नेपालमा अक्कु फोरम गर्न नेफ्स्कून र बैंकसँग सम्झौता 

नेपालमा अक्कु फोरम गर्न नेफ्स्कून र बैंकसँग सम्झौता  :: Sahakari Akhabar

काठमाडौैं  । एसियाली ऋण महासंघ (अक्कू) फोरम–२०२३ नेपालमा गर्नका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकसँग सम्झौता भएको छ ।  नेपाल भ्रमणमा रहेका अक्कुका चिफ अफ टेक्निकल अफिसर रञ्जित हितराची र प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के नेफ्स्कून र बैंकसँग फोरमको सहआयोजकका रुपमा छुट्टाछुट्टै सम्झौता गरेका छन् ।

एसियाली देशहरुका बचत तथा ऋण सहकारीहरुको छाता संघको रुपमा रहेको अक्कुमा नेपालबाट नेफ्स्कून र सहकारी बैंक सदस्य रहेका छन् । सुरुवाती दिनहरुमा नफ्स्कूनमार्फत मात्रै आफ्ना गतिविधि संचालन गर्दै आएको अक्कुले पछिल्लो समय सहकारी बैंकलाई पनि प्राथमिकता दिदै आएको छ । 

अक्कुको आयोजना तथा नेफ्सकून तथा सहकारी बैंक सह आयोजक रहेर फोरम आयोजना गर्न लागिएको बताइएको छ । गत शुक्रबार नेफ्स्कूनसँग सम्झौता गरेको अक्कुले मंगलबार बैंकसँग पनि यसैका लागि सम्झौता गरेको हो । 
छुट्टाछुट्टै भएको सम्झौतामा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले हस्ताक्षर गरेका छन् । अक्कुको तर्फबाट भने दुवै सम्झौतामा कार्यकारी अधिकृत रोक्केले हस्ताक्षर गरेकी छिन् । 

२०२३ को सेप्टेम्बर ११ देखि १७ सम्म काठमाडौंमा आयोजना हुने फोरममा २५ भन्दा बढी देशका ३०० जनाको सहभागिता रहनेछ । नेपालबाट पनि एक सय जनाको सहभागितामा रहने अपेक्षा गरिएको छ । 

फोरममा मानव संसाधन विकास कार्यशाला, सिइओ कार्यशाला, युवा तथा महिला कार्यशाला लगायतका हुनेछन् । सन् २०२० मा अक्कू फोरम नेपालमा आयोजना गर्ने घोषणा भएपनि कोभिड–१९ का कारण स्थगित भएको थियो । कार्यक्रममा एसियाली ऋण महासंघको ४२औं साधारण सभा समेत हुनेछ ।
 



Leave a comment