सहकारी बैंक चुनाव : लुम्विनी प्रदेशको संचालकमा बिजया धिताल, उम्मेदवारी फिर्ता लिन समय थप

सहकारी बैंक चुनाव : लुम्विनी प्रदेशको संचालकमा बिजया धिताल, उम्मेदवारी फिर्ता लिन समय थप :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको लुम्विनी प्रदेशको संचालकमा बिजया धिताल सर्वसम्मत भएकी छन् । लुम्विनी प्रदेशबाट संचालकका लागि बुधबार धिताल र इन्दिरा सुवेदीकोे उम्मेदवारी परेपनि विहिबार सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि धिताल सर्वसम्मत भएको निर्वाचन उपसमितिका सदस्य रामशरण शर्मा घिमिरेले जानकारी दिए ।

यसअघि अध्यक्षमा केबी उप्रेती तथा गण्डकी प्रदेश संचालकमा राम बहादुर जिसी, प्रदेश १मा महेन्द्र गिरी र मधेश प्रदेश संचालकमा विश्वनाथ मण्डलको मात्रै उमेदवारी परेपछि निर्विरोध भइसकेका छन् । यस्तै योग्यता नपुगेको भन्दै लेखा समिति संयोजक राजु पुरीको उम्मेदवारी खारेज भएपछि लक्ष्मीप्रसाद उप्रेती पनि निर्विरोध बनेका छन् ।

अब प्रदेश संचालकमध्ये बागमतीमा ५ जना र कर्णालीमा ३ जनाको उमेदवारी छ । महिलाका लागि छुट्याइएको सुदुरपञ्चिम प्रदेश संचालकमा पनि २ जनाको उमेदवारी रहेको छ। यसैगरी खुल्ला सदस्यमध्ये ४ जनाको लागि ३३ जनाको उम्मेदवारी परेकोमा युगेश पौडेलको खारेज भएसँगै ३२ जना बाँकी छन् ।

महिला खुल्ला ३ पदका लागि ७ जनाको उमेदवारी रहेकोमा विमला शाहाको पनि खारेज भएपछि ६ जना बाँकी रहेका छन् । यस्तै लेखा समिति सदस्यमा ५ जना र महिला सदस्यमा ३ जनाको उमेदवारी छ । निर्वाचन उपसमितिले उम्मेदवारी फिर्ता लिनका लागि विहिबार ५ बजेसम्म समय दिएको थियो । सहमतीको प्रयास भैरहेकोले उम्मेदवारी फिर्ता गर्न बेलुकी छ बजेसम्मकालागि समय थप गरिएको स्रोतले जनाएको छ।

बैंकको १९ औं वार्षिक साधारणसभा पुस १६ गते हुदैछ । सात वटै प्रदेशमा हुन लागेको वार्षिक साधारणसभामार्फत नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने कार्यक्रम अन्तरगत पुस ६ गतेका लागि उमेदवारी दर्ताको समय तोकिएको थियो ।



Leave a comment