काठमाडौ । काठमाडौै जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) को संचालक समिति चयन गर्ने चरम राजनीति देखिएको छ । अन्तिम समयमा आएर निर्वाचन स्थगित गरेको संघमा दलिय कोटाको आधारमा नेतृत्व चयनको सहमति भएपछि चलिरहेको प्रक्रियालाई अन्त्य गरी नयाँ प्रक्रिया सुरु गर्न नेताहरु सक्रिय भएका छन् ।
यसअघिको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता भइसकेपछि अन्तिम समयमा निर्वाचन स्थगित गरेको संघमा नयाँ नेतृत्वका लागि सहमति भएपछि नेताहरु उम्मेदवारी फिर्ता गर्ने दौडधुपमा लागेका छन् । उम्मेदवारी फिर्ताका लागि बुधबार ४ वजेसम्मको समय थपिएको छ ।
सबै उम्मेदवारले फिर्ता नलिएसम्म चुनावी प्रक्रियाको अन्त्य गर्न कानूनी रुपमा अप्ठेरो हुने भएपछि फिर्ता गराउनका लागि नेताहरुले प्रयास गरिरहेका छन् । दलिय भागबण्डाको आधारमा उम्मेदवारी दर्ता गरेकाहरुले फिर्ता लिएपनि स्वतन्त्रहरुले फिर्ता नगरेपछि उनीहरुलाई फकाउने प्रयास भइरहेको छ ।
यसका लागि राष्ट्रिय सहकारी संघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, कास्कूनका अध्यक्ष दिपक पनेरु लगायतका नेताहरु सक्रिय छन् । उप्रेतीले मंगलबार सर्वदलीय सहमतिका लागि समेत पहल गरेका थियो ।
अध्यक्षमा उम्मेदवारी दिएकामध्ये दिपक पनेरुलाई अध्यक्ष र नवराज अर्याललाई बरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ । यसैगरी सहमतिमा एमालेलाई अध्यक्ष, महिला उपाध्यक्ष र तीन जना संचालक गरी ५ जना, कांग्रेसलाई महासचिव, कोषाध्यक्ष, लेखा समिति संयोजक र दुई जना संचालक गरी ५ जना, माओवादीलाई तीन संचालक र एक जना लेखा सदस्य, एकीकृत समाजवादीलाई बरिष्ठ उपाध्यक्ष र २ जना संचालक गरी तीन जना र राप्रपालाई एक जना संचालक दिने गरी भागवण्डा भएको छ ।
यसअघि पनेरु र अर्यालले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका थिए । अर्यालले नेकपा एस, कांग्रेस, माओवादी र राप्रपा नेपाललाई मिलाएर प्यानल बनाएका थिए ।
तर, आफु निकट प्यानल नै हार्ने भएपछि एमालेको योजनामा कानुन विपरित निर्वाचन कार्यक्रम स्थगित गरिएको हो । पुस २८ गते साझ संघको आकस्मिक बैठक बसी ३० गतेका लागि तय गरिएको निर्वाचन कार्यक्रम माघ २१ गतेलाई सारिएको छ ।
अध्यक्ष पनेरुको योजनालाई निर्वाचन समितिले समेत साथ दिएको छ । निर्वाचन उपसमितिका संयोजक शिव अधिकारी भने संचालक समितिको निर्णय अनुसार उपसमितिले निर्णय गरेको दावी गर्छन् ।
Leave a comment