कास्कूनमा वेथिती : सर्वसम्मत गर्न गुपचुप निर्वाचन 

कास्कूनमा वेथिती : सर्वसम्मत गर्न गुपचुप निर्वाचन  :: Sahakari Akhabar

काठमाडौ । काठमाडौै जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) मा गुपचुपमै संचालक समिति गठन गर्न सहकारीका नेता सक्रिय भएका छन् । चलिरहेको निर्वाचन प्रक्रियालाई अन्त्य गर्नका लागि जवरजस्ती सबै उम्मेदवारलाई मनोनय फिर्ता गर्न लगाएका नेताहरुले निर्वाचनको नयाँ प्रक्रियाबारे सदस्यहरुलाई जानकारी नै नदिइ गुपचुपमा सम्पन्न गर्न लागेका हुन् ।

कानूनी प्रक्रिया पुरा गर्नका लागि निर्वाचन समितिले उम्मेदवार मनोनयन, दावी विरोध, अन्तिम नामावली प्रकाशन र मतदानको कार्यक्रम प्रकाशित गरेपनि त्यो सार्वजनिक गरिएको छैन । संस्थाको आधिकारीक वेवसाईट तथा सामाजिक संजालमा समेत सूचना नराखी छिटो छिटो निर्वाचन प्रक्रिया सम्पन्न भएको देखाउन नेतृत्व सक्रिय भएको छ।

नेताहरुको योजनालाई कास्कूनको निर्वाचन उपसमितिले समेत साथ दिएको छ । सामान्यतया संचालक समितिले जिम्मेवारी दिएपछि निर्वाचन उपसमितिको अधिकार भएपनि आफु निकट प्यानल नै हार्ने भएपछि एमालेको निकट अध्यक्ष दिपक पनेरुको योजनामा निर्वाचन कार्यक्रम अन्तिम समयमा सारिएको थियो।

सुरुमा निर्वाचन उपसमितिले प्रकाशित गरेको कार्यतालिका अनुसार नै उम्मेदवारी दर्ता भएपनि मतदानका लागि तोकिएको दुई दिनअघि निर्वाचन कार्यक्रम सारिएको थियो । त्यसपछि सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सर्वदलिय सहमतिमा सर्वसम्मत नेतृत्व चयनका लागि सहमति गराउन भूमिका खेलेका थिए ।

अध्यक्षमा उम्मेदवारी दिएकामध्ये दिपक पनेरु अध्यक्ष र नवराज अर्याल बरिष्ठ उपाध्यक्ष रहने गरी सहमित भएको थियो । यस्तै सहमतिमा एमालेलाई अध्यक्ष, महिला उपाध्यक्ष र तीन जना संचालक गरी ५ जना, कांग्रेसलाई महासचिव, कोषाध्यक्ष, लेखा समिति संयोजक र दुई जना संचालक गरी ५ जना, माओवादीलाई तीन संचालक र एक जना लेखा सदस्य गरी ४ जना, एकीकृत समाजवादीलाई बरिष्ठ उपाध्यक्ष र २ संचालक गरी तीन जना र राप्रपालाई एक जना संचालक दिने गरी भागवण्डा भएको छ ।

नयाँ प्रक्रियामा तोकिएको कोटाभन्दा बढि उम्मेदवारी दर्ता नहोस् भन्नका लागि निर्वाचन कार्यक्रम गुपचुप राखिएको बताइएको छ । नेताहरुको गैरकानुनी गतिविधिलाई निर्वाचन उपसमितिका संयोजक शिव अधिकारीले साथ दिदै आएका छन् । उपसमितिका सदस्यहरु सहकारी संघकै कर्मचारीहरु रहेकाले उनीहरुसँग नेतृत्व विपरित जाने क्षमता देखिदैन।

पछिल्लो निर्वाचन तालिका प्रकाशन भएसंगै संघको संचालक सदस्यकोलागि ९ जना आवश्यक रहेपनि ११ जनाले उम्मेदवारी मनोनयन गरेका छन् । दलमा पर्न नसकेका रामेश्वर श्रेष्ठ र पुन्यप्रसाद सापकोटाले संचालकमा उम्मेदवारी दिएको स्रोतले जनाएको छ।

आज माघ २० गते साढे १ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखेको थियो । मतदान कार्यक्रम भोली माघ २१ गते बिहानको १० बजेदेखि दिउँसो ३ बजेसम्म सहकारी प्रशिक्षण केन्द्र नयाँबानेश्वरमा हुने सूचनामा उल्लेख छ। 



Leave a comment