काठमाडौं । विना विभागीय मन्त्री दामोदर भण्डारीले सरकारले पूर्णता पाएको एक महिनाभित्र सहकारीका समस्या सम्बोधन गर्ने प्रतिवद्धता गरेका छन् । राष्ट्रिय सहकारी महासंघले मंगलबार काठमाडौंमा गरेको ‘सवल संघ निर्माणमा अध्यक्षको भूमिका’ विषयक गोष्ठीमा बोल्दै उनले सहकारीलाई अर्थतन्त्रभन्दा बाहिर राख्न नसकिने र यसको सबलीकरण गर्न सरकार तयार रहेको बताए ।
‘सहकारीलाई अर्थतन्त्रभन्दा बाहिर राख्ने कल्पना गर्न सकिँदैन’ मन्त्री भण्डारीले भने, ‘सरकारले पूर्णता पाएको एक महिनाभित्र सहकारीमा समस्याहरुलाई सम्बोधन गछौं ।’ गाउँमा गरिव किसानले गास काटेर गरेको बचतले सहकारी अभियान माथी उठेको उल्लेख गर्दै यसको दुरुपयोग नगर्न चेतावनी समेत दिए ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालययका सचिव डा. दामोदर रेग्मीले सहकारीमा सुधार माथिल्लो तहबाट नै हुनुपर्नेमा जोड दिए । ‘सहकारीको सुधार माथिल्लो तहबाट नै सुरु गर्नुपर्छ’ उनले भने, ‘टाउकोबाट पानी नहाली शरीर सफा हुदैन ।’ सरकारले तय गरेको सुखी नेपाली सम्वृद्ध नेपालको लक्ष्य पुरा गर्नका लागि अर्थतन्त्रका तिनवटै खम्बा सार्वजनिक, निजी र सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।
नेकपा एमालेका सहकारी विभाग प्रमुख तथा पूर्वमन्त्री कमल चौलागाईले सहकारीलाई संविधानमा दिएको हैसियत अनुसारको व्यवहार नभएको बताए । राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले संविधानमा उल्लेख भएअनुसार समाजवादमा पुग्न सहकारी विना असम्भव रहेको उल्लेख गरे ।
कार्यक्रममा महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्मसुहाङ सुब्बाले ‘सदस्य संघ प्रवद्र्धनमा महासंघको भूमिका’ साना किसान लघुवित्त वित्तीय संस्थाका नायम प्रमुख कार्यकारी अधिकृत डा. नवराज सिंखडाले व्यवसायीक संघ निर्माणमा अध्यक्षको भूमिका र सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले ‘संघहरुको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयमा कार्यपत्र प्रस्तुती गरेका थिए ।
Leave a comment