सहकारीमा युवाहरुको रुची कम 

सहकारीमा युवाहरुको रुची कम  :: Sahakari Akhabar

काठमाडौं । नेपालमा सहकारीको संख्यात्मक बृद्धि भएपनि युवाहरुको आकर्षण भने कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको वित्तीय साक्षरता सम्बन्धी आधारभुत सर्वेक्षणमा सहकारीमा खाता खोलेर कारोबार गर्ने युवाहरुको संख्या अन्य उमेर समूहको भन्दा कम देखिएको छ । 

सर्वेक्षण प्रतिवेदन अनुसार १८ देखि ३० वर्ष उमेरसमुहका व्यक्तिहरुमध्ये ४३.६१ प्रतिशतले मात्र सहकारीमा बचत गरेको पाइएको छ । जबकी ३१ वर्षदेखि ६० वर्ष उमेरसमूहका ६०.५३ प्रतिशतले सहकारीमा कारोबार गरेका छन् । यस्तै ६० वर्षमाथिका ३३.७५ प्रतिशतले मात्र सहकारीमा कारोबार गर्ने गरेका छन् । 

युवाहरुको सबैभन्दा बढि आकर्षक बैंक, वित्तीय संस्थामै बढि पाईएको छ । १८ देखि ३० वर्ष उमेर समूहका युवाहरुमध्ये ७७.०९ प्रतिशतले बैंकिङ खातामा बचत गरेका छन् । यसैगरी यस उमेर समूहमा सेयर कारोबारको पनि आकर्षण देखिएको छ । २९.४८ प्रतिशत युवाहरुले सेयरमा लगानी गरेको पाइएको प्रतिवेदनले औल्याएको छ । 

सहकारीको विकासका लागि युवा सहभागिता बढाउने विषयमा बहस हुँदै आएपनि ठोस पहल भने हुन सकेको छैन । युवा सहभागिता बढाउनका लागि संघ महासंघ तथा प्रारम्भिक संस्थाहरुले विभिन्न गोष्ठी तथा सम्मेलन गर्दै आएपनि त्यसअनुसारको उपलब्धी भने देखिएको छैन । 

सहकारी अभियानको छाता निकाय राष्ट्रिय सहकारी महासंघले पछिल्लो समयमा हरेक वर्ष युवा सहकारी सम्मेलन समेत गर्दै आएको छ । गत चैतमा सम्पन्न पछिल्लो सम्मेलनले सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता वृद्धिका लागि विद्यमान कानुनहरुको संसोधन र विनियम तथा आन्तरिक कार्यविधिहरुको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहलकदमी गर्ने घोषणा गरेको छ।

यस्तै युवाहरुलाई उद्यमशिलताका लागि प्रेरित गर्न सम्पूर्ण सहकारी संघ संस्थामा युवा समन्वय उपसमिति गठन गरी युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने, युवाहरुको नविनतम सोच र सृजनात्मक क्षमतालाई पूर्ण उपयोग हुने गरी सहकारी संघ संस्थाको पूँजीलाई सहकारी उद्यम विकासमा अधिकतम परिचालन गर्ने लगायतका विषय अघि सारेपनि त्यसलाई कार्यान्वयनका लागि पहल भने हुन सकेको छैन ।



Leave a comment