काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा अध्यक्षकेबी उप्रेती सहित ११ जना सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिले बुधबार लेखा संयोजकसहित तीन जनाको उम्मेदवारी खारेजी गर्नुका साथै विहिबार ३२ जनाले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष, लेखा संयोजक र ९ जना संचालकहरु सर्वसम्मत भएका हुन् ।
बुधबार अध्यक्षमा उप्रेती तथा मधेश प्रदेशको संचालकमा विश्वनाथ मण्डल र गण्डकी प्रदेशको संचालकमा रामबहादुर जिसीको मात्र उम्मेदवारी परेपछि उनीहरु सर्वसम्मत भएका थिए । यसैगरी बागमती प्रदेशबाट उम्मेदवारी दिएकामध्ये झनकराज ढुंगेल, सुशिलादेवी उप्रेती, रामहरी शर्मा तिमल्सिना र ध्रुवप्रसाद खनालले फिर्ता लिएपछि रामहरी बजगाई सर्वसम्मत भएका छन् ।
महिलाका लागि छुट्याइएको प्रदेशमध्ये लुम्विनीबाट बिजया धिताल र सुदुरपश्चिम प्रदेशबाट शिवा थापा पनि सर्वसम्मत भए । लुम्विनीबाट उम्मेदवारी दिएकी इन्दिरा सुवेदी र सुदुरपश्चिमबाट दिप्ती शाहीले फिर्ता लिएपछिदुवै प्रदेश संचालकमा सर्वसम्मत भएको हो ।
यस्तै प्रदेश नं १ बाट संचालकका लागि महेन्द्र गिरी र कृष्ण दाहालको उम्मेदवारी परेपनि विहिबार दाहालले उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत भएकोछन् । यसैगरी खुल्ला संचालकबाट महिलाका लागि छुट्याइएको तीन जनामा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा सर्वसम्मत भएका छन् ।
तीन वटा पदका लागि ७ जनाको उम्मेदवारी परेकोमा जालीमाया मगर, पार्वती कुमारी गुरुङ, तारादेवी पराजुली, गिता सिग्देल गरी ४ जनाले फिर्ता गरेपछि सर्वसम्मत भएको हो । यस्तै बैंकको निर्वाचन कार्यविधि अनुसार शैक्षिक योग्यता र अनुभव नपुगेको भन्दै लेखा संयोजकका उम्मेदवार राजु पुरीको उम्मेदवारी खारेज भएपछि अर्का उम्मेदवार लक्ष्मीप्रसाद उप्रेती निर्विरोध भएका हुन् ।
निर्वाचन उपसमितिले विहिबार बेलुकी ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय दिएको थियो । अब सर्वसम्मत हुन नसकेका ४ जना खुल्ला सदस्य, एक जना प्रदेश संचालक एक जना खुल्ला लेखा सदस्य तथा एक जना महिला लेखा सदस्यका गरी कुल ७ पदका लागि निर्वाचन हुने समितिले जनाएको छ ।
पुस १६ गते सातै प्रदेशमा हुने इकाइ सभामा ११ः ३० बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ । त्यहि दिन साँझ ५ बजे देखी मतपेटिका संकलन र मतगणना गर्ने, पुस १७ गते बिहान १० बजे निर्वाचन उपसमितिको बैठक बस्ने, पुस १८ गते बिहान ११ बजे निर्वाचन परिणामको घोषणा गर्ने र दिउँसो १ बजे निर्वाचित अध्यक्ष तथा सञ्चालक सदस्यहरूको शपथ ग्रहण तथा प्रमाण–पत्र वितरण गर्ने कार्यतालिका निर्वाचन समितिले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
Leave a comment