काठमाडौ । काठमाडौै जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) को संचालक समितिका लागि उम्मेदवारी दिएका सबैको फिर्ता गरिएको छ । चलिरहेको निर्वाचन प्रक्रियालाई अन्त्य गरी सर्वसम्मत नेतृत्व चयन गर्ने र त्यसका लागि निर्वाचनको नयाँ प्रक्रिया सुरु गर्ने गरी सहमति भएपछि सहकारीर राजनीतिक दलका नेताहरुमार्फत दवाव दिएर उम्मेदवारी फिर्ता गराइएको हो ।
निर्वाचन उपसमितिले प्रकाशित गरेको कार्यतालिका अनुसार नैउम्मेदवारी दर्ता भएपनिमतदानका लागि तोकिएको दुई दिनअघि निर्वाचन कार्यक्रम सारिएको थियो । दलिय आधारमा भागवण्डा गरी सर्वसम्मत नेतृत्व चयन गर्न सहमति भएपछि भने सबै उम्मेदवारी फिर्ता गर्न नेताहरु सक्रिय भएका थिए ।
दलिय कोटाबाट उम्मेदवारी दिएकाहरुले फिर्ता गरेपनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ८ जना र राप्रपा नेपाल निकटका एक जना गरी ९ जनाले फिर्ता नदिएपछि बुधबार ४ वजेसम्मको समय थपिएको थियो । उनीहरुलाई विभिन्न व्यक्तिबाट दवाव र आश्वाशन दिएर उम्मेदवारी फिर्ता गराइएको बताइएको छ।
संघमा स्वतन्त्र रुपमा शिवराम गौतम, वेदकाजी घिमिरे, लिला रानामगर, रामजी प्रसाद काप्री, सुनिता तिवारी, देवराज न्यौपाने, हरिकुमार श्रेष्ठ र रविन्द्र केसीले तथा राप्रपा नेपाल निकट रहेका राजकुमार खड्काले उम्मेदवारी दर्ता गरेका थिए । संघको सल्लाहकार बनाउने तथा राप्रपा नेपाललाई अर्को संघमा कोटा दिने प्रतिवद्धता पाएपछि उम्मेदवारी फिर्ता गरिएको खड्काले बताए ।
स्वतन्त्रहरुको उम्मेदवारी फिर्ताका लागि फकाउनबुधबार दिनभर अध्यक्ष दिपक पनेरु, उपाध्यक्ष नवराज अर्याल, कोषाध्यक्ष निरञ्जन सेढाईका साथै सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलगायतका सहकारी नेताहरु सक्रिय भएका थिए ।
कतिपय उम्मेदवारलाई राजनीतिक पार्टीका नेताहरुबाट समेत फोन गरेर दवाव दिइएको बताइएको छ । सर्वदलीय सहमतिका लागि पहल गरेका उप्रेतीले नै उम्मेदवारलाई संघमै सल्लाहकार बनाउने, अर्को संघमा कोटा दिने, आमन्त्रीत सदस्य बनाउने, उपसमितिमा मनोनय गर्नेजस्ता आश्वासन दिएका छन् ।
सहमतिमा एमालेलाई अध्यक्ष, महिला उपाध्यक्ष र तीन जना संचालक गरी ५ जना, कांग्रेसलाई महासचिव, कोषाध्यक्ष, लेखा समिति संयोजक र दुई जना संचालक गरी ५ जना, माओवादीलाई तीन संचालक र एक जना लेखा सदस्य गरी ४ जना, एकीकृत समाजवादीलाई बरिष्ठ उपाध्यक्ष र २ संचालक गरी तीन जना र राप्रपालाई एक जना संचालक दिने गरी भागवण्डा भएको छ । अध्यक्षमा उम्मेदवारी दिएकामध्ये दिपक पनेरुअध्यक्ष र नवराज अर्यालबरिष्ठ उपाध्यक्ष रहनेछन् ।
यसअघि पनेरु र अर्यालले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका थिए । अर्यालले नेकपा एस, कांग्रेस, माओवादी र राप्रपा नेपाललाई मिलाएर प्यानल बनाएका थिए ।आफु निकट प्यानल नै हार्ने भएपछि एमालेको योजनामा निर्वाचन कार्यक्रम स्थगित गरिएको हो ।
पुस २८ गते साझ संघको आकस्मिक बैठक बसी ३० गतेका लागि तय गरिएको निर्वाचन कार्यक्रम माघ २१ गतेलाई सारिएको छ । निर्वाचन सार्ने पनेरुको योजनालाई निर्वाचन उपसमितिले समेत साथ दिदै आएको छ ।
निर्वाचन उपसमितिका संयोजक शिव अधिकारी भने संचालक समितिको निर्णय अनुसार नै उपसमितिले काम गरिरहेको दावी गर्छन् । सबैको उम्मेदवारी फिर्ता भएको अवस्थामा पुनः नयाँ प्रक्रिया सुरु गर्न लागिएको उनले जानकारी दिए ।
Leave a comment