काठमाडौं । काठमाडौ जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) मा पुनः दिपक पनेरुको अध्यक्षतामा आगामी ४ वर्षका लागि संचालक समिति चयन भएको छ । पुस ३० गतेका लागि निर्वाचनसहित साधारणसभाको कार्यक्रम प्रकाशित गरेको संघको अध्यक्षका लागि पनेरु र उपाध्यक्ष नवराज अर्यालले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गरे ।
पनेरुले एमाले समर्थीत सहकारीकर्मीको प्यानल बनाए भने अर्यालले आफ्नो प्यानलमा नेकपा समाजवादी सहित कांगेस, माओवादी र राप्रपा समर्थीतलाई समेत भाग दिए । जसले गर्दा पनेरुको प्यानल नै हार्ने अवस्था आयो र एमालेकै डिजाइनमा अन्तिम समयमा आएर कार्यक्रम नै तीन साता पर सारियो ।
त्यसपछि पुरानो निर्वाचन प्रक्रिया अन्त्य गरी नयाँ सुरु गर्ने योजना सहित एमाले सहकारी विभाग सचिव तथा सहकारी बैंकका अध्यक्ष केबी उप्रेती सक्रिय भए । उनले नै अध्यक्षमा उम्मेदवारी दिएकामध्ये पनेरुलाई अध्यक्ष र नवराज अर्याल बरिष्ठ उपाध्यक्षमा सहमित गराउदै संचालक समितिमा पार्टीगत भागवण्डा मिलाए ।
सहमतिमा एमालेलाई अध्यक्ष, महिला उपाध्यक्ष र तीन जना संचालक गरी ५ जना, कांग्रेसलाई महासचिव, कोषाध्यक्ष, लेखा समिति संयोजक र दुई जना संचालक गरी ५ जना, माओवादीलाई तीन संचालक र एक जना लेखा सदस्य गरी ४ जना, एकीकृत समाजवादीलाई बरिष्ठ उपाध्यक्ष र २ संचालक गरी तीन जना र राप्रपालाई एक जना संचालक दिने गरी भागवण्डा भयो ।
त्यसपछि निर्वाचन प्रक्रिया नै अन्त्य गर्न जवरजस्ती सबै उम्मेदवारको मनोनय फिर्ता गर्न लगाइयो । तर, नयाँ निर्वाचनको नयाँ प्रक्रियाबारे सबै सदस्यहरुलाई जानकारी नै नदिइ गुपचुपमा सर्वसम्मत नेतृत्व चयन गरिएको सूचना जारी गरियो ।
सबैको उम्मेदवारी फिर्ता भएपछि कानूनी प्रक्रिया पुरा गर्नकै लागि निर्वाचन उपसमितिले दोस्रो पटक पनि उम्मेदवार मनोनयन, दावी विरोध, अन्तिम नामावली प्रकाशन र मतदानको कार्यक्रम बनाएपनि त्यो सवैको पहुँचमा पुग्नेगरी सार्वजनिक गरिएन । संस्थाको आधिकारीक वेवसाईट तथा सामाजिक संजालमा समेत सूचना नराखी छिटो–छिटो सबै प्रक्रिया सकेर सर्वसम्मत संचालक समिित चयन भएको सूचना जारी गरिएको छ ।
दोस्रो प्रक्रियामा पनि भागवण्डा अनुसार नभएको भन्दै अन्तिम समयमा निर्वाचन उपसमितिमा तालावन्दी गर्ने भन्दै केहि सहकारीकर्मीले विरोध गरेका थिए । त्यसपछि अध्यक्ष पनेरुले नै भागवण्डा भन्दा बाहिरबाट उम्मेदवारी दिएका रामेश्वर श्रेष्ठ र पुन्यप्रसाद सापकोटालाई अगाडीको समय राखेर फिर्ता गर्न लगाए । त्यसपछि शुक्रबार अबेर निर्वाचन समिति सर्वसम्मत निर्वाचित भएको सूची सार्वजनिक गरेको थियो ।
सामान्यतया संचालक समितिले जिम्मेवारी दिएपनि निर्वाचन गराउने काम निर्वाचन उपसमितिको भएपनि नेताहरुको गैरकानुनी गतिविधिलाई निर्वाचन उपसमितिका संयोजक तथा कानुन व्यवसायी शिव अधिकारीले साथ दिएका छन् । जसले गर्दा कास्कूनमा पनेरुको दोस्रो कार्यकालको सुरुवात पनि सहज हुन सकेन । कार्यकालको सुरुवातमै उनी नैतिक तथा कानुनी प्रश्नको घेराबन्दीमा छन् ।
जवरजस्त प्रक्रिया अन्त्य गरी सर्वसम्मतबाट चयन भएको घोषण गरिएको संचालक समितिको बरिष्ठ उपाध्यक्षमा नवराज अर्याल, महिला उपाध्यक्षमा विनिता अधिकारी, महासचिवमा निरञ्जन सेढाइँ, सचिवमा वीरेन्द्र भण्डारी र कोषाध्यक्षा चेमा कुमारी पुरी (सीमा) ले जिम्मेवारी पाएका छन् ।
त्यसैगरी ९ जना सदस्यमा गोवर्धन केसी, पुरूषोत्तम नेपाल, पुष्कर सापकोटा, कृष्णप्रसाद आचार्य, खेलनाथ सिग्देल, श्रीराम केसी, रिता श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र अनन्त कुमार केसीले अवसर पाए । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा अनिता थापा अधिकारी र सदस्यद्वयमा श्यामकृष्ण श्रेष्ठ र दामोदर पौडेल निर्वीरोध चयन भएको निर्वाचन उपसमितिले प्रकाशित गरेको नामावलीमा उल्लेख छ ।
शनिबार निर्वाचन उपसमितिले निर्वाचित भएको पमाणपत्र दिदा फुलको मालासँगै रुद्राक्षको माला समेत लगाइदियो । रुद्राक्षको माला लगाउदैमा कास्कूनको नेतृत्वमाथी उठेका नैतिक तथा कानुनी प्रश्नहरुबाट अध्यक्ष पनेरु चोखिने अवस्था छैन । उनले आफ्नो कामबाटै दोस्रो कार्यकालको दावीलाई पुष्टि गर्नुपर्नेछ भने साधारणसभा, नेतृत्व चयन, दलिय राजनीति, निर्वाचन उपसमितिको काममा हस्तक्षेपलगायतका प्रश्नहरुमा पनि चित्तबुझ्दो उत्तर दिनुपर्नेछ ।
हुन त कास्कूनमा पनेरुको नेतृत्वको सुरुवात नै सुखद् बन्न सकेन । अध्यक्षका रुपमा उनको पहिलो कार्यकालको सुरु नै मुद्दामामिला तथा उजुरीको प्रतिवाद भयो । यसअघि पनि संचालक समिति चयनमा किर्ते गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा र सहकारी विभागमा उजुरी परेको थियो ।
निर्वाचन समिति, अध्यक्ष र कोषाध्यक्ष पदका दावेदारको मिलोमतोमा किर्ते हस्ताक्षर गरी आफुले दिएको उम्मेदवारी फिर्ता लिएको भन्दै कोषाध्यक्षकी उम्मेदवार लक्ष्मी काफ्लेले उजुरी तथा मुद्दा दिएकी थिइन् । जसलाई अध्यक्ष पनेरुले राजनीतिक पार्टी र सहकारी नेताहरुको आडमा सामसुम बनाए ।
यसपछि पनेरुमाथी कानुन विपरित दोहोरो पद लिएको भन्दै आलोचना सुरु भयो । सहकारी ऐन २०७४ मा एउटै व्यक्ति एकैपटक दुई वटा सहकारी संघसंस्थाको संचालकमा बस्न नपाउने व्यवस्था छ । यस्तै वागमती प्रदेशको सहकारी ऐनमा त कुनै व्यक्ति तल्लो माथिल्लो संघमा चुनिने वित्तीकै तल्लो संघबाट राजिनामा दिनुपर्ने व्यवस्था छ ।
तर, यसलाई पनेरु आफु निर्वाचित हुनेवित्तीकै वागमती प्रदेश सहकारी ऐनको प्रावधान विरुद्ध संघमार्फत रिट दायर गरे । तर अहिले उनी आफैले उक्त रिटमा तारेख धाउन छोडीसकेका छन् । उनी भने आफु अनुकुल हुनेगरी ब्याख्या गरेर दोस्रो पटक अध्यक्षमा चुनिएका छन् ।
कास्कून र नेफ्स्कूनको व्यवसायीक गतिविधिमा स्वार्थ जोडिने गर्छ । दुबै संघले प्रारम्भिक संस्थाहरुसँग अन्तरलगानीको काम गर्छन् । पनेरु नेफ्स्कूनको कोषाध्यक्ष तथा अन्तरलगानी समितिका संयोजक समेत छन् । दुई संघबीच व्यवसायीक स्वार्थ बाझिने भएकाले पनेरुको नेतृत्वमार्थी नैतिक प्रश्न पनि उठ्दै आएको छ।
उनले कास्कूनमा खराब ऋणी रहेकी नेफ्स्कूनकी एक संचालकलाई जोगाउदै आएको आरोप छ । ती संचालकको संस्थाले कास्कूनको ऋण नतिर्दा पनि संस्थाले असुली प्रक्रिया सुरु गरेको छैन । जबकी सार्वजनिक सूचना जारी गरी असुली प्रक्रिया सुरु गर्न संचालक समितिले निर्णय गरेको छ ।
Leave a comment