काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र नेकोस प्लस सफ्टवेयर निर्माता कम्पनी जिनोव इंक बीचको विवाद सहतमा आएको छ । नेफ्स्कूनले जिनोवसँग गरेको सम्झौता नसकिदै अर्को कम्पनीसँग सम्झौता गरी नयाँ सफ्टवेयर निर्माण प्रक्रिया अघि बढाएपछि विवाद अदालतसम्म पुगेको छ ।
जिनोव इंकका प्रमुख कार्यकारी अधिकृत राजीव कर्णका अनुसार नेफ्स्कूनसँग सफ्टवेयर निर्माण तथा बिक्रीबारेको सम्झौता अवधि अझै तीन वर्ष बाँकी छ । आफुहरूसँग भएको सम्झौता कायमै रहेका बेला ब्यापारीक स्वार्थ बाझिने गरी नेफ्स्कूनले नयाँ सफ्टवेयर निर्माण गरेपछि व्यवसायमा असर पर्ने भएपछि बाध्य भएर मुद्दा दायर गरेको उनको दावी छ।
‘नेफ्स्कूनसँगको सम्झौता अनुसार हामीले नेकोस प्लस सफ्टवेयर अद्यावधि गरिरहेकै छौं’ प्रमुख कार्यकारी अधिकृत कर्णले भने, ‘तर, उहाँहरुले एकतर्फि रुपमा नयाँ सफ्टवेयर बनाएर सफ्ट लञ्च गरेपछि बाध्य भएर मुद्दा दायर गरेका हौं ।’ नेफ्स्कूनसँगको सम्झौता र सहकारीहरूको आवश्यक्ता अनुसार सफ्टवेयरमा सबै सुविधा अपडेट रहेको उनले बताए ।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल भने जिनोव इंकसँगको सम्झौता विपरित काम नगरेको दावी गर्छन् । ‘हामीले अहिले पनि नेकोस प्लस सफ्टवेयर नै बिक्री गरिरहेका छौं’ उनले भने, ‘उहाँहरुले सम्झौता अनुसार सफ्टवेयर अपडेट नगरेपछि बाध्य भएर नयाँ कम्पनीमार्फत सफ्टवेयर बनाउने सम्झौता गरेका हौं ।’ नयाँ सफ्टवेयर निर्माणका लागि सबै प्रक्रिया पुरा गरिएको समेत उनले दावी गरे ।
गत वर्ष भने नेफ्स्कूनले आफु सेयर होल्डर रही स्थापना गरेको मिरा इआरपी नियोसिस टेक्नोलोजी प्रालीसँग सम्झौता गरी सहकारी सफ्टवेयर मिरा इआरपीको निर्माण गरी कात्तिक २६ गते सफ्ट लञ्च गरिसकेको छ । २६ वटा साकोसहरुको तथ्यांक मिरा इआरपीमा माइग्रेट गरी सञ्चालनको सुरुवात गरिएको नेफ्स्कूनले सार्वजनिक घोषणा गरेको थियो । उक्त कार्यक्रमपछि जिनोवले नेफ्स्कूनलाई पत्र पठाएर सम्झौता विपरित काम नगर्न सचेत गराएपनि अटेर गरेको कर्णले बताए ।
सम्झौता अनुसार काम नभएको भन्दै जिनोव इंकले नेफ्स्कून विरुद्ध अघिल्लो बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उक्त मुद्दामा गत शुक्रबार अन्तरिमकालिन आदेश गर्दै अदालतले तत्कालका लागि मिरा सफ्टवेयर बजारीकरण, प्रचारप्रसार तथा बिक्री नगर्न नेफ्स्कूनलाई आदेश दिएको छ ।
यसैगरी यस विषयमा छलफल गर्नका लागि फागुन २ गते दुवै पक्षलाई बोलाएको छ । तर, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले कुनै जानकारी नभएको बताए । ‘मुद्दाबारे हामीले पनि समाचार पढेर थाहा पाएका हौं’ उनले भने, ‘मुद्दाबारे हामीलाई औपचारिक जानकारी छैन ।’ हाल नेकोस प्लस सफ्टवेयर ५ सय सहकारी संस्थाहरुले प्रयोग गर्दै आएका छन् ।
बचत तथा ऋण सहकारीहरुलाई बिक्री गर्ने योजना सहित नेफ्स्कून र रारा डिजिटल ल्याब्सको संयुक्त लगानीमा मिरा सफ्टवेयर निर्माण गरिएको हो । सफ्टवेयर निर्माण तथा बिक्रीका लागि नेफ्स्कूनको समेत सेयर रहेन गरी निजी कम्पनी दर्ता गरेको छ । मिरा इआरपी नियोसिस टेक्नोलोजी प्रालिमा नेफ्स्कूनर रारा डिजिटल ल्याब्स प्रालिको संयुक्त लगानी छ ।
मिरा इआरपी निर्माणका लागि २० करोड लगानी गर्ने सम्झौता भएको छ । जसमा नेफ्स्कूनको ६० प्रतिशत अर्थात १२ करोड रुपैयाँ र रारा डिजिटलको ८ करोड लगानी रहेनछ । स्रोतका अनुसार सफ्टवेयरको निर्माणबारे नेफ्स्कूनको संचालक समितिको बैठकमा समेत विवाद भएको छ । संचालक समितिमा विवाद भएपछि अध्यक्ष परितोष पौड्यालले सफ्टवेयर निर्माण समितिको संयोजकबाट कोषाध्यक्ष दिपक पनेरुलाई हटाएर उपाध्यक्ष शान्ति अधिकारीलाई जिम्मेवारी दिएका छन् ।
Leave a comment