हाइलाइट

सहकारी मन्त्रालयद्धारा उपत्यकाका ९ वटा सहकारीको अनुगमन, घरजग्गा र शेयर बजारमा अधिक लगानी

सहकारी मन्त्रालयद्धारा उपत्यकाका ९ वटा सहकारीको अनुगमन, घरजग्गा र शेयर बजारमा अधिक लगानी :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयले उपत्यकाका ९ वटा सहकारी संस्थाको अनुगमन गरेको छ । मन्त्रालयले पहिलो पटक संयुक्त रुपमा ती संस्थाहरुको अनुगमन गरेको छ । सहकारी संघसंंस्था सञ्चालन, अनुगमन तथा लेखापरिक्षण सम्बन्धी मापदण्ड, २०७९ जारी गरेसँगै मन्त्रालयले पहिलोपटक अनुगमन गरेको हो । पहिलो चरणमा ठुलो परिमाणमा वित्तीय कारोबार गर्ने र सदस्यको बचत फिर्ता गर्न नसकेका सहकारी संस्थाहरुको अनुगमन गरिएको मन्त्रालयले जनाएको छ ।

अनुगमन गरिएका संस्थाहरुमा ललितपुरको नेशनल डेभलपमेन्ट कोअपरेटिभ सोसाइटी, देउराली बहुउदेश्यीय सहकारी संस्था, कल्याण उपकार बचत तथा ऋण सहकारी संस्था र स्टार बचत तथा ऋण सहकारी संस्था रहेका छन् । त्यसैगरी काठमाडौंका स्वर्णलक्ष्मी बहुउद्देश्यीय, शुक्रपथ बहुउद्देश्यीय, मेगाड्रिम बहुउद्देश्यीय र लालीगुँरास बचत तथा ऋण सहकारी संस्था रहेका छन्।

मन्त्रालयका सचिव बलराम निरौलाले पहिलो चरणमा ती सहकारी संस्थाहरुको अनुगमन गरी प्रतिवेदन तयार हुने क्रममा रहेको बताए । प्रतिवेदन तयार भएपछि ती संस्थाहरुको समस्या पहिचान गरि समाधानका लागि पहल शुरु गर्ने उनले जानकारी दिए । पहिलो चरणमा संस्थाका सञ्चालकसँग छलफल गर्ने र समस्या समाधानका लागि प्रतिवद्धता गराउने उनको भनाई छ । त्यसैगरी बचतकर्ताको रकम फिर्ता गराउन पनि मन्त्रालयले पहल गर्ने निरौलाले जनाए ।

घरजग्गा र शेयर बजारमा अधिक लगानी गरेकाले संस्थाहरु वितीय संकटमा परेको अनुगमनको प्रारम्भिक अध्ययनले देखाएको छ । कतिपय संस्थाले आफ्नै नाममा घरजग्गा तथा शेयर खरिद गरेका छन् भने कतिपय संस्थाले व्यक्तिलाई ऋण दिएको र उक्त रकम घरजग्गामा लगेर लगानी गरेको अनुगमनका क्रममा भेटिएको छ ।  त्यसैगरी कतिपय संस्थाका सञ्चालक र व्यवस्थापकले संस्थाको ठुलो परिमाणको रकम प्रयोग गरेको भेटिएको सचिव निरौलाले जानकारी दिए ।

बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले अनुगमन समितिमा संघका सञ्चालकहरु सदस्य भएको भएतापनि अनुगमन गर्ने टोलीमा भने प्राविधिक जनशक्तिको प्रतिनिधित्व रहेको जनाए । प्रदेश सहकारी महाशाखाका ३ जना अधिकृतहरुको नेतृत्वमा ३ वटा अनुगमन टोली बनाइएको र सो टिममा प्रदेश र जिल्ला संघका व्यवस्थापकहरु एवं प्राविधिक तालिम लिएका कर्मचारी रहेको उनले बताए । संघका सञ्चालकहरु स्वयं अनुगमनमा जाँदा कतिपय अवस्थामा स्वार्थ बाझिने हुँदा कर्मचारीहरुलाई मात्र अनुगमन टोलीमा सहभागि गराइएको अध्यक्ष शर्माको भनाइ छ ।



Leave a comment