सरकारको न्यूनतम साझा कार्यक्रम : दिगो आर्थिक विकासका लागि सहकारीलाई प्राथमिकता 

सरकारको न्यूनतम साझा कार्यक्रम : दिगो आर्थिक विकासका लागि सहकारीलाई प्राथमिकता  :: Sahakari Akhabar

काठमाडौं । सरकारले सार्वजनिक गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा सहकारीलाई प्राथमिकता दिएको छ ।कार्यक्रममा दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, औद्योगिक उत्पादन तथा व्यवसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा तरलता सङ्कुचन, उच्च व्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व सङ्कलन, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलगायतका समस्यालाई औद्योगिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढङ्गले कार्यान्वयन गरी अर्थतन्त्रलाई गतिशील बनाउने उल्लेख गरेको छ।

यसका लागि वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बिमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यकता अनुसार नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने उल्लेख गरिएको छ । यसैगरी आर्थिक स्थायित्व कायम गर्न औद्योगिक नीति, सरकारी वित्त नीति, राजस्व नीति र मौद्रिक नीतिबीच तादात्म्यता कायम गर्ने।

सरकार, निजी क्षेत्र, सहकारी तथा सामुदायिक क्षेत्रको सहभागितामा दु्रत विकासको वातावरण सिर्जना गर्ने योजना अघि सारिएको छ । यस्तै स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता, औषधी, सिमेन्टजस्ता वस्तुहरूको उत्पादन र उपयोगलाई प्राथमिकता दिने उल्लेख गर्दै  उत्पादनलाई प्रोत्साहित गर्न सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत् महसुल तथा ऋणमा उपयुक्त व्याज अनुदान दिने सरकारले कार्यक्रम अघि सारेको छ।



Leave a comment