पैसा नदिएपछि काठमाडौंका ११८ सहकारीविरुद्ध उजुरी

पैसा नदिएपछि काठमाडौंका ११८ सहकारीविरुद्ध उजुरी :: Sahakari Akhabar

काठमाडौं । रकम फिर्ता नगरेको भन्दै बचतकर्ताले काठमाडौं महानगरपालि मातहत रहेका ११८ ओटा सहकारी संस्थाविरुद्ध उजुरी गरेका छन् । उक्त उजुरी संख्या चालू आर्थिक वर्षको मात्र हो । गत आर्थिक वर्षमा जम्मा ६० उजुरी परेका थिए । चालू आर्थिक वर्षको ६ महीनामा अघिल्लो वर्षभरीको भन्दा दोब्बर उजुरी परेको विभागका प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए ।

उजुरीमध्ये सबैभन्दा बढी सहकारीको संख्या धेरै रहेका महानगरका भित्री वडाबाट आएका छन् । सबैभन्दा धेरै बचतकर्ताको रकम फिर्ता नगरेका उजुरी छन् । उजुरी परेका ११८ मध्ये ४७ सहकारीलाई महानगरले पटकपटक सम्पर्क गर्न खोजेको थियो । केही अझै सम्पर्कमा नआएका र आएका केहीले पनि बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै पुनः उजुरी आएपछि महानगरले कारवाहीका लागि प्रहरीलाई सिफारीस गरेको छ । 

७१ सहकारी सञ्चालकसँग महानगरले छलफल गरी बचतकर्ताको रकम फिर्ता गराउन प्रयास भइरहेको महानगरले जनाएको छ । पछिल्लो समय वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको कारण सहकारी संस्थाहरुलाई सदस्यको माग अनुसार बचत फिर्ता गर्न धौ धौ परिरहेको छ ।  काठमाडौं महानगरपालिकामा रहेका १ हजार ९५५ सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी छन् ।

सहकारीको उजुरी बृद्धि भएसँगै महानगरले अनुगमनलाई कडाइ गर्ने भएको छ । महानगरपालिकाको सहकारी विभागले वडागतरूपमा सहकारी संख्याका आधारमा ३२ ओटै वडामा अनुगमन गर्न लागेको जनाएको छ । अनुगमनको काम तत्काल शुरू गर्न टोली गठनको तयारी भइरहेको छ ।



Leave a comment