कास्कूनमा सहकारी ऐनले तोकेभन्दा बढी स्प्रेडदर

कास्कूनमा सहकारी ऐनले तोकेभन्दा बढी स्प्रेडदर :: Sahakari Akhabar

काठमाडौं । सहकारीको ब्याजदरलाई ब्यवस्थित गर्न सरकारले सन्दर्भ ब्याजदर र स्प्रेडदरको प्रावधान लागू गरेपनि सहकारीका संघहरुले नै यसको उलंघन गरेका पाइएको छ । काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संगठन काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) ले सहकारी ऐनले तोकेभन्दा बढि स्प्रेडदर राखेर कारोबार गरेको पाइएको छ ।

सहकारी ऐन–२०७४ मा सहकारी संघसंस्थाले बचत र ऋणको ब्याजदरबिचको अन्तर (स्प्रेडदर) ६ प्रतिशत भन्दा बढि हुन नहुने प्रावधान छ । तर, कास्कूनले गत आर्थिक वर्षमा ६.१५ प्रतिशत स्प्रेडदर राखेर कारोबार गरेको संस्थाको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख छ । संघले नाफा बढाउनका लागि उच्च स्प्रेडदर राखेर कारोबार गरेको हो । 

गत आवमा मात्र संघले २ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा संघको नाफा ४७.३२ प्रतिशतले बृद्धि भएको छ । गत आवमा ब्याजबाट ८ करोड २० लाख आम्दानी गरेको संघले ५ करोड २३ लाख ब्याज खर्च गरेको छ। 

कास्कूनले मुख्य कार्यालयका अतिरिक्त तीन वटा सेवाकेन्द्र खोलेर सहकारी संस्थाबीच बचत तथा ऋणको काम गर्दै आएको छ । आर्थिक वर्ष २०७८÷०७९ सम्ममा संघले ७ करोड ८३ लाख रुपैयाँ सेयर, ९० करोड ७० लाख बचत र ६५ करोड ९१ लाख रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । 

यसैगरी संघले सम्पति शुद्धिकरण  निवारण ऐन, नियमावली र सहकारी विभागको निर्देृशन अनुसार सदस्यहरुको कारोबार जोखिम वर्गीकरण समेत नगरेको लेखापरिक्षकको प्रतिवेदनमा उल्लेख छ । 
 



Leave a comment