काठमाडौं । संघिय सहकारी विभागले खारेज गर्ने चेतावनी दिएपछि नेपाल सूचना तथा संचार केन्द्रीय सहकारी संघले साधारणसभा गरेको छ । लामो समयदेखि निश्कृय रहेको संघ खारेजीमा जाने भएपछि सहकारी नेताहरुको सक्रियतामा व्युताइएको हो ।
सूचना तथा संचार सहकारी केन्द्रीय संघ व्युताउनका लागि माओवादी निकट सहकारी नेता रविन्द्र केसी सक्रिय भएका थिए । उनले नै नयाँ कार्यसमितिका लागि सहमति जुटाएर सर्वसम्मत नेतृत्व चयन गर्न भूमिका खेलेको बताइएको छ ।
संघको शनिबार सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । मनकुमारी केसीको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा सरस्वती पोखरेल, महासचिवमा लेखनाथ ढकाल, कोषाध्यक्षमा नवराज छत्कुलीलाई चयन गरेको छ ।
यस्तै सञ्चालकहरुमा सीता वौडेल, भेषराज पाण्डे, मेघराज गौतम, खिमबहादुर कार्की, विजन पोखरेल, राम सुवेदी, आस्था केसी, लेखनाथ सिकारु र लक्ष्मी बोहरा रहेका छन् । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा राजेन्द्र कुमार केसी र सदस्यहरूमा श्याम खड्का र दानबहादुर गुरुङलाई चयन गरेको छ ।
विभागले साउन ३० गते पहिलो पटक सूचना जारी गर्दै सूचना तथा संचारसहितनेपाल विद्युत केन्द्रीय सहकारी संघ, नेपाल केन्द्रीय स्वास्थ्य सहकारी संघ, नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ, नेपाल केन्द्रीय सुपारी सहकारी संघ र केन्द्रीय उखु उत्पादक सहकारी संघलाई कारबाहीको चेतावनी दिएको थियो । सूचनामा ऐनले तोकेअनुसार संघ अद्यावधिक गर्नका लागि १५ दिनको समय दिएपनि हालसम्म विभागले कारवाहीको प्रक्रिया अघि बढाउन सकेको छैन ।
स्रोतका अनुसार संघहरु खारेजी नगर्न नेताहरुले दवाव दिएपछि रजिष्ट्रारले कारवाही अघि बढाउन सकेका छैनन् । विभागको सूचनापछि उपभोक्ता र स्वास्थ्यले मात्र संघ अद्यावधिक गरेका छन् । संचार सहकारी केन्द्रीय संघले लामो समयदेखिसाधारणभा समेत नगर्दा कार्यसमिति नै अवैधानिक भइसकेको थियो ।
तर, विष्णुहरि ढकाल भने केन्द्रीय संघको अध्यक्षको हैसियतमा सहकारीका कार्यक्रममा सहभागिता जनाउदै आएका थिए । पूर्व अर्थमन्त्री जनादर्न शर्माको सचिवालयमा रहेका उनले संघ खारेजी नगर्न रजिष्ट्रारलाई दवाव दिदै आएका थिए ।
संघले ५ वर्षअघि विभागसँग सहकार्य गरी सञ्चार सहकारीहरूको प्रवद्र्धनका कार्यक्रम गरेको थियो ।त्यस्तै गोदावरीमा सकारात्मक सोचसम्बन्धी अनुशिक्षण कार्यक्रम समेत चलाएको थियो । विभागको सहयोगमा संघले संचालन गरेको सहकारीसम्बन्धी समाचारमूलक वेवसाइट समेत बन्द भइसकेको छ ।
देशभर १२० वटा सञ्चार सहकारीदर्ता भए पनि केन्द्रीय संघमा ६५ वटा संस्था मात्र आबद्ध छन् । सहकारीमार्फत ७५ वटा रेडियो, स्थानीय र केबुल टिभी २ वटा, राष्ट्रिय दैनिक पत्रिका एउटा सञ्चालनमा छन् । कतिपय सञ्चार माध्यम सहकारी मोडेलमा स्थापना भए पनि सहकारीको मर्म र भावना अनुसार सञ्चालन हुन नसकेको बताइएको छ ।
Leave a comment