हाइलाइट

सहकारीमा उपल्लो निकायका सिइओ, कसको तलव कति ?

सहकारीमा उपल्लो निकायका सिइओ, कसको तलव कति ? :: Sahakari Akhabar

काठमाडौं । सहकारी अभियानका छाता निकायहरूले प्रमुख कार्यकारीलाई लाखौं तलव भुक्तानी दिन थालेका छन् । सहकारी संघसंस्थाहरूको संख्या र कारोबार रकम बृद्धिसँगै संघ / महासंघको पनि स्ट्रेन्थ बृद्धि भएपछि आकर्षक तलव सुविधा सहित व्यवस्थापनमा दक्ष जनशक्ति राखेर उच्च तलवभत्ता भुक्तानी गर्न थालेका हुन् ।

सहकारी क्षेत्रमा सबैभन्दा आकर्षक तलब सुविधा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बद्रीकुमार गुरागाईको छ । उनलाई बैंकले गत आर्थिक वर्षमा आधारभूत तलब भत्ता वापत मासिक७ लाख ८३ हजार ८५४ रुपैयाँ भुक्तानी दिएको छ । यसबाहेक बैंकले सिइओ पेट्रोल, टेलिफोन, गाडी मर्मत, सञ्चय कोष, औषधि उपचार, चाडपर्व खर्च र बोनस रकम समेत उपलब्ध गराउदै आएको छ।

चाटर्ड एकाउन्टेन्ट समेत रहेका गुरागाई सहकारी बैंकमा नायव महाप्रवन्धको रुपमा सेवा सुरु गरेका थिए । बैंकका प्रवन्ध संचालक केबी उप्रेतीले राजिनामा दिएपछि व्यवस्थापनले उनलाई सिइओको जिम्मेवारी दिएको हो । सहकारी क्षेत्रमा उनको २० वर्ष भन्दा लामो अनुभव रहेको छ ।

१५ हजार १४३ वटा संस्थाहरु सदस्य रहेको बैंकको वासलात ५७ अर्व ८७ करोड ४० लाख रहेको छ । यसैगरी बचत तथा ऋण सहकारीहरुको केन्द्रीय छाता निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले पनि प्रमुख कार्यकारी अधिकृतलाई मासिक १ लाख ८१ हजार ५ सय रुपैयाँ आधारभुत तलव दिदै आएको छ ।

यस्तै मासिक भत्ता ५० हजार र संचय कोषमा १८ हजार १५० रुपैयाँ रहेको संघको वार्षिक प्रतिवेदनमा उल्लेख छ । यसबाहेक संघले सामाजिक सुरक्षा कोष, गाडी मर्मत, औषधी उपचार, चाडपर्व र बोनस रकम समेत नियमन अनुसार उपलब्ध गराएको छ । संघको सिइओमा प्रकाशप्रसाद पोखरेल रहेका छन् ।

नायव प्रमुख कार्यकारी पदबाट नेफ्स्कूनमा प्रवेश गरेका पोखरेल प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले राजिनामा दिएपनि निमित्त सिइओ बनेका थिए । निमित्त सिइओ रहँदै सिइओका लागि भएको खुल्ला प्रतिस्पर्धा असफल भएपछि संचालक समितिले सिधै नियुक्ती दिएको थियो । नेफ्स्कूनको वासलात २२ अर्व ४७ करोड ८२ लाख रुपैयाँ रहेको छ।

यसैगरी सहकारी संघसंस्थाको छाता संगठन राष्ट्रिय सहकारी महासंघकी  महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङगको मासिक पारिश्रमिक ग्रेडसहित७६ हजार ८८७ रुपैयाँ रहेको छ । यसबाहेक प्रोत्साहन तथा अन्य भत्ता मासिक २८ हजार ५०० रुपैयाँ भुक्तानी गरेको महासंघको प्रतिवेदनमा उल्लेख छ।

महासंघमा लेखा सहायक पदबाट प्रवेश गरेकी सुब्बाले तत्कालिन महाप्रवन्धक रामभजन शाह उमेरहदका कारण अवकाश पाएपछि निमित्त जिम्मेवारी पाएकि थिइन् । महासंघले खुल्ला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी नियुक्तीको प्रक्रिया अघि बढाए पनि तत्कालिन अध्यक्ष केशवप्रसाद बडालले उक्त प्रक्रिया स्थगित गरी स्थायी कर्मचारी रहेकी सुब्बालाई महाप्रवन्धकको बनाउन भूमिका खेलेका थिए।



Leave a comment