चार महिनामा भित्रियो पौने ४ खर्ब रेमिट्यान्स

चार महिनामा भित्रियो पौने ४ खर्ब रेमिट्यान्स :: Sahakari Akhabar

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक) मा पौने ४ अर्व रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदन अनुसार कात्तिमा रेमिट्यान्स २०.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको कात्तिकमा रेमिट्यान्स ७.० प्रतिशतले घटेको थियो ।

यस्तै कात्तिकमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि नेपालीहरुको संख्या बृद्धि र औपचारिक च्यानलबाट रेमिट्यान्स भित्र्याउन सरकारले गरेको पहलले सकारात्मक प्रभाव पारेको हो । 

रेमिट्यान्स बृद्धिसँगै वित्तीय क्षेत्रमा तरलताको अवस्था पनि सहज बन्ने अपेक्षा गरिएको छ । रेमिट्यान्समा भएको सुधारका कारण पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढिरहेको छ । बैंकहरुको अवस्था सहज बन्दै गएपछि सहकारीमा पनि सुधार हुने सहकारीकर्मीको अपेक्षा छ । 

कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४६ अर्ब ७४ करोड (०.९ प्रतिशत) रुपैयाँले बढेको छ । यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६८ अर्ब ५५ करोड (१.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३६४ अर्ब ६२ करोड (८.९ प्रतिशत) ले बढेको राष्ट्र बैंकले जनाएको छ । 



Leave a comment