काठमाडौं । काठमाडौंका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) मा चुनावी सरगर्मी सुरु भएको छ । संघको निर्वाचन सहितको साधारणसभाको मिति नजिकिदै जाँदा वर्तमान अध्यक्ष दिपक पनेरु र उपाध्यक्ष नवराज अर्यालले अध्यक्षमा दावी गर्दै आ–आफ्नो टिम बनाउन सक्रिय भएका छन् ।
स्रोतका अनुसार अध्यक्ष पनेरुले दोस्रो कार्यकालका लागि आफ्नो दावी प्रस्तुत गर्दै सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरिरहेका छन् । यस्तै उपाध्यक्ष अर्यालले पनि पनेरु नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को नेतृत्वमा रहेकाले कास्कूनको नेतृत्व आफुले पाउनुपर्ने भन्दै दाबी गरिरहेका छन् ।
वागमती प्रदेशको सहकारी ऐनमा माथिल्लो तहको नेतृत्वमा गएपछि तल्लो तहको पदबाट राजिनामा दिनुपर्ने ब्यवस्था छ । तर, नेफ्स्कूनमा कोषाध्यक्ष रहेका पनेरु भने कानुन विपरितर स्वार्थ बाझिने गरी तल्लो तहको संघमा आएका थिए । उनी नेतृत्वमा आएपछि कास्कुनले सहकारी ऐनको व्यवस्था विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधिन छ ।
स्रोतका अनुसार उपाध्यक्ष अर्याल पनेरुले दावी नछाडे प्यानल नै बनाएर उम्मेदवारी दिने तयारी गरिरहेका छन् । यसका लागि उनले सबै पार्टी निकट सहकारीकर्मीसँग छलफल गरीरहेको र सबैलाई मिलाएर टिम बनाउने गृहकार्यमा छन् ।
यसअघि संचालक समिति चयन हुँदा पनेरु र अर्याल एउटै पार्टी नेकपा एमाले निकट थिए । यतिबेला अर्याल भने एमाले विभाजन बनेको नेकपा एस निकट मानिन्छन् । कास्कुनमा अध्यक्ष सहित १५ सदस्यीय संचालक समिति तथा तीन सदस्यीय लेखा समिति रहने व्यवस्था छ । संघको निर्वाचन सहितको साधारणसभा पुस ३० गते काठमाडौंमा हुँदैछ ।
Leave a comment