सहकारी बैंक र नेफ्स्कूनमा निक्षेप बढ्यो, तरलतामा सुधार 

सहकारी बैंक र नेफ्स्कूनमा निक्षेप बढ्यो, तरलतामा सुधार  :: Sahakari Akhabar

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढ्न थालेपछि त्यसको प्रभाव सहकारी क्षेत्रमा पनि देखिन थालेको छ । चालू आर्थिक वर्षको माघ महिनामा सहकारी राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा निक्षेप बृद्धि भएको छ ।

प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार माघमा सहकारी बैंकमा निक्षेप ९७ करोड रुपैयाँले बढेको छ । पुस मसान्तसम्ममा कुल ६१ अर्व ६३ करोड रुपैयाँ निक्षेप रहेको बैंकमा माघ मसान्तमा ४२ अर्व ६० करोड रुपैयाँ पुगेको छ । पुसमा पनि बैंकको निक्षेप ९४ करोड बृद्धि भएको थियो ।

निक्षेप बढेपनि बैंकले ऋण लगानी भने घटाएको छ । पुस मसान्तसम्ममा कुल ३४ अर्व १६ करोड लगानी गरेको बैंकले माघ मसान्तमा ३३ अर्व १६ करोड रुपैयाँमा झारेको छ । यसैगरी माघमा नेफ्स्कूनले पनि ४५ करोड निक्षेप बृद्धि गरेको छ ।

पुस मसान्तसम्ममा संघमा १७ अर्व रुपैयाँ निक्षेप रहेकोमा माघ मसान्तमा १७ अर्व ४५ करोड गरेको छ । यस्तै पुसमा कुल १५ अर्व ४७ करोड लगानी गरेको नेफ्स्कूनले माघमा घटाएर १५ अर्व ४१ करोड रुपैयाँमा झारेको छ ।

निक्षेप बृद्धि भएपनि कर्जा प्रवाह घटाएपछि दुवै संस्थामा तरलताको अवस्थामा सुधार देखिएको छ । पुसमा २०.०२ प्रतिशत तरलता रहेको बैंकमा तरलता अनुपात माघमा बृद्धि भई २२.३८ प्रतिशत पुगेको छ । यस्तै नेफ्स्कूनमा पनि तरलता अनुपात २४.२२ प्रतिशतबाट २५.३६ प्रतिशत पुगेको छ ।



Leave a comment