चीना थापा, विराटनगर । माघ १९ गतेदेखि चलेको कोशि एक्सो विराटनगरमा एउटा सहकारीको स्टल पनि छ । जहाँ बेच्नको लागि केही सामान राखिएको छैन् । सहकारीको वोर्ड, कृषिका सामाग्री र आवश्यक बस्तुहरु स्टलमा राखिएको छ । प्लाष्टिकमा रोपिएका विभिन्न थरिका तरकारीका विरुवा राखिएका छन् ।
घुम्दै सहकारीका स्टलमा पुग्ने मानिसहरु यहाँ चाहि के पाईन्छ ? भनेर प्रश्न गरिहाल्छन् । प्रश्नकर्ताको प्रश्न सकिन नपाउँदै उत्तर आउँछ ‘बेच्ने चिज केही छैन्, आवश्यक परे पछि जुटाईदिन्छु तर, अहिले मैले बेच्ने भनेको सिप हो, सिप बेचीरहेको छु’ ।
सचेतना कृषि सहकारी संस्था विराटनगरका अध्यक्ष लोकेन्द्र थापाले सहकारीको स्टल राखेर कौशी तरकारी खेतिसँगै आधुनिक तरकारी खेतिको बारेमा जानकारी दिईरहेका छन् । जग्गा छ भने जग्गामा गरौं हैन् भने कौशीमा तथा जहाँ जसरी हुन्छ आफ्नो लागि आफै उब्जाउ भन्ने उदेश्यले थापाले तरकारी खेतिको बारेमा जानकारी दिईररहेका छन् ।
उनको स्टलमा हजारौंले अवलोकन गरेका छन् । एक्पोमा आएका मन्त्री देखि सर्वसाधारणसम्मलाई नै प्रोफेस्नल रुपमा पनि कृषि खेति गर्न सकिन्छ भनेर बुझाईरहेका छन् । अरु पेसा जस्तै सम्मानजनक रुपमा कृषिको व्यवसायीकरण गर्न सकिने कुरा उनले सम्वन्धित निकायहरुलाई सुनाईरहेका छन् । सहकारीको स्टलमा पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे, प्रदेशका मन्त्रीहरु लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुले समेत अवलोकन गरेका छन् ।
थापा कृषक भन्ने वित्तीकै झुत्रेझाम्रे नै हुनपर्छ भन्ने छैन, उनीहरुको लाईफ स्टाईल पनि कुनै अफिसर वा मन्त्रीको भन्दा कम नहोस् भन्ने उद्देश्य सहित कृषिको व्यवसायीकरणको योजना बोकेर अघि बढेका छन्, जसको माध्यम बनेको छ सहकारी । युवालाई कृषिमा आकर्षित गर्ने, कृषिलाई प्रविधियुक्त बनाउने योजना सहित थापाको नेतृत्वमा २०७७ चैतमा सचेतना कृषि सहकारी संस्था दर्ता भएको हो ।
कौशी खेति गर्न चाहनेहरुलाई थापाले निशुल्क तालिम पनि दिने गरेका छन् । थोपा सिचाईको बारेमा पनि सिक्न चाहनेहरुलाई निशुल्क सिकाईरहेका छन् । व्यक्तिगत रुपमा गरेको कामलाई ब्यापक बनाउनका लागि सहकारीको योजना अगाडी आएको हो ।
‘भारतबाट तरकारी आउँछ, विषादी धेरै हुन्छ तर हामी त्यही खाईरहेका छौ’, उनले भने, ‘हाम्रो स्वास्थ्यमा पारेको असरको बारेमा ख्याल गर्दैनौ । मेरो चाहना हो कसैको भान्सामा विषादी नभित्रीयोस् । त्यसको लागि सहकारी मार्फत काम गर्ने लागेको हुँ ।’ सहकारीमा १५० जना शेयर सदस्य पुगिसकेको बताउँदै उनले विस्तारै सहकारीको उदेश्य पुरा हुने विश्वास व्यक्त गरे ।
थापा कृषिलाई युवा आकर्षित हुने पेशाको रुपमा स्थापित गर्ने प्रयासमा छन् । ‘कृषि पेशा गर्ने सबै झुत्रेझार्मे हुनुपर्छ भन्ने छैन’, उनले भने, ‘उसको लाईफ स्टाईल देख्दा अरुलाई नै कृषि पेशा गर्ने हुटहुटी जागोस् ।’ युवालाई कृषिमा आकर्षित गर्न नयाँ नयाँ प्रविधिको आवश्यक पर्छ ।
‘म त्यही नयाँ नयाँ प्रविधि मार्फत खेति गर्न सिकाईरहेको छु’, उनले भने, ‘विउविजन किन्दा ध्यान दिनुपर्ने कुराहरु, खेत पुरै नखनी तरकारी खेति गर्न सक्ने प्रविधि, बारी नहुनेले कौशीमा गर्न सक्ने प्रविधियुक्त खेति, थोपा सिचाई यस्ता प्रविधिको बारेमा सिकाउने मेरो चाहना हो ।’ धेरैलाई आफ्नो अभियानको बारेमा थाहा नभएकाले जानकारी गराउनुका साथै यो अभियानमा सबैको साथ होस् भन्ने उदेश्यले एक्पोमा स्टल राखिएको उनले जानकारी दिए ।
विराटनगर महानगरपालिकाको सहकारी शाखासँग समन्वय गरेर उनले निशुल्क स्टल पाएका छन् । आफ्नो अभियानका बारेमा जानकारी गराएपछि मन्त्रीहरु पनि कन्भिस भएको उनले बताए । सरकारले पनि यस विषयमा ध्यान दिन सको भने भारतबाट आउने बिषाधी हालेको तरकारी नेपालीको भान्सामा नदेखिने उनले बताए ।
Leave a comment