बागमती प्रोस्कूनको ‘वी क्यान’ कार्यक्रममा श्रोतपुस्तिकाको लोकार्पण र विधुतिय पुस्तकालय सेवा सुरु

बागमती प्रोस्कूनको ‘वी क्यान’ कार्यक्रममा श्रोतपुस्तिकाको लोकार्पण र विधुतिय पुस्तकालय सेवा सुरु :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रोस्कूनले विकास गरेको कोशिश कार्यक्रममा आवद्ध साकोसहरुको सार्थक एवं प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशाला  सम्पन्न गरेको छ ।

बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता, बागमती प्रदेश सचिव बलराम निरौलाको प्रमुख आतिथ्यता र बागमती प्रदेश सहकारी रजिष्ट्रार नारयणप्रसाद ज्ञावालीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथी निरौलाले आगामी दिनमा बागमती प्रदेश भित्रका अधिकांस सहकारीहरुलाई कोशिश कार्यक्रममा आवद्ध गराई बचत तथा ऋण सहकारी अभियान सुधार गर्न अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिए ।

उनले कोशिस कार्यक्रम बागमती प्रदेश सरकारको पनि कार्यक्रम भएकोले भविष्यमा सहकारी अभियान र नियामक निकायले झनै निकट भई अभियान सुधारमा लाग्न कार्यक्रमले थप विश्वासको वातावरण निर्माण गर्न सुझाव दिए ।

प्रदेश सहकारी रजिष्ट्रार नारयणप्रसाद ज्ञावालीले कोशिस कार्यक्रमको विकास देखि हालसम्म बागमती प्रदेश बचत तथा ऋण सहकारी संघलाई नियामक निकायको तर्फबाट पर्याप्त सहयोग गरेको बताए । बागमती प्रोस्कूनले स्तरीकरण कार्यक्रम सफलता पूर्वक सञ्चालन गर्न सक्दछ भन्ने विश्वासले स्वीकृत गरिएको उनको भनाइ छ ।

कार्यक्रममा संघले बागमती प्रदेश सरकारबाट कोशिस कार्यक्रमको स्वीकृती लिइ सकेपछि हालसम्म कार्यक्रमको स्तरवृद्धिका लागि खेलेको भूमिका र तयारीका सम्बन्धमा संघका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा जिल्ला सहकारी संघ काभे्रका अध्यक्ष दिलीप शर्मा, नेफ्स्कून साकोस मेनेजर क्लबका अध्यक्ष केबी लामा, काभे्रपलाञ्चोक सिएमसी क्लबका अध्यक्ष मदन बस्नेतलगायतको आतिथ्यता थियो ।

विधुतिय पुस्तकालय सेवा सुरु

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले विधुतिय पुस्तकालय सेवा सुरु गरेको छ । माघ २९ गतेबाट सुरु गरेको विद्युतिय पुस्तकालयको बागमती प्रदेश सरकारका सचिव बलराम निरौलाले एक कार्यक्रमबिच औपचारिक शुभारम्भ गरेका थिए ।

संघले आफ्ना सदस्य संघसंस्थाहरुको क्षमता विकासका लागि आवश्यक पर्ने श्रोत सामाग्रीहरु सहज रुपमा प्राप्त गराउने उद्देश्यले विद्युतिय पुस्तकालयको शुरुवात गरेको संघका अध्यक्ष उद्धव सापकोटाले बताए ।

विद्युतिय पुस्तकालय मार्फत प्रचलित ऐन, नियमावली, नियामक निकायका निर्देशनहरु, सहकारी संस्थाका लागि नमूना नीतिहरु, सहकारी सम्बन्धी लेख रचना तथा पाठ्यपुस्तकहरु र सहकारीका लागि उपयोगी प्रतिवेदनको नमूना फारामहरु प्राप्त गर्न सकिने उनले बताए ।

संघले विकास गरेको विद्युतिय पुस्तकालयबाट विभिन्न सहकारी सम्बन्धी प्रकाशन भएका पाठ्यपुस्तकहरु न्यूनतम शुल्क भुक्तानी गरी अध्ययन गर्न सकिने व्यवस्था गर्न संघले आधारभूत तयारी गरेको छ।

संघको विद्युतिय पुस्तकालय (e-library) elibrary.bagmatiproscun.org.np बाट भ्रमण गर्न सकिने संघका प्रमुख कार्यकारी अधिकृत केशव दाहालले जानकारी दिए ।

तीन वटा श्रोतपुस्तिकाको लोकार्पण

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले तीनवटा श्रोत पुस्तिकाको लोकार्पण गरेको छ । संघले विकास गरेको कोशिस कार्यक्रमको प्रभावकारीताको लागि विकास गरेको परीक्षक मार्गदर्शन, संगठनात्मक विकास तालिमको श्रोतपुस्तिका र प्रमाणित आन्तरिक लेखा परीक्षक तालिम श्रोत पुस्तिकाको लोकार्पण गरेको हो ।

बागमती प्रदेश सरकारका सचिव बलराम निरौलाले संघले आयोजना गरेको विधुतिय पुस्तकालयको समुद्घाटन समारोहमा उक्त पुस्तिकाहरुको लोकार्पण गरेका हुन् ।

संघका अध्यक्ष उद्धव सापकोटाले उक्त कार्यक्रममा लोकार्पण भएका तालिम पुस्तिका आगामी दिनमा सहकारी विभागबाट पाठ्यक्रम स्वीकृती गराउने योजना रहेको बताए ।



Leave a comment