काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा लघुवित्त सहकारीको अवधारण अनुसार काम नहुँदा विकृती बढेको बताएकी छिन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लघुवित्त र सहकारीले सिद्धान्त अनुसार काम नगरेकाले नै समस्या बढेको भन्दै यसलाई सुधार गर्नका लागि प्रभावकारी नियमन गर्नुपर्ने आवश्यक्ता औल्याइन् ।
‘नेपाल राष्ट्र बैंकले लघुवित्त र सहकारीहरूलाई कडा रुपमा नियमन गरी सिद्धान्त विपरित काम गर्नेलाई कारवाही गर्नुपर्छ’ गौतमले भनिन्, ‘यदि त्यो क्षमता राष्ट्र बैंकसँग छैन भने दोस्रो तहको नियमनकारी निकाय गठन गरौं, तर कोही कर्जाको साँवा ब्याज तिर्न नसकेर आत्महत्या गर्ने वातावरण अन्त्य हुनुपर्छ ।’
सांसद गौतमले बेरोजगारी, देशको खस्कदो अर्थतन्त्र र महंगीका कारण कर्जा लिनेको संख्या बढेको र त्यसको फाइदा लघुवित्त, सहकारीले उठाउने गरेको आरोप लगाइन् । यी संस्थाहरुले गरिव तथा निम्न वर्गलाई सहूलियत कर्जा उपलब्ध गराउनुपर्ने भएपनि त्यसअनुसार काम हुन नसकेको उनको भनाइ थियो ।
गौतमले लघुवित्त तथा सहकारीले अत्याधिक नाफा कमाउने उद्देश्य राखेकोले निम्न वर्गका मानिसहरु ऋणको भारमा परेको बताइन् । ‘सुलभ कर्जा प्रवाह गरी निम्न वर्गका नागरिकलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ लघुवित्त र सहकारीको अवधारणा ल्याइएको थियो। जुन केही हदसम्म सफल भएको थियो। तर अत्यधिक मुनाफा आर्जन राख्ने कतिपय लघुवित्त र सहकारी संस्थामार्फत् निम्न वर्गीय मानिसलाई ऋण बोकाएर रासातलमै पुर्याउने काम भएको छ,’ उनले भनिन्।
Leave a comment