सहकारीका कार्यक्रममा मदिरा निषेध : उद्घाटन शत्र पनि ४५ मिनेट

सहकारीका कार्यक्रममा मदिरा निषेध : उद्घाटन शत्र पनि ४५ मिनेट :: Sahakari Akhabar

काठमाडौं । सहकारी संघ÷संस्थाका कार्यक्रमहरुमा मदिरा निषेध गरिएको छ । सहकारी अभियानको सर्वोच्च छाता संगठन राष्ट्रिय सहकारी महासंघले ‘सहकारी संस्थागत संस्कार मार्गदर्शन–२०७९’ जारी गर्दै सहकारीका संचालक, कर्मचारी तथा सदस्यहरुका लागि व्यक्तिगत आचरणदेखि संस्थागत कार्यक्रम संचालन गर्ने विषयहरु समेटेर मापदण्ड तोकेको हो ।

मागदर्शनमा ब्यक्तिगत, संस्थागत ब्यवहारका साथै कार्यक्रम र बैठक संचालनका लागि ‘सहकारी संस्कार’ निर्धारण गरिएको छ । जसअनुसार व्यक्तिगत ब्यवहारमा  बोली बचन, हाँउभाउ र ब्यवहारमा शिष्टता तथा शालिनता हुनुपर्नेदेखि खानेकुरा अनावश्यक खेर नफाल्नेसम्मका विषयहरु तोकिएका छन् । व्यक्तिगत ब्यवहारमा ११ वटा आचरण महासंघले लागू गरेको हो ।

यस्तै संस्थागत ब्यवहारमा पनि सेवाग्राही र अतिथिलाई मुस्कान सहित स्वागत गर्नेदेखि, कार्यालय सफासुग्घर राख्ने, स्वागतमा ब्याच र खादाको प्रयोग नगर्ने, प्रयोगमा आउने सामान मात्र उपहारमा प्रदान गर्ने, स्वदेशी र सहकारीले उत्पादन गरेको सामानको प्रयोग गर्ने, प्लास्टिक निषेध गर्नेलगायतका विषयहरु समेटिएका छन् ।

कार्यक्रम संस्कारमा भने ४५ मिनेटको मात्र उद्घान शत्र राख्ने, अतिथी वक्तालाई मात्र आशनग्रहण गराउने, पूर्व निर्धारित कार्यतालिका अनुसार कार्यक्रम सम्पन्न गर्ने, अतिथिलाई निश्चित समय दिएर मन्तव्य राख्न दिने, कार्यक्रममा अनावश्यक तडकभडक नगर्ने, सहकारीका कार्यक्रममा मध्यपान निषेध गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी निश्चित दिन तोकेर बैठक बस्ने, बैठकको तीन दिन अघि नै प्रस्ताव र आवश्यक कागजात पठाउने, शिष्ट र शालिन रुपमा आफ्नो भनाई राख्ने, बैठक अवधिमा मोवाइल साइलेन्समा राख्ने, एक व्यक्तिको भनाई पुरा नभएसम्म अर्को व्यक्तिले नबोल्ने जस्ता विषयहरु बैठक संस्कारमा समेटिएको छ ।

महासंघको साधारणसभाले यसलाई पारित गरी मागदर्शन लागू गरेको हो । यो सहकारी संघ÷संस्थाका समिति, उपसमितिका पदाधिकारी तथा सदस्य, कर्मचारी र सदस्यहरुलाई लागू हुने महासंघले जनाएको छ ।



Leave a comment