काठमाडौं । संघिय सरकारको सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको तालिम पाठ्यक्रम परिवर्तन भएको छ । केन्द्रले संचालन गर्ने विषयवस्तुहरु पुरानो भएको भन्दै आलोचना हुन थालेपछि परिवर्तन गरी समयानकुल बनाएको हो । पाठ्यक्रममा यसअघि पठाइदै आएका विषयवस्तुका अतिरिक्त नयाँ विषयहरु पनि समेटिएको छ ।
नयाँ पाठ्यक्रम अनुसार केन्द्रले संचालन गर्ने सबै प्रकारका तालिमहरुमा सूचना/प्रविधि कक्षा अनिवार्य गरेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्वीकृत गरेको पाठ्यक्रम अनुसार हरेक तालिमको पहिलो कक्षा सूचना/प्रविधिबारे हुनेछ ।
उक्त तालिममा केन्द्रको अनलाईन दर्ता प्रणाली भर्ने तरिका, तालिमसँग सम्बन्धित विभिन्न विषयका गुगल फर्म भर्ने तरिका, साईबर क्राइम र साइबर सेक्युरिटीबारे र अनलाईन माध्यमबाट स्रोत खोज्ने र उपयोग गर्ने तरिकाबारे प्रशिक्षण हुनेछ ।यसअघि केन्द्रले पाठ्यक्रम परिमार्जनका लागि विभागले विज्ञ तथा सरोकारवालाहरुबाट सल्लाह/सुझाव समेत मागेको थियाे ।
केन्द्रले हाल आधारभुत सहकारी, ब्यवसाय प्रवद्र्धन, सहकारी तथा सहकारी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली, सहकारी लेखा तथा वित्तीय विश्लेषण सम्बन्धी तालिम, सहकारी व्यवसाय प्रवद्र्धन तालिम, प्रशिक्षक प्रशिक्षक तालिम, स्थानिय तहमा कार्यरत कर्मचारीलाई सेवाकालिन तालिम सञ्चालन गर्दै आएको छ ।
संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारी र सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूका लागि सहकारी सम्बन्धी विभिन्न प्रकारका प्रशिक्षण, तालिम, अध्ययन, अनुसन्धान तथा परामर्श सेवा उपलब्ध गराइरहेको छ ।
केन्द्रले हाल संघिय सरकार मातहत रहेको केन्द्रले वार्षिक पाँच सय जनालाई तालिम दिदै आएको छ । संघीयता कार्यान्वयनसँगै सहकारी प्रशिक्षण केन्द्रसँग अनुसन्धान नाम जोडिए पनि केन्द्र तालिम कार्यक्रममा मात्र सिमित छ । केन्द्रमार्फत प्रशिक्षणसँगै अनुसन्धानको समेत काम गर्नेगरी ५ वर्षअघि नाम परिवर्तन गरिएको भएपनि हालसम्म एउटा पनि अनुसन्धानको काम गर्न सकेको छैन ।
Leave a comment