हुदैछ । राष्ट्रिय सहकारी महासंघसहित, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकको शक्ति यसैमा केन्द्रीत हुन थालेको छ ।

नेफ्स्कून बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रीय छाता निकाय हो । यतिबेला सबैभन्दा बढी पिडामा बचत तथा ऋण सहकारीहरु नै छन् । आफ्ना प्रारम्भिक सदस्य संस्थाको समस्यामा काम गर्न नसकेको भन्दै आलोचित नेफ्स्कून फागुन २४ र २५ गते साकोस व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीको तयारीमा व्यस्त छ । काठमाडौंको सोल्टी होटलमा आयोजना गर्न लागिएको गोष्ठीमा देशभरका ४ सय जनाको सहभागिता गराउने लक्ष्य छ ।

यसैगरी सहकारी क्षेत्रको उपल्लो निकाय राष्ट्रिय सहकारी महासंघ पनि चालू आव मै राष्ट्रियस्तरको कार्यक्रम सम्पन्न गर्न लागिरहेको छ । चैत २३ देखि २५ गतेसम्म हुन लागेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनका नाममा लाखौं खर्च हुने देखिएको छ ।

यसैगरी आगामी आर्थिक वर्षको सुरुवातमै नेपालमा अन्तर्राष्टिय कार्यक्रम समेत हुँदैछ । एसियाली ऋण महासंघ (अक्कू) फोरम–२०२३ नेपालमा गर्नका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकसँग सम्झौता भइसकेको छ ।

नेपाल भ्रमणमा रहेका बेला अक्कुका चिफ अफ टेक्निकल अफिसर रञ्जित हितराची र प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के नेफ्स्कून र बैंकसँग फोरमको सहआयोजकका रुपमा छुट्टाछुट्टै सम्झौता गरेका छन् । अक्कुको आयोजना तथा नेफ्सकून तथा सहकारी बैंक सह आयोजक रहेर फोरम आयोजना गर्न लागिएको बताइएको छ ।

२०२३ को सेप्टेम्बर ११ देखि १७ सम्म (भदौ २५–३१ सम्म) काठमाडौंमा आयोजना हुने फोरममा २५ भन्दा बढी देशका ३०० जनाको सहभागिता रहनेछ । नेपालबाट पनि एक सय जनाको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

सहकारी महासंघ÷संघका कार्यक्रमहरु उनीहरुकै नीति विपरित देखिन्छ । कोभिड महामारीयता उनीहरुले नै प्रारम्भिक संस्थाहरुलाई खर्चमा मितव्ययी हुन, दिर्घकालिन क्षेत्रमा लगानी नगर्न, घरजग्गालगायतका भौतिक सम्पतिमा खर्च नगर्नलगायतका मार्गदर्शन दिदै आएका छन् ।

महासंघकी महाप्रवन्धक चित्रा कुमारी सुब्बा महासम्मेलनले अहिलेको समस्यालाई पनि सम्बोधन गर्ने बताउछिन् । ‘कानुनी र नीतिगत अन्यौलताले सहकारी क्षेत्रमा समस्या देखिएको छ’ सहकारी अखबारसँग उनले भनीन्, ‘महासम्मेलनमा छलफल गरेर त्यसलाई हल गर्न मद्दत पुग्छ ।’ यसअघिका महासम्मेलनले उठाएका विषयमा धेरै सम्बोधन भएको उनले दावी गरिन् ।



Leave a comment