तथ्याङ्कको आधारमा सहकारीको योगदानको चर्चा गर्नुहोस् : मन्त्री राई

तथ्याङ्कको आधारमा सहकारीको योगदानको चर्चा गर्नुहोस् : मन्त्री राई :: Sahakari Akhabar

काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईले सहकारीको योगदान तथ्याङ्कमा दिन आग्रह गरेका छन्। उनले सहकारीको योगदान भाषणमा मात्र नभएर यकिन अंकमा दिन सहकारीकर्मीलाई आग्रह गरेका हुन् ।

जिल्ला सहकारी संघ काभ्रेले आयोजना  गरेको अध्यक्ष र ब्यवस्थापन प्रमुखहरुको जिल्लास्तरीय गोष्ठीको उद्धघाटन कार्यक्रममा मन्त्री राइले सहकारीले सदस्यको कुन पक्षमा कस्तो परिवर्तन गरेको छ, त्यो तथ्याङ्क दिन सक्नुपर्ने बताए ।

उनले भने, ‘जनताले सहकारीको सदस्य भएपछि हिजोको अवस्थाबाट आज आउँदा के परिवर्तन भयो ? उसको आर्थिक अवस्थामा कस्तो परिवर्तन आयो यसको यकिन तथ्याङ्क दिन सक्यो भने सहकारीको योगदानको कदर हुन्छ, हामी धेरै भाषण काम कम गर्ने भयौं।’ मन्त्री राईले सहकारी मुलुकको आर्थिक विकासको महत्वपूर्ण पाटो भएकोले कति गरिवी घटायो र सदस्यको आयस्तरमा कति वृद्धि गर्यो भन्ने विषयले नै सहकारीको महत्व राख्ने बताए ।

सामूहिक लगानी,  सामूहिक उत्पादन र सामूहिक  वितरणको मोडेल सहकारी भएको भन्दै मन्त्री राईले ग्रामिण अर्थतन्त्रको जग सहकारीले बसालेको उल्लेख गरे ।  समाजवादमा जाने माध्यम नै सहकारी भएकाके बताउदै उनले मूल्य, मान्यता र सिद्धान्त अनुरुप सहकारीलाई अगाडी बढाउन आग्रह गरे ।

संघका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेतले सन्दर्भ व्याजदरलाई स्वचालीत बनाउन, कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधिकरण तत्काल कार्यान्वनमा ल्याउनुपर्ने बताए ।

सहकारी संस्थाहरुले प्रवर्धन कोषमा जम्मा गरेको रकम मन्त्रालयले फिर्ता गरिदिए संघहरु सञ्चालनमा सहयोग पुग्ने बताए । सहकारी संस्थाहरु पारदर्शी ढंगले सञ्चालन गर्नु पर्नेमा उनको जोड थियो ।

सहकारीमा सदस्यले गरेको बचत की तमसुक कि त बैंकमा हुनुपर्यो उनले भने, ‘त्यो छैन भने किन सहकारी चलाएको ? वितीय टुल्स भित्र सहकारी संस्था रहेर कारोवार गर्नुपर्छ ।’ गोष्ठीमा संघका अध्यक्ष शर्माले जिल्ला संघको वारेमा प्रस्तुति गरेका थिए ।

उनले सहकारी संघ संस्थामा वर्तमान अवस्थामा देखिएको तरलता व्यवस्थापनको समस्या, ऋण असुलीको समस्या र सहकारी संघ संस्थाहरुको छविलाई कायम राख्न नेतृत्व र व्यवस्थापन एकजुट हुनुपर्ने महशुस गरी गोष्ठीको आयोजना गरिएको बताए ।

अध्यक्षले निर्णय गर्ने र व्यवस्थापकले कार्यान्वयन गर्ने हुदाँ सहकारी संस्थाहरुमा सुधार आउने अपेक्षाका साथ अध्यक्ष र व्यवस्थापक  सहितको गोष्ठी आयोजना गरिएको उनले बताए ।

गोष्ठीमा सहकारी विज्ञ डा शिवजी सापकोटाले सहकारीको अवस्था र आगामी कार्यदिशा, सहकारी बैंकका कार्यक्रम अधिकृत बल्लभ तिमल्सिनाले सहकारीमा संकट व्यवस्थापन र बागमती प्रदेश उधोग, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव बलराम निरौलाले सहकारी ऐन नियमका बारेमा प्रस्तुतिकरण गरेका थिए । गोष्ठीमा जिल्लाका ११० जना सहकारीकर्मीको सहभागिता रहेको थियो ।



Leave a comment