काठमाडौं । तरलता अभावलगायतको समस्याले गर्दा सहकारी संस्थाहरुले सदस्यहरुको माग अनुसार बचत फिर्ता गर्न समेत नसकी समस्यामा पर्न थालेपछि कर्मचारीको संख्या पनि घट्न थालेको छ । व्यवसाय घट्दै गएपछि एकातर्फ संस्थाहरुले खर्च कम गर्नका कर्मचारीको संख्या घटाउन थालेका छन् भने अर्कोतर्फ कर्मचारीहरुले पनि स्वस्फूर्त जागीर छोड्न थालेपछि सहकारीमा कर्मचारीको संख्या घट्न थालेको हो ।
नेपाल राष्ट्र बैंकले गरेको एक अध्यनमा वागमती प्रदेशका सहकारी संस्थाहरुमा कर्मचारीको संख्या घटेको पाइएको छ । अघिल्लो वर्षको तुलनामा सहकारी संस्थाहरुमा कर्मचारी संख्या ४.३७ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ।
बैंक तथा वित्तीय संस्था हुँदै सहकारी क्षेत्रमा पनि गत आर्थिक वर्षको सुरुदेखि तरलता अभाव हुन थालेको थियो । चालु आवको लागेपछि भनेबैंक तथा वित्तीय संस्थाको अवस्था केहि सहज भएपनिसहकारी संस्थाहरु भने अझै दवावमा छन् ।
तरलता अभावले केहि सहकारी संस्थाहरुले बचत फिर्ता दिन नसकेका समाचार सार्वजनिक हुन थालेपछि त्यसको प्रभाव समग्र सहकारीमा परेको संचालकहरुको बुझाइ छ । समस्याग्रस्त भएका संस्थाको समाचारलेसर्वसाधारणमा सहकारीप्रति नै अविश्वास सिर्जना भएको र यसबाट बचत गर्ने भन्दा झिक्नेहरुको चाप बढि भएको उनीहरु बताउछन् ।
तरलता संकटले व्यवसाय प्रभावित भएपछि संस्थाहरुले कर्मचारी घटाउने नीति लिएका छन् । ‘सहकारीमा पैसा राख्यो भने असुरक्षित हुन्छ भन्ने सन्देश बजारमा फैलिएको छ’ एक सहकारीका संचालकले भने, ‘जसका कारण दैनिक बचत संकलन नै हुन छोडेपछि कर्मचारीकटौती गरिरहेका छौं ।’
काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा सहकारीहरुले घरघरमा कर्मचारी पठाएर दैनिक बचत संकलन गर्दै आएका छन् । तर, दैनिक बचत संकलन घटेपछि सहकारीहरुले घर घरमा पठाउने बजार प्रतिनिधिको संख्या नै घटाउन थालेका हुन् ।
पछिल्लो समय सहकारीका कर्मचारीहरु भन्दा संचालकहरु नै बचत संकलन तथा ऋण असुलीमा सक्रिय हुने गरेका छन् । कर्मचारीले भन्दा संचालकहरुले सदस्यलाई विश्वासमा लिन सजिलो हुने उनीहरुको अनुभव छ।
सदस्यहरुलाई फकाउनका लागि केहि सहकारीहरुले सदस्य शिक्षाका कार्यक्रमहरु समेत संचालन गर्न थालेका छन् । सदस्यशिक्षाको नाममा ठूला बचतकर्तालाई बोलाएर फकाउने र विश्वासमा लिने प्रयास गरिरहेको छन् ।
यसैगरी संकटका कारण स्वस्फूर्त रुपमा सहकारीको जागीर छोड्नेको संख्या पनि अत्याधिक छ । एकातिर संस्थाले समयमा तलव दिन नसक्ने र अर्कातर्फ निक्षेप संकलनको दवाव दिन थालेपछि जागीर छोड्न बाध्य भएको एक सहकारी संस्थाका पूर्व कर्मचारीले बताए । ‘निक्षेप खोज्नुप¥र्यो भनेर दवाव छ, यस्तो बेला जोखिम मोलेर कहाँबाट पैसा ल्याउनु’ उनले भने, ‘बरु जागीर छाड्नु नै उपयुक्त लागेर राजिनामा दिएको छु।’
सहकारीका बजार प्रतिनिधिहरुले आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा बचत ल्याउने भएकाले संस्था समस्या परी फिर्ता गर्न नसक्दा कर्मचारीहरुलाई समेत जोखिम बढिरहेको छ । जसको कारण पनि कर्मचारीहरु सहकारीमा काम गर्न उत्साहित नभएको उनीहरुको भनाइ छ।
Leave a comment