हाइलाइट

कास्कून निर्वाचन : सहमतिको नाममा कानुन विपरित गतिविधि

कास्कून निर्वाचन : सहमतिको नाममा कानुन विपरित गतिविधि :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संगठन काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) मा सहमतिमा नेतृत्व चयन गर्ने नाममा एकपछि अर्को कानुन विपरितका काम हुन हुन थालेको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता भइसकेपछि अन्तिम समयमा आएर निर्वाचन स्थगित गरेको संघले सहमतिका लागि भन्दै उम्मेदवारका पद समेत परिवर्तन गर्न गरी छलफल अघि बढाएको बताइएको छ ।

आफु निकट प्यानल नै हार्ने भएपछि सुरुमा नेकपा एमालेको योजनामा कानुन विपरित निर्वाचन कार्यक्रम स्थगित गर्न प्रयास सुरु भएको थियो । पुस २८ गते साझ संघको आकस्मिक बैठक बसी ३० गतेका लागि तय गरिएको निर्वाचन कार्यक्रम माघ २१ गतेलाई सारिएको छ । अध्यक्ष पनेरुको योजनालाई निर्वाचन समितिले समेत साथ दिएको छ ।

निर्वाचन उपसमितिका संयोजक शिव अधिकारीले संचालक समितिको निर्णय अनुसार कार्यक्रम सारिएको बताउछन् । ‘सहकारी अभियान विषय परिस्थितीमा रहेकाले यस्तो बेला एकता र सहमति आवश्यक रहेको र त्यसका लागि थप समय आवश्यक रहेको भन्दै संचालक समितिको निर्णय सहित अनुरोध आएको थियो’ उनले भने, ‘संचालक समितिको निर्णयलाई साधारणसभामा समेत लगेर अनुमोदन गर्ने भनेपछि हामीले निर्वाचन कार्यक्रम सारेका हौं ।’

निर्वाचन तालिका अनुसार मंगलबार ५ वजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकिएको छ । तर, सहकारीका नेताहरुले भने उम्मेदवारी दिएका व्यक्तिबाट पद मिलाउने गरी सहमतिको प्रयास गरिरहेका छन् । 
निर्वाचन उपसमितिका संयोजक अधिकारी भने निर्वाचनको कार्यक्रम अब शुन्यमा झार्न असम्भव रहेको बताउछन् । ‘अब निर्वाचन कार्यक्रम अन्र्तगत उम्मेदवारी फिर्ता लिन र अन्तिम नामावली प्रकाशन गर्न तथा निर्वाचन कार्यक्रम गर्न बाँकी छ’ उनले भने, ‘नयाँ उम्मेदवारी दिन कानुन अनुसार मिल्दैन ।’

यसैगरी निर्वाचन उपसमितिले प्रकाशित गर्नुपर्ने निर्वाचन सम्बन्धी सूचना संघका व्यवस्थापले जारी गरेका छन् । व्यवस्थापकको हस्ताक्षर रहेको सूचनामा संघको निर्वाचन कार्यक्रम माघ २१ गते विहान १० बजेदेखि ३ बजेसम्म सहकारी प्रशिक्षण केन्द्रमा हुने उल्लेख  छ । संघका व्यवस्थापक अरुण तिवारी संघले संदस्यहरुलाई स्मरण मात्र गराएको बताउछन् । ‘निर्वाचन उपसमितिले यसअघि नै कार्यतालिका प्रकाशित गरिसकेको छ’ उनले भने, ‘संघले सदस्यहरुलाई जानकारी मात्र गराएको हो ।’

संघमा वर्तमान अध्यक्ष पनेरुको अध्यक्षतामा एमाले समर्थकको एउटा प्यानल र उपाध्यक्ष नवराज अर्यालको अध्यक्षतामा नेकपा एस, कांग्रेस, माओवादी र राप्रपा निकटको संयुक्त प्यानलबाट उम्मेदवारी छ । अर्याल टिमबाट बरिष्ठ उपाध्यक्षमा निरञ्जन सेढाइ, महिला उपाध्यक्ष रीता श्रेष्ठ महा सचिवमा सीमा पुरी सचिवमा पुरुषोत्तम नेपाल, कोषाध्यक्ष सुवासचन्द्र घिमिरेको उम्मेदवारी छ ।

सदस्यमा राजेश कुमार श्रेष्ठ, खेलनाथ सिग्देल, अनन्त केसी, पुष्कर सापकोटा, रोशनबाबु श्रेष्ठ, दामोदर लम्साल, कृष्णप्रसाद आचार्य, श्रीराम केसी र मनबहादुर तामाङले उम्मेदवारी दिएका छन् । त्यसैगरी लेखा संयोजकमा अनिता थापा अधिकारी र सदस्यमा पुण्यप्रसाद सापकोटा दामोदर पौडेलको उम्मेदवारी परेको छ ।

त्यस्तै पनेरु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा शालिकराम पुडासैनी, महिला उपाध्यक्ष बिनिता अधिकारी, महासचिवमा बिरेन्द्र भण्डारी, सचिवमा लेमन श्रेष्ठ, कोषाध्यक्ष देवनारायण चौलागाईको उम्मेदवारी छ । सदस्यमा गोवर्धन केसी, राजकुमार लामा, रामेश्वर श्रेष्ठ, मुरारी भण्डारी, मनोज घिमिरे शेखर श्रेष्ठ, जयराम तिमिल्सिना, श्याम श्रेष्ठ र मिरा महर्जन छन् । यस्तै लेखा समितिको संयोजकमा गोमा ढुङ्गाना तथा सदस्यहरुमा तपन पोखरेल र बाबुराम आचार्यले उम्मेदवारी दिएका छन् ।

निर्वाचनबाट संचालक समिति संयुक्त प्यानलनै  जित्ने अवस्था देखिएपछि एमालेको योजनामा निर्वाचनको मिति सारिएको थियो । निर्वाचन स्थगित गर्न एमालेको सहकारी विभागका सचिव तथा सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र विभागका सदस्य तथा वागमती प्रदेश सांसद ज्ञानवहादुर तामाङ सक्रिय भएका छन् ।

अहिले सहमतिका लागि समेत उनीहरु नै सक्रिय छन् । स्रोतका अनुसार अर्याललाई कास्कुनमा बरिष्ठ उपाध्यक्ष वा नेफ्स्कूनमा संचालक दिने गरी सहमतिको छलफल भइरहेको छ । तर, उम्मेदवारी परिवर्तन गर्न नपाउने कानुनी अवस्थाले भने अप्ठेरो परिरहेको छ ।



Leave a comment