काठमाडौं । अन्तरर्राष्ट्रिय संघसंस्थाहरुमा आवद्ध हुन नेपालका सहकारी संघहरुबिच प्रतिस्पर्धा देखिएको छ । पछिल्लो पटक नेपालका बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले पनि अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को सदस्यता लिएको छ ।
नेपालबाट आइसीएमा सदस्यता लिनेमा नेफ्स्कून छटौं संघ बनेको छ । यसअघि राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी बैंक, नेपाल कृषि केन्द्रीय सहकारी संघ र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले आइसीएको सदस्यता लिइसकेका छन् । बोर्ड आइसीएको एसोसिएट सदस्य भएपनि महासंघसहित अन्य संघहरुले भने मतदानको अधिकार सहित पूर्ण सदस्यता लिएका हुन् ।
नेपालबाट सहकारी महासंघले आइसीएको सदस्यता लिएपछि केन्द्रीय संघहरु अप्रत्यक्ष रुपमा सदस्य बन्छन् । आइसीएबाट प्राप्त हुने सेवा सुविधा महासंघमार्फत प्राप्त हुने भएपनि केन्द्रीय संघहरुबीच सिधै सदस्यता लिने प्रतिस्पर्धा देखिएको हो ।
संघहरुबिच आइसीएको सदस्यता लिने होडबाजीले सदस्यता शुल्कका नाममा ठूलो रकम बाहिरिने भएको छ । आइसीएको सदस्य वापत संघहरुले बार्षिक करिब ४ लाख रुपैयाँ बुझाउनुपर्छ ।
नेफ्स्कूनले आइसीएको सदस्यता लिनका लागि गत वर्ष नै आवेदन दिएको थियो । त्यसपछि आइसीएले महासंघबाट समेत सिफारीस मागेको थियो । महासंघले सिफारीस गरेपछि आइसीएले नेफ्स्कूनलाई सदस्यता दिएको हो ।
यसअघि नेफ्स्कून बचत ऋण सहकारीहरुको अन्तर्राष्ट्रिय सञ्जाल विश्व ऋण परिषद (ओकू) र एशिया प्रशान्त क्षेत्रिय सञ्जाल एशियाली ऋण महासंघ (अक्कू) को सदस्य बनिसकेको छ ।
नेपालका सहकारी संघहरुले अन्तरराष्ट्रिय संघसंस्थासँगको आवद्धता नेताहरुलाई विदेश भ्रमणको अवसरका रुपमा उपयोग गर्ने गरेको एक सहकारीकर्मीले बताए ।
Leave a comment