सहकारी बैंक निर्वाचन : छुट्टै बैंक खोल्न नसकेपछि पुरानैमा चलखेल 

सहकारी बैंक निर्वाचन : छुट्टै बैंक खोल्न नसकेपछि पुरानैमा चलखेल  :: Sahakari Akhabar

काठमाडौैं । सहकारी ऐन–२०७४ को व्यवस्था अनुसार छुट्टै सहकारी बैंक खोल्न लागेका सहकारीकर्मीहरु राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा सक्रिय भएका छन् । छुट्टै बैंक खोल्न नसकेपछि उनीहरुले राष्ट्रिय सहकारी बैंकमा आफु निकटका व्यक्तिलाई पठाउने गरी सक्रियता बढाएका हुन् ।

बैंकको संचालक समिति सर्वसम्मत गर्ने भन्दै प्रमुख राजनीतिक दलहरु बीच सिट बाँडफाँड गरिएको थियो । जसमध्ये नेकपा एमालेलाई अध्यक्षसहित ८, कांग्रेसलाई ५, माओवादी केन्द्रलाई ४ र एकीकृत समाजवादी एक पद विभाजन गरिएको थियो ।

स्रोतका अनुसार कांग्रेसलाई प्राप्त सिटमा उम्मेदवार छनोट गर्न प्रस्तावित नेपाल सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारी सक्रिय भएपछि विवाद सुरु भएको हो । उनले राष्ट्रिय सहकारी बैंकमा रहेका पुराना संचालकहरुले पार्टीको नीति अनुसार भूमिका खेल्न नसकेको भन्दै नयाँ व्यक्तिलाई पठाउने निर्णय गराएपछि विवाद बढेको छ।

कांग्रेसले सुरुमा उपसभापति पूर्ण बहादुर खड्कालाई उम्मेदवार छनोटको जिम्मेवारी दिएको थियो । खड्काले कांग्रेसको सहकारी विभागका पूर्व संयोजक आनन्द ढुंगानालाई जिम्मेवारी दिए । त्यसपछि ढुंगाना निकट रहेका भण्डारी सक्रिय भएपछि संचालकमा माधव दुवाललाई पठाउने निर्णय गराएका हुन्।

दुलाल नेपाल सहकारी बैंकको संस्थापक संचालक हुन् । उनी गणेशमान सिंह स्वास्थ्य सहकारी संस्थाको प्रतिनिधित्व गर्दै बैंकको संचालक भएका थिए । अहिले राष्ट्रिय सहकारी बैंकको निर्वाचनका लागि भने दुलाल जिल्ला सहकारी संघको प्रतिनिधिका रुपमा उम्मेदवारी दिएका छन् ।

एमालेले पाएको पदमध्ये अध्यक्ष केबी उप्रेती सहित सबैमा सर्वसम्मत भइसकेका छन् । यस्तै कांग्रेसबाट पनि संचालकमा शिवा थापा र तारा गुरुङ र माओवादी केन्द्रबाट पार्वती थापा निर्विरोध चयन भइसकेका छन् ।

निर्वाचन उपसमितिका अनुसार अब कर्णाली प्रदेश संचालक एक जना, खुला सञ्चालक ४ जना, लेखा सुपरिवेक्षण समिति खुला एक जना र लेखा सुपरिवेक्षण समिति महिला एक जनाको लागि मात्र पुस १६ गते निर्वाचन हुदैछ ।

४ जना खुल्ला संचालकमध्ये एक पद माओवादीको र एक नेकपा समाजवादीको भागमा परेको छ । त्यसमध्ये मनोज कुमार थापामगर माओवादीबाट र धुव्रराज विष्ट एकीकृत समाजवादीबाट आधिकारिक उम्मेदवार बनेका छन् । तर, काग्रेसका लागि २ सिट छुट्याइएकोमा माधवलाल देवकोटा र माधव दुलाललाई सिफारीस गरेपछि विवाद बढेको हो।

खुल्ला संचालकमा १६ जनाको उम्मेदवारी रहेकोमा १२ जना उम्मेदवार भने काग्रेस निटकका सहकारीकर्मी रहेका छन् । बैंकमा यसअघि संचालक रहेका केदार मानन्धर तथा ध्रुव नारायण यादवका साथै स्वयम्भुनाथ विष्ट, निरञ्जन सुवेदी , राजेन्द्र प्रसाद रिजाल, भरत प्रसाद दवाडी, टिकाराम चालिसे, नवराज न्यौपाने, मनोज भण्डारी, हरी बहादुर खड्का र माधव दुलाल काग्रेस निकट हुन् ।

यस्तै संचालकका उम्मेदवार डा. जीवन कुमार श्रेष्ठ माओवादी र वावुराम घिमिरे समाजवादी निकट हुन् । त्यस्तै पार्टीगत भागवण्डामा माओवादी केन्द्रले पाएको कर्णाली प्रदेश संचालकमा कांग्रेसले पनि उम्मेदवारी दिएको छ । कर्णाली प्रदेशमा माओवादी निकट काली बहादुर महतारालाई उम्मेदवार तोकेपनि काग्रेस निकट विशाल केसीले पनि उम्मेदवारी दिएपछि निर्वाचन हुन लागेको हो।

कर्णालीबाटै उम्मेदवारी दिएका हरिहरनाथ योगीले भने उम्मेदवारी फिर्ता लिएका छन् । बैंकका वर्तमान संचालक रहेका उनी एमाले निकट हुन् । त्यसैगरी माओवादीको कोटामा परेको लेखा समिति सदस्यमा पनि काग्रेसको उम्मेदवारी छ ।

महिला कोटामा सुरुमा तीन जनाको उम्मेदवारी परेपनि दुई जनाबिच मात्र निर्वाचन हुने भएको छ । अमरावती वलामी महर्जनले उम्मेदवारी फिर्ता गरेपछि कृष्णा कुमारी बंशी र चन्द्र कुमारी पराजुली निर्वाचनको मैदानमा छन् । बंशी काग्रेस निकट र पराजुली माओवादी निकट मानिन्छन् ।

यस्तै खुल्ला लेखा समिति सदस्यबाट दिपक प्रकाश आचार्यले उम्मेदवारी फिर्ता लिएपछि भवानी प्रसाद दंगाल, केशव प्रसाद सापकोटा, महेश कुमार आचार्य, गणेश बहादुर चन्दबीच भिडन्त हुने भएको छ । लेखा सुपरिवेक्षण समिति खुलामा नेपाली कांग्रेसले पाउनेगरी सहमती भएको थियो । उक्त सहमती अनुसार कांग्रेसबाट गणेश बहादुर चन्द आधारिक उम्मेदवार बनेपनि माओवादीका दंगाल र काग्रेसकै सापकोटा र आचार्यले उम्मेदवारी दिएका छन् ।



Leave a comment