काठमाडौं । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को बाह्य ऋण ३३० प्रतिशतले बृद्धि भएको छ । संघले तरलता व्यवस्थापनका लागि मुद्दति निक्षेप धितोमा ऋण लिदा बाह्य ऋण उच्च बृद्धि भएको हो ।
संघको ३१ औं वार्षिक साधारणसभामा लेखा सुपरिवेक्षण समितिले पेश गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८÷७९ सम्ममा बाह्य ऋण १ अर्व २६ करोड ९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा संघको बाह्य ऋण ३८ करोड २० लाख रुपैयाँ रहेकोमा ३३०.०८ प्रतिशतले बृद्धि भएको छ ।
बचत तथा ऋण सहकारीहरुको वित्तीय विश्लेषणका लागि प्रयोग हुँदै आएको पल्स मापदण्ड अनुसार संघसंस्थाहरुले कुल सम्पतिको बढिमा ५ प्रतिशत मात्र बाह्य कर्जा लिनुपर्छ । तर, प्रारम्भिक संस्थाहरुले कानुन सिकाउने संघले मापदण्डले तोकेको भन्दा बढि बाह्य ऋण लिइएको पाइएको छ ।
संघको गत आवको वार्षिक प्रतिवेदनमा कुल सम्पतीको ५.२ प्रतिशत बाह्य ऋण उपयोग गरिएको उल्लेख गरिएको छ । संघको कुल सम्पति २२ अर्व ६१ करोड ५५ लाख ४ हजार ५९६ रुपैयाँ रहेकोमा १ अर्व १८ करोड २० लाख रुपैयाँ बाह्य ऋण रहेको उल्लेख गरिएको छ । संघको वार्षिक प्रतिवेदनमा लेखा सुपरिवेक्षण समितिले उल्लेख गरेको भन्दा पल्स मापदण्ड मूल्यांकनमा ८ करोड रुपैयाँ कम बाह्य ऋण देखाइएको छ । लेखा सुपरिवेक्षण समितिले उल्लेख गरेको बाह्य ऋणका आधारमा हेर्दा संघको बाह्य ऋण र सम्पतिको अनुपात ५.५७ प्रतिशत छ ।
संघका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले संघको बाह्य ऋण पल्स मापदण्ड अनुसार नरहेको बताए । प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल भने गत आवमा तरलता व्यवस्थापन गर्दा बाह्य ऋण धेरै लिनुपरेको स्वीकार गर्छन् । ‘गत आवमा तरलता व्यवस्थापनको चापले गर्दा धेरै बाह्य ऋण लिएका हौं’ उनले भने, ‘मुद्दति निक्षेप धितोमा ऋण लिएको र अहिले बाह्य ऋण घटेर ३३ करोड रुपैयाँमा झारिसकेका छौं ।’
संघको वार्षिक प्रतिवेदनमा कुन संस्थाबाट कति ऋण लिएको भन्ने अनुसुची राखिएको छैन । तर, संघले युवा परिषद्बाट ऋण लिएर प्रारम्भिक संस्थाहरुले गरेको लगानी पनि जोखिममा रहेको पाइएको छ । लेखा सुपरिवेक्षण समितिले पनि युवा परिषद्सँगको सहकार्यमा लगानी भएका ऋणहरुको अनुगमन र भाखा नाघेको किस्ताको पर्याप्त जोखिम कोषको व्यवस्थापन नगरेको उल्लेख गरेको छ । ऋण असुलीका लागि विशेष पहल गर्न समेत सुझाव दिएको छ ।
Leave a comment