काठमाडौं । राष्ट्रिय सहकारी बैंकले महिला संचालकका लागि लुम्बिनी र सुदुरपश्चिम प्रदेश छुट्याएको छ । पुस २ गते बसेको बैंक संचालक समितिको बैठकले महिला संचालकका लागि क्षेत्र निर्धारण गरेको हो ।
निर्वाचन समितिले आईतबार सूचना प्रकाशित गर्दै महिला संचालकको आरक्षणबारे जानकारी दिएको छ । बैंकको विनियमावली अनुसार संचालक समितिमा ३३ प्रतिशत महिला आरक्षण तोकिएको छ । निर्वाचन कार्यविधि अनुसार महिलाका लागि प्रदेश क्षेत्र निर्धारण गर्ने अधिकार संचालक समितिमा रहेको छ ।
बैंकको पुस १६ गते हुने १९ औं वार्षिक साधारण सभाले अध्यक्ष सहित १५ जना संचालक र संयोजक सहित तीन जनाको लेखा समिति चयन गर्नेछ । संचालकमध्ये प्रदेश संचालकमा २ जना महिला र खुल्ला संचालकमा तीन महिला आरक्षण गरिएको छ । यस्तै लेखा समितिमा पनि एक महिला अनिवार्य छ ।
उपसमितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ५ गतेदेखि १८ गतेसम्म निर्वाचनको समय तोकिएको छ । पुस ५ गते मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारी पत्र वितरण गर्ने जस्ता कार्यक्रम रहेका छन्, पुस ६ गते उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूचीउपरको दाबी–विरोध, दरखास्त, दाबी–विरोधको छानबिन र उम्मेदवारी उपर परेको उजुरीको निर्णय (नामावली प्रकाशन) गर्ने रहेको छ, पुस ७ गते उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारी सूची प्रकाशन र पुस १६ गते सातै प्रदेशमा हुने इकाइ सभामा ११ः ३० बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ ।
त्यसै गरी साँझ ५ बजे देखी मतपेटिका संकलन र मतगणना गर्ने, पुस १७ गते बिहान १० बजे निर्वाचन उपसमितिको बैठक बस्ने, पुस १८ गते बिहान ११ बजे निर्वाचन परिणामको घोषणा गर्ने र दिउँसो १ बजे निर्वाचित अध्यक्ष तथा सञ्चालक सदस्यहरूको शपथ ग्रहण तथा प्रमाण–पत्र वितरण गर्ने कार्यतालिका बनाइएको छ ।
उपत्यकाको हकमा केन्द्रिय कार्यालय र उपत्यका बाहिरको हकमा सम्पूर्ण शाखामार्फत एक जना प्रस्तावक र एकजना समर्थकको सिफारिस सहित उम्मेदवारी दिन सकिने व्यवस्था मिलाइएको छ । अध्यक्ष र लेखा संयोजकका लागि १० हजार रुपैयाँ र संचालक र लेखा सदस्यका लागि ५ हजार उम्मेदवारी दस्तुर तोकिएको छ ।
Leave a comment