काठमाडौं । काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संगठन काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) मा आफु निकट प्यानल नै हार्ने भएपछि नेकपा एमालेको योजनामा निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । पुस २८ गते साझ आकस्मिक बैठक बसी ३० गतेका लागि तय गरिएको निर्वाचन कार्यक्रम माघ २१ गतेलाई सारिएको हो ।
कास्कुनमा वर्तमान अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा एमाले समर्थकको एउटा प्यानल र उपाध्यक्ष नवराज अर्यालको अध्यक्षतामा नेकपा एस, कांग्रेस, माओवादी र राप्रपा निकटको संयुक्त प्यानलबाट उम्मेदवारी परेको थियो । निर्वाचनबाट संचालक समिति संयुक्त प्यानलबाटै जित्ने अवस्था भएपछि एमालेको योजनामा निर्वाचनको मिति सारिएको छ । \
संचालक समितिमा अध्यक्ष पनेरुको एमाले समर्थीत सहकारीकर्मीको बहुमत रहेकाले त्यसैको आडमा निर्वाचनको मिति सारिएको एक संचालकले बताए । निर्वाचन उपसमितिले कार्यालयमा सूचना टासेर सञ्चालक समितिको बैठकको निर्णयका आधारमा निर्वाचन कार्यतालिका संशोधन गरिएको जनाएको छ ।
स्रोतका अनुसार पनेरुको प्यानल नै हार्ने भएपछि निर्वाचन स्थगित गर्न एमालेको सहकारी विभागका सचिव तथा सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र विभागका सदस्य तथा वागमती प्रदेश सांसद ज्ञानवहादुर तामाङ सक्रिय भएका थिए । उनीहरुकै योजना र सल्लाह अनुसार पनेरुले निर्वाचनको मिती सार्ने निर्णय गरेका हुन् ।
उप्रेतीले नै माओवादी निकट सहकारीकर्मीहरुलाई संयुक्त प्यानलबाट हटेर एमालेको प्यानलमा आउन सहमत गराएका थिए । त्यसका लागि उनले हालै राष्ट्रिय सहकारी बैंकको संचालक बनाएका मनोज थापामगर र पार्वती थापामगरलाई प्रयोग गरेको बताइएको छ ।
माओवादी निकट सहकारीकर्मीहरु पनेरुलाई अध्यक्षमा समर्थन गर्ने र दुई पार्टीको संयुक्त प्यानल बनाउने योजना सहित निर्वाचन कार्यक्रम सारिएको बताइएको छ ।
Leave a comment