हाइलाइट

सहकारीको समस्या समाधानमा कसको जिम्मेवारी के ? 

सहकारीको समस्या समाधानमा कसको जिम्मेवारी के ?  :: Sahakari Akhabar

नेपालमा सहकारीको संख्या कति छ ? विश्वसनीय तथ्यांक सम्बन्धित निकायले दिन सक्दैन । संघ, प्रदेश र स्थानीय, तीन वटै सरकारसँग सहकारी दर्ता, नियमन र अनुगमनको अधिकार छ । तर, सहकारी कहाँ छ ? कुन अवस्थामा छ ? कसरी संचालनमा छ ? राज्य बेखबर छ । संघीय सरकार संचालनको आधार सहकार्य, समन्वय र सहअस्तित्व हो । तर, राज्यका तीन वटै सरकार अधिकारको नाममा तीन वटै ‘स’ हराएको छ । जसको कारण सहकारीमा मात्र होइन हरेक क्षेत्रमा कानुनीलगायत  अन्यौलताहरु बढदै गएका छन् । 

जनतासँग कर असुलीमा भन्ने तीनवटै सरकारको प्रतिस्पर्धा छ । जब जिम्मेवारीको कुरा आउँछ तब जनता आफै सुसुचित हुनुपर्ने, सहकारीका संचालक तथा कर्मचारी दोषी छन्, कानुन अस्पष्ट छ, अधिकार क्षेत्रभित्र पर्दैन, बजेट तथा जनशक्तिको अभाव छ, समस्याग्रस्त घोषणा गरेको छ लगायतका बहाना बनाएर सरकार पन्छिएको अवस्था छ । सहकारीबाट जनता ठगिने श्रृखंलाले निकाश पाउन सकेको छैन । सहकारीमा समस्या आउनुमा सरकार, सहकारी अभियान, संचालक, कर्मचारी र सदस्य तथा बचतकर्ताहरु सबै जिम्मेवार छन् । यस्तै समस्या समाधानका उपाय पनि ती सम्बद्ध पक्षहरुसँग नै छ । त्यसैले वर्तमान संकटपूर्ण अवस्थामा सहकारीलाई जोगाउन कसको भूमिका के हुन्छ भन्ने विषयमा यो आलेख केन्द्रीत छ । 

सरकार
सहकारीमा समस्या देखिनुमा सरकार प्रमुख जिम्मेबार पक्ष हो । किनकी सरकारले अन्धधुन्द सहकारी दर्ता गर्ने तर अभिलेख व्यवस्थापन गर्न समेत नसक्ने बिडम्बनाको कुरा हो । सरकारले दर्ता गरेका सहकारीमा सरकारको नियन्त्रण र अनुगमनमा छैन । यो जस्तो लाजमर्दो कुरा के होला ? तसर्थ सहकारी दर्ता गर्ने तर त्यसको जिम्मेवारी नलिने भन्ने प्रश्न नै आउँदैन । सहकारीका समस्यामा सरकार गम्भिर हुनैपर्छ । समस्या समाधानका लागि सरकारले जिम्मेवारी लिनै पर्छ । सदस्यको खर्बौ बचत सुरक्षाको प्रत्याभूती गर्नैपर्छ । यसको अर्को विकल्प छैन । 
१) तीन वटै तहका सरकारले सहकारी दर्तालाई निरुत्साहित गर्ने ।
२) दर्ता भएका सहकारीको तथ्यांक अद्यावधि गर्ने सोको लागि तीन वटै सरकारमा जनशक्ति, स्रोत साधन र बजेटको सुनिश्चिता गर्ने ।
३) निश्क्रिय रहेको सहकारीको प्रक्रियागत ढंगबाट खारेजी तथा एकीकरण गर्न सहज सरल प्रकियाका नियमहरु बनाई प्रोत्साहन गर्ने ।
४) तीन वटै सरकारमा अभियान सहितको सहभागितामा विषयज्ञहरुको अनुगमन टोली बनाई निरन्तर संघन अनुगमन गर्ने ।
५) सहकारी ऐन, नियम विपरित कार्य गर्ने सहकारी, संचालक र कर्मचारीलाई कार्वाही गनुपर्ने ।
६) सहकारी अभियानमा सहकारी संस्थाको आबद्धता अनिवार्य गरी सहकारीको तहगत संरचनालाई व्यवस्थित गर्नुपर्ने ।
७) सहकारीलाई कारोबारको आधारमा वर्गीकरण गरी नेपाल राष्ट्र बैंकसँग बैंकिङ कारोबारको लागि अनिवार्य अनुमतिको व्यवस्था गर्नुपर्ने ।
८) सहकारीलाई उत्पादनसँग जोड्न बाधक ऐन र नीति, नियम संशोधन गर्ने ।
९) राज्यको तीन वटै सरकारले सहकार्य, समन्वय र सहअस्तित्वमा सहकारीका नीति नियम बनाउने, संशोधन गर्ने, अनुगमन गर्ने र कार्वाही गर्ने ।

सहकारी अभियान
सहकारी अभियानले ६५ औं बर्ष पार गरेको छ । संविधानमै अर्थतन्त्रको एक खम्बाको रुपमा सहकारीलाई राख्न सफल भएको छ । सहकारी ऐन २०४८ लाई विस्थापित गरी नयाँ सहकारी ऐन र नियमावली जारी गरेको छ । सहकारी ऐन नियम जारी गर्न गराउन अभियान सफल भए तर त्यसको प्रभावकारी परिपालना र कार्यान्वयन गर्न गराउन भने अभियान कमजोर देखिन्छ । सहकारी अभियान सहकारी सुद्धिढिकरण भन्दा बढी आफु कसरी बलियो हुनेमा केन्द्रीत देखिन्छ । सहकारी संघहरुको एकै नासको कार्यले एक आपसको प्रतिस्पार्धालाई प्रशय दिएको छ । हालको समस्या देखिनुमा सहकारी अभियान जिम्मेबार छ । सहकारी अभियानले आफ्नो जिम्मेबारी बह्न नगर्दा समस्या बढेको छ । सहकारी अभियानले तपसिलका जिम्मेबारी बह्न गरेमा सहकारी समस्याहरु समाधानमा टेवा पुग्ने छ ।

१) सहकारीको तहगत संरचनामा सहकार्य, समन्वय र सहअस्तित्वको अवधारण नीतिगत अनिवार्यता कायम गर्नुपर्ने ।
२) सहकारीका एजेन्डा, मुद्दाहरुको बुझाईमा एकरुपता ल्याई प्रभावकारी बहस पैरवी गर्नुपर्ने ।
३) संघहरुको कार्यमा दोहोरोपना र व्यवसायिक प्रतिस्पर्धाको अन्त्य गरी चेन अफ कमाण्डमा काम गर्नुपर्ने ।
४) सहकारीमा देखिएको समस्याको तत्काल समाधान खोज्ने प्रवृतीको अन्त्य गरी दिगो समाधानको लागि अध्ययन अनुसन्धान र सरकारको प्रमुख सुझाव साझेदारको भुमिका खेल्नुपर्ने ।
५) सहकारी ऐन कानुनको परिपालन गर्न गराउन संघहरुबाटै सुशासन कायम गर्नुपर्ने ।
६) संस्थाको निरन्तर अनुगमन निरिक्षण गरी पुरस्कृत तथा दण्डको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने ।
७) अभियानले सहकारीका वित्तीय जोखिमलाई मुल्यांकन गरी जोखिमरहित संस्थाको छवि निर्माणको सुनिश्चिता कायम गर्ने ।
८) सहकारी अभियानले सहकारीको दिगो विकासका प्रमुख ऐजेन्डामा केन्द्रित भई स्रोत, साधन, जनशक्ति र बजेटको समानुपातिक बाँडफाँडको स्विकार्य विधि तथा प्रणालीको निर्माण गर्नु पर्ने ।
९) निरन्तर सहकारी शिक्षा तालिम, विकास, प्रवद्र्धन र बहस पैरवीको सुनिश्चता गर्नुपर्ने ।

सहकारीका संचालक
सहकारी सदस्यहरुको स्वनियम, स्वशासन र स्वनियन्त्रीत सदस्य केन्द्रीत व्यवसाय हो । ‘एकका लागि सबै, सबैको लागि एक’ अवधारण सहकारी संचालन हुुुनुपर्दछ । तर सहकारी संचालक केन्द्रीत हुँदा सहकारीमा समस्या गहिरिएको छ । सहकारी सदस्यको नभई सहकारी संचालकको नीजि व्यवसायको रुपमा संचालित हुदाँ समस्या विकराल बनेको छ । विद्यमान सहकारी समस्याका मुख्य जिम्मेवार संचालक हो । यसको समाधानको उपाय पनि संचालकसँगै छ । तसर्थ हालका सहकारी समस्यामा समाधानमा संचालकले तपसिलका जिम्मेबारीहरु बहन गर्नुपर्दछ ।

१) सहकारी ऐन नियमको परिपालना गरी सदस्य केन्द्रीत व्यवसायको सुनिश्चिता गर्नुपर्ने ।
२) सदस्यको अपनत्व ग्रहण हुने गरी सहकारीका क्रियाकलापलाई अघि बढाउने ।
३) संस्थाको लेखापरिक्षण समयमै गरी समयमै साधारण सभा सम्पन्न गर्ने ।
४) सदस्यको बचत सुरक्षाको लागि सदस्यलाई सुरक्षित लगानीको सुनिश्चिता गर्ने ।
५) सहकारी संस्थालाई संस्थागत बनाउन नीति, विधि र प्रविधिमा संचालन गर्नुपर्ने ।
६) सहकारीमा दक्ष जनशक्तिको नियुक्ती गर्ने ।
७) सहकारीमा निरन्तर सदस्य शिक्षा, तालिम, गोष्ठी र अन्तरक्रिया कार्यक्रम संचालन गर्नुपर्ने ।
८) सहकारी संस्थाको गुणस्तर सुनिश्चिता कार्यक्रमहरुमा सहभागिता जनाउने ।
९) सहकारी संस्था सम्बन्धित विषगत संघहरुमा आबद्धभई अभियानमा एक्यबद्धता कायम गर्ने ।
१०) सहकारीमा आन्तरिक लेखापरिक्षणलाई प्रभावकारी बनाई संस्थाको आन्तरिक सुशासन कायम गर्ने ।

सहकारी कर्मचारी
सहकारी संस्थाको दैनिक कार्य संचालनको लागि संचालक समितिले कर्मचारी नियुक्ती गर्दछ । कर्मचारीबाट नै सहकारीका दैनिक गतिविधि अगाडी बढ्छ । सदस्यको दैनिक सम्पर्कमा कर्मचारीहरु रहन्छ । तसर्थ सदस्यको सुखदुखको जानकार कर्मचारी हुन्छ । संचालक र सदस्यको प्रवक्ताको रुपमा कर्मचारीले भुमिका निभाएको हुन्छ । सहकारीका कर्मचारी नै संचालक र व्यक्तिगत स्वार्थमा पर्दा सदस्यको बचत जोखिममा परेको छ । हाल सहकारीमा देखिएका समस्याहरुमा कर्मचारी पनि जिम्मेबार छ । कर्मचारीहरुले सदस्यको सुरक्षाको लागि समयमै संचालक, सदस्य र सम्बन्धित निकायलाई सचेत नगर्दा सहकारीमा समस्या बढ्दै गएको छ । यसको समाधानको लागि सहकारीका कर्मचारीले तपशिलको जिम्मेबारीहरु बहन गर्नुपर्दछ ।

१) सहकारी गठन, संचालन प्रक्रिया र ऐन कानुनको बारेमा जानकारी राखेर मात्र सहकारी क्षेत्रमा जागिर गर्नुपर्ने ।
२) संस्थामा कर्मचारीले नियुक्तीपत्र, कार्य विवरण, अधिकारको सिमा लिखित रुपमा प्राप्त गरी कार्यालयमा हाजिर हुने ।
३) कर्मचारीले सहकारी ऐन नियम, संस्थाका नीति नियमको परिपालना र नियम विपरितका कार्यलाई विरोध गर्ने ।
४) सदस्यको बचत सुरक्षाको प्रत्याभुति हुुने र सदस्यलाई सो अनुभुति गराउने ।
५) संस्थाका संचालकबारेमा आवश्यक जानकारी राख्ने ।
६) संस्थाको नियमित प्रतिवेदन अध्ययन तथा विश्लेषण गरी संस्थाको वित्तिय सुशासन कायममा रचनात्मक भुमिका निर्वाह गर्ने ।
७) संचालकको निहित स्वार्थको लागि कर्मचारीहरु प्रलोभनमा नफस्ने सोको समयमै विरोध गर्ने, सदस्य तथा सम्बन्धित निकायलाई सुसुचित गर्ने ।
८) कर्मचारीले सदस्यको बचत सुरक्षाको लागि जागिरको जोखिम भएपनि पछि नह्टने ।
९) कर्मचारीले निरन्तर सहकारी शिक्षा तालिम हासिल गर्ने र असल अभ्यासहरु व्यवहारमा प्रयोग गर्ने ।

सहकारीका सदस्य 
नेपालमा अझै पनि आमजनताले सहकारीलाई फाइनान्सको रुपमा बुझिरहेका छन् । सहकारीलाई यो फलानो को फाइनान्स, ढिस्कानो फाइनान्स भनेर आफ्नो बचत राख्ने परिपाटी छ । जबकी सदस्य बन्नु पर्छ भन्ने कुरा समेत थाहा छैन र सदस्य बन्न पनि इच्छा राख्दैन बरु व्याजकै प्रलोभनमा दशथरी सहकारीमा पैसा जम्मा गर्छन् । यस किसिमको सहकारीप्रतिको आम बुझाईले गर्दा पनि ठग संचालकले सहकारीबाट ठग्न सफल भइरहेको छ । सहकारीमा सदस्य आफै सचेत नहुँदा र सहकारीको आधारभूत ज्ञानको अभावले सहकारीमा समस्या पटक पटक दोहोरी रहेको छ । यसको दिर्घकालीन सामाधान सहकारी सदस्यसंग नै छ । सहकारी सदस्यहरुको साझा संगठन हो । सदस्य विना सहकारीको कल्पना समेत गर्न सकिन्न । सहकारी संस्था सदस्यबाट नै संचालन हुन्छ । तसर्थ सहकारीका समस्या र समाधानमा सदस्य नै प्रमुख जिम्मेवार छन् । विद्यमान समस्यालाई सदाको अन्त्यको लागि सदस्यले तपसिल जिम्मेबारी बह्न गर्नुपर्दछ ।

१) स्थानीय समुदायिक संस्थामा मात्र शेयर सदस्य बन्नुपर्दछ । जहाँ संचालकहरु चिनेका र बचत सुरक्षित हुनेमा विश्वस्त भई कारोबार गर्न सकिने सुनिश्चिता गर्नुपर्दछ ।
२) सहकारी संस्थामा सदस्य हुदाँ सहकारीको हरेक सेवा सुविधा उपयोग गर्न सक्ने र आफ्नो राय सुझावको पहुँच पुग्न सक्ने हुनुपर्दछ ।
३) सदस्य भईसकेपछि सहकारीका हरेक कार्यक्रम सहभागिता जनाउने र रचनात्मक सुझावहरु दिने ।
४) सहकारीको बार्षिक साधारण सभामा सहभागिता भई प्रतिवेदनहरु अध्ययन गर्ने र रचनात्मक सुझावहरु दिने ।
५) कम्तिमा महिनाको एक पटक संस्थामै गई नियमित बचत गर्ने र संस्थाको गतिविधिहरुको जानकारी राख्ने ।
६) शेयर सदस्यको हैसियतले संस्थाको बृद्धि विकासको लागि सहि संचालक चुन्ने र चुनिने प्रजातान्त्रिक अभ्यासमा सहभागिता हुने ।
७) सहकारीका आधारभुत ज्ञानहरु हासिल गर्न उत्प्रेरित हुने ।
८) सहकारीका गतिविधिहरु नजिकबाट नियाल्ने ।
९) सहकारीमा सामुहिक समस्यालाई प्राथमिता दिई सामाधानका लागि रचनात्मक भुमिका निभाउने ।
१०) संस्थाबाट मात्र सेवा लिने होइन संस्थालाई समस्या पर्दा सदस्यले पनि संस्था जोगाउन, वृद्धि विकास गर्न भुमिका निभाउनुपर्दछ ।

सहकारी पत्रकार
पत्रकारको धर्म नै सत्य तथ्य समाचार आम जनता पु¥याउने हो । जनतालाई सुसुचित गर्ने हो । विकृती र विसंगतीलाई देखाई दिने हो । सहकारीमा देखिएको समस्याहरुलाई राष्ट्रियकरण गर्न र राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्न सहकारी पत्रकारले भुमिका खेलेको छ । सहकारीका समस्यालाई मात्र देखाएर सहकारीको पत्रकार उम्कन पाउनु हुन्न । समस्याको उजागरसँगै समाधानका विकल्पहरु पनि दिनुपर्दछ । समाचारले सहकारीका धेरै विकृतीहरु उजागर भएका छन् । यसले सचेत पनि गराएका छन् । तर न्यूटनको भनाई अनुसार हरेक क्रियाको विपरित प्रतिक्रिया हुन्छ भन्ने जस्तै सहकारीमा विकृती विसंगतीको समाचारको ऋखंलाबद्धताले सहकारीप्रति जनमानसमा विश्वासको संकटको दुरी बढाएको छ । तसर्थ सहकारी पत्रकारले विद्यमान सहकारीको समस्या साधामानमा तपसिल जिम्मेबारी बह्न गर्नुपर्ने देखिन्छ ।
१) सहकारीकाबारेमा आम जनता सुुसुचित हुने लेख रचना निरन्तर प्रकाशित गर्नुपर्ने ।
२) सहकारीको असल अभ्यासहरु प्रचार प्रसार गर्ने ।
३) सहकारीमा विकृतीसंगै कार्वाहीको समाचार समेतको जनतालाई सुसूचित गर्नुपर्ने ।
४) सहकारीको समस्यासंगै सामाधानका लागि भएको प्रयासको पनि प्रचारप्रसार हुनुपर्ने ।
५) सहकारीका ऐन नियम कार्यान्वयनमा सरकार र अभियानलाई सचेत गर्नुपर्ने ।
६) निष्पक्ष सत्य तथ्य समाचारलाई प्रश्य दिनुपर्ने ।
७) स्वार्थमा प्रेरित भई समाचार सम्प्रेशनलाई प्राथमिकरण नगर्ने ।
८) विकृतीलाई उजागर गर्न विना पक्षपात निडर भई समाचार सम्प्रेशन गर्ने ।
९) सहकारीको समग्र विकास प्रवद्र्धन गर्न सकारात्क समाचारलाई जोड दिने ।

निष्कर्ष
सहकारीका समस्या समाधान गर्न ऐन कानुन मात्र बनाएर समाधान हुदैंन । बैंक वित्तीय संस्था भन्दा कडा सहकारी ऐन २०७४ बनेपनि समस्या जहाँको त्यही रहनु यसको ज्वलन्त उदाहरण हो । सहकारीको सफलता सहकारीमा आबद्ध व्यक्तिहरुको आचारण, चरित्र, इमान्दारीता र पारदर्शिताले निर्भर गर्छ । सहकारीमा समस्या ल्याउने सहकारीमै आबद्ध व्यक्तिहरु हुन् । समाधानका उपाय पनि ती व्यक्तिहरुसँग निहित छ । सहकारी सफल भए मैंले गर्दा र समस्या हुँदा भाग्ने प्रवृतीलाई त्याग्नै पर्छ । गल्ती गर्नेलाई सजाय दिनैपर्छ । सहकारीमा मौलाएको दण्डहिनताले गल्ती गर्नेलाई प्रश्रय दिएको छ । यसले राज्यमा अराजकता बढाएको छ । सहकारीमा बारम्बार समस्या देखिनुमा सरकार, सहकारी अभियान, संचालक, सदस्य, कर्मचारी र पत्रकार सबै आफ्नै क्षेत्रबाट जिम्मेबार छन् । तसर्थ सबै पक्षले आआफ्नो जिम्मेबारी निर्बाह गर्ने हो भन्ने सहकारीको समस्या दिर्घकालीन समाधान गर्न सकिन्छ ।

(लेखक भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका ब्यवस्थापक हुन् )        
 



Leave a comment