आफुलाई ठूलो ठान्ने सहकारीहरु नै समस्यामा : बडाल

आफुलाई ठूलो ठान्ने सहकारीहरु नै समस्यामा : बडाल :: Sahakari Akhabar

चीना थापा, विराटनगर । राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद वडालले आफुलाई ठुलो ठान्ने सहकारीहरु नै समस्यामा परेको बताएका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको २९ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले नियमसंगत सञ्चालन भएका सहकारीमा कुनै पनि समस्या नआएको दावी गरे । 

बडालले सहकारीका संचालकहरु सदस्यको सम्पति संरक्षण गर्ने गोठालो मात्र रहेको बताए संचालकले शेयर सदस्यको पैसा सबै मेरो हो भन्ने नसोची म उनीहरुको गोठालो हो भन्ने कुरा मात्र बुझ्नुपर्ने उल्लेख गरे । 

सरकारले सहकारीको स्वायत्ततालाई स्वीकार नगरेको र बेला बेलामा आक्रमण गरिरहेको बडालले बताए । अहिले स्थानीय तहहरुमा पनि सहकारीको स पनि नबुझेका कर्मचारीहरु भएका कारण पनि सहकारीको क्षेत्रमा काम हुन नसकेको उनको भनाइ थियो । 

कार्यक्रममा नेफ्स्कूनका पूर्व महासचिव तथा मोरङ क्षेत्र नं. १ का पूर्व संघिय सासंद घनश्याम खतिवडाले सहकारी अभियानले धेरै उपलब्धि हासिल गरेको बताए । २०५१ सालमा लेटाङका ११ वटा सहकारी मिलेर सञ्चालनमा ल्याएको बचत संघ अहिले करोडौंको कारोबार गर्ने र आफ्नै भवनमा कार्यक्रम गर्न सक्ने हुनुले आफुलाई गर्व लागेको बताए । 

सहकारी अभियानलाई समस्या परेको बेला आफुले सहयोग गरेको बताउँदै खतिवडाले आफु सासंद हुँदा पनि सहकारी समितिको नै संयोजक भएर काम गर्नुका साथै संसदमा पनि सहकारीका मुद्धालाई नै प्राथमिकताका साथ बोलेको बताए । 

त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका सल्लाहाकार  केशवप्रसाद निरौलाले सहकारी अभियान टुहुरो भएको बताए । राज्यले सहकारीलाई हेला गरेको उनको भनाई थियो । संविधानमा नै सहकारीलाई अर्थतन्त्रको तीनखम्मे अर्थनितिमा समावेश गर्ने राजनीतिक दलहरुलाई सम्झाईरहेको भएपनि सुनुवाई नभएको उनको भनाई छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले सहकाहरु प्रकृति अनुसार उत्पादन क्षेत्रमा लाग्नुपर्ने बताए । 



Leave a comment