वागमती प्रोस्कुनको लाभांस विभागको निर्देशन विपरित

वागमती प्रोस्कुनको लाभांस विभागको निर्देशन विपरित :: Sahakari Akhabar

काठमाडौं । संघिय सहकारी विभागको निर्देशन विपरित वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन) ले लाभांस वितरण गरेको पाइएको छ । विभागले गत जेठ १२ गते निर्देशन जारी गर्दै ऋण जोखिम ब्यवस्था नगरेका सहकारी संघ संस्थालाई लाभांस वितरण गर्न रोक लगाए पनि संघले भने गत आर्थिक वर्षसम्मको नाफाबाट १३ प्रतिशत नाफा वितरणको गर्ने प्रस्ताव पारित गरेको छ।

विभागको ३५ बुँदे एकीकृत निर्देशनको बुँदा नं २० मा ‘सहकारी संघसंस्थाको निश्कृय कर्जा कुल ऋणको ५ प्रतिशत भन्दा कम गर्ने, साथै सहकारी संघ संस्था तथा प्रारम्भिक संस्थाले तोकिए बमोजिम असल ऋणमा १ प्रतिशत, १२ महिनासम्म भाका नाघेको ऋणमा ३५ प्रतिशत, १२ महिना भन्दा बढि भाका नाघेको ऋणमा १०० प्रतिशत ऋण हानी ब्यवस्था (लोन लस प्रोभिजन) गर्ने, उल्लेखित व्यवस्था नगरी लाभांस वितरण गरेमा यसरी वितरण गरिएको लाभांस संचालक समिति र ब्यवस्थापकबाट दामासाहीले असुल उपर गरी जगेडा कोषमा जम्मा गर्ने’ उल्लेख छ ।

तर, संघको लेखापरिक्षण प्रतिवेदन अनुसार गत आवसम्ममा ७२ करोड ६२ लाख रुपैयाँ ऋण लगानी गरेपनि जोखिम ब्यवस्था कोषमा २५ लाख रुपैयाँ मात्र छुट्याएको छ। संघले स्थापनाको पहिलो वर्षमै गत आवमा पनि १२ प्रतिशत लाभांंस वितरण गरेको थियो । संघका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहाल थोरै संस्थाहरुको धेरै शेयर लगानी भएकाले लाभांस वितरण गर्नुपर्ने बाध्यता रहेको बताउछन् ।

प्रारम्भिक संस्थाहरुलाई ऐन कानुन कार्यान्वयन र सुशासन सिकाउने जिम्मेवारी लिएको संघ आफैले भने कानुन विपरित कारोबार गरिरहेको छ । प्रोस्कुनले सदस्य संस्थाहरुमा सुशासन कायम गर्ने भन्दै स्तरिकरण कार्यक्रम ‘कोसिस’ संचालन गर्दै आएको छ । कार्यक्रमलाई वागमती प्रदेश सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले समेत स्वीकृती दिएको छ।

संघले गत आर्थिक वर्ष (२०७८ / ०७९) सम्ममा १ अर्व ३१ करोड रुपैयाँ बचत संकलन गरी ७२ करोड ३४ लाख रुपैयाँ ऋण लगानी गरेको छ । तर, संघको कुल लगानीमध्ये ६०.९४ प्रतिशत धितो सुरक्षण बिना नै लगानी गरेको लेखापरिक्षण प्रतिवेदनमा नै औल्याएको छ ।

सुशासन कार्यक्रम संचालन गर्ने अनुमति दिएको संघमा नै कानुन विपरितको गतिविधि हुँदा पनि नियामक निकायले अनभिज्ञता व्यक्त गर्दै आएको छ । संघले हालसम्म साधारणसभा र लेखापरिक्षण प्रतिवेदन नबुझाएकाले कारोबारबारे जानकारी नभएको प्रदेश रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली बताउछन् । तर, ज्ञवाली संघको दोस्रो वार्षिक साधारणसभामा अतिथिका रुपमा सहभागी थिए । 



Leave a comment