काठमाडौैं । राष्ट्रिय सहकारी बैंकको संचालक समिति चयनका लागि २४ जनाबीच निर्वाचन हुने भएको छ । निर्वाचन उपसमितिले उम्मेदवारी फिर्ताका लागि दिएको विहिबार दिनभर पनि सहमति हुन नसकेका विभिन्न ७ वटा पदका लागि मतदान हुने निर्वाचन उपसमितिले जनाएको छ ।
उपसमितिले प्रकाशित गरेको सूचना अनुसार कर्णाली प्रदेश संचालकमा काली बहादुर महतारा र विशाल केसीबिच निर्वाचन हुने भएको छ । कर्णालीबाटै उम्मेदवारी दिएका हरिहरनाथ योगीले फिर्ता लिएपछि महतारा र केसीबिच निर्वाचन हुन लागेको हो ।
यस्तै ४ जना खुल्ला संचालकका लागि सबैभन्दा बढि १६ जनाको भिडन्त हुदैछ । बुधबार ३३ जनाले उम्मेदवारी दिएपनि २ जनाको खारेजी र १५ जनाले फिर्ता लिएका छन् । अब खुल्ला संचालकमा डा. जीवन कुमार श्रेष्ठ, ध्रुव नारायण यादव, केदार मानन्धर, माधवलाल देवकोटा, धुव्रराज विष्ट, मनोज कुमार थापामगर, स्वयम्भुनाथ विष्ट, वावुराम घिमिरे, निरञ्जन अधिकारी, राजेन्द्र प्रसाद रिमाल, भरत प्रसाद दवाडी, टिकाराम न्यौपाने, नवराज चालिसे, नवराज न्यौपाने, मनोज भण्डारी, हरी बहादुर खड्का र माधव दुलालबीच निर्वाचन हुनेछ।
त्यसैगरी लेखा समिति सदस्यको दुई पदमध्ये महिला कोटामा तीन जनाको उम्मेदवारी परेपनि दुई जनाबिच मात्र निर्वाचन हुने भएको छ । अमरावती वलामी महर्जनले उम्मेदवारी फिर्ता गरेपछि कृष्णा कुमारी बंशी र चन्द्र कुमारी पराजुली निर्वाचनको मैदानमा छन् । यस्तै खुल्ला लेखा समिति सदस्यबाट दिपक प्रकाश आचार्यले उम्मेदवारी फिर्ता लिएपछि भवानी प्रसाद दंगाल, केशव प्रसाद सापकोटा, महेश कुमार आचार्य, गणेश बहादुर चन्दबीच भिडन्त हुने भएको छ ।
बैंकको पुस १६ गते हुने १९ औं वार्षिक साधारण सभाले अध्यक्ष सहित १५ जना संचालक र संयोजक सहित तीन जनाको लेखा समिति चयन गर्नेछ । सचालकमध्ये प्रदेश संचालकमा २ जना महिला र खुल्ला संचालकमा तीन जना महिला आरक्षण गरिएको छ । यस्तै लेखा समितिमा पनि एक महिलाको आरक्षण गरिएको छ ।
निर्वाचन उपसमितिले पुस ५ गतेदेखि १८ गतेसम्म निर्वाचनको समय तालिका प्रकाशित गरेको थियो । जसअनुसार पुस ५ गते मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारी पत्र वितरण गर्ने जस्ता कार्यक्रम रहेका छन्, पुस ६ गते उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूचीउपरको दाबी–विरोध, दरखास्त, दाबी–विरोधको छानबिन र उम्मेदवारी उपर परेको उजुरीको निर्णय (नामावली प्रकाशन) गर्ने रहेको छ, पुस ७ गते उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारी सूची प्रकाशन गरिसकेको छ।
अब पुस १६ गते सातै प्रदेशमा हुने इकाइ सभामा मतदान हुनेछ । विहान ११ः ३० बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ । त्यसपछि साँझ ५ बजे देखी मतपेटिका संकलन र मतगणना गर्ने, पुस १७ गते बिहान १० बजे निर्वाचन उपसमितिको बैठक बस्ने, पुस १८ गते बिहान ११ बजे निर्वाचन परिणामको घोषणा गर्ने र दिउँसो १ बजे निर्वाचित अध्यक्ष तथा सञ्चालक सदस्यहरूको शपथ ग्रहण तथा प्रमाण–पत्र वितरण गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
बैंकले २०७९ मंसिर ९ सम्म आवद्ध भएका शेयर सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था गरेको छ । मतदाताको नामवाली अनुसार प्रदेश १ बाट २ हजार ५५२ सदस्य, मधेश प्रदेशबाट २ हजार ३९ सदस्य, बागमती प्रदेशबाट ६ हजार ५०७ सदस्य, गण्डकी प्रदेशबाट १ हजार ५३५ सदस्य, लुम्बिनी प्रदेशबाट १ हजार ८४१ सदस्य, कर्णाली प्रदेशबाट ७४८ सदस्य र सुदूर पश्चिम प्रदेशबाट ५०४ सदस्य गरी जम्मा १५ हजार ७२६ सदस्यहरुले मतदान गर्न पाउने छन् ।
Leave a comment