चीना थापा, विराटनगर ।ऋण लिनका लागि सहकारीमा संस्थामा धितो राखेको जग्गा अर्कैको नाममा पास भएको थाहा पाएपछि पिडित न्यायको लागि हारगुहार गरिरहेका छन् । सिटी सफारी चलाएर ९ जनाकोे गुजारा चलाउँदै आएका विराटनगर–१२ रानी सिंचाइका ६४ वर्षीय लखनलाल मण्डल धानुक आफ्नो झण्डै एक करोड पर्ने १७ धुर जग्गा थाहै नपाइ अर्कै व्यक्तिको नाममा पास भएको भन्दै न्यायको खोजीमा सरकारी निकाय धाइरहेका छन् ।
मण्डलले २०६८ सालमा विराटनगर–१२ मा रहेको साविकको न्यू जनता बचत तथा ऋण सहकारी र हालको नेपाल सहकारी संस्थामा ६८ हजार रुपैयाँ कर्जा लिए । उक्त कर्जा लिनका लागि विराटनगर ११ (क) किता नम्बर ५४५ रहेको १७ धुर जग्गा धितो राखे । तर, उनलाई झुक्याएर उक्त जग्गा विराटनगर–१३ घर भएकी ३७ वर्षीया सिर्जना खातीको नाममा २०७६ माघ १९ गते पास भएको पाइएको छ ।
मण्डलाई त्यसबेला सहकारीका प्रबन्धक रहेका राजु शर्मा घतानीले ऋण मिलाइदिएका थिए । मण्डल पेटको बिरामी भएपछि ब्याजमा राजु आबद्ध भएको सहकारीमा जग्गा धितो राखेर ऋण लिएका थिए । ६८ हजारको सावाँ र ब्याज गरी मण्डलले विभिन्न मितिमा ६ लाख रुपैयाँ बुझाएका छन् ।
तर, मण्डलले बुझाएको पैसा राजुले सहकारीमा जम्मा गरिदिएनन् । लेखपढ नगरेका मण्डलले विश्वास गरेर राजुलाई बुझाएको पैसाको भौचर पनि नलिएको बताए । मण्डलको घरदेखि राजुको घर तीन सय मिटर दक्षिणमा पर्दछ । उनीहरूको घरमा आवत–जावत नियमित जस्तै हुने गथ्र्यो । मण्डलको जेठा छोराको नाम पनि राजु हो । त्यसैले राजुले मण्डललाई मितबाबु भन्ने गरेका थिए । आफ्नो विश्वासमा परेका मण्डलको नाममा रहेको जग्गा उनलाई थाहै नदिई राजुले आफ्नी श्रीमती सिर्जना खातीको नाममा पास गरेका हुन् । विराटनगर–१२ स्थित मण्डलको जग्गा भएको ठाउँमा हाल प्रतिधुर ६ लाखको दरले किनबेच हुने गरेको छ ।
‘ऋण लिएको पैसा बुझाएपछि २०७६ माघ १९ गते राजुले जग्गा मेरो नाममा पास गरिदिने भनेर विराटनगर मालपोत कार्यालय लिएर गयो । उसले जे–जे भन्यो, त्यही अनुसार मैले सही र ल्याप्चे पनि लगाइदिएँ । मलाई लेखपढ गर्न आउँदैन । त्यसैको फाइदा उठाउँदै राजुले आफ्नो श्रीमतीको नाममा जग्गा पास गरिदिएछ’–मण्डलले सुनाए । जालझेल गर्न चतुर राजुले आफ्नो श्रीमतीको नाममा जग्गा पास गरेकै दिन २८ लाख रुपैयाँमा १७ धुर जग्गा किनेको देखाउन मण्डलको नाममा नबिल बैङ्कमा खाता खोलिदिएको खुलेको छ । सन् २०२० फेबु्रअरी ३ तारिखमा लखनलाल मण्डलको नाममा नबिल बैङ्कमा खाता खोलेको देखिएको हो । उक्त खाता खोलेको दिन जग्गा किनेको देखाउन सिर्जना खातीले २८ लाख रुपैयाँ जम्मा गरेकी छन् ।
रकम जम्मा गरिएको दिन आरती चौधरीको नाममा ७ लाख, ६ लाख र ७१ हजार ५ सय रुपैयाँ चेक काटेर झिकेको बैंक स्टेटमेन्टमा देखिन्छ । खाता खोलेको दिन १३ लाख ७१ हजार ५ सय रुपैयाँ झिकेका छन् । खाता खोलेको दोस्रो दिन २०२० फेब्रुअरी ४ तारिख लखनलाल मण्डलका नाममा ७ लाखको चेक बेन्जु ताम्राकारले भजाएको देखिएको छ । सोही दिन अर्को ७ लाखको चेक लखनलाल मण्डलकै नाममा काटेर पिन्टुकुमार ठाकुरको नाममा साटेको बैंक स्टेटमेन्टमा देखिन्छ ।
अहिले मण्डलको खातामा १७ हजार २ सय ४८ रुपैयाँ मौज्दात देखिन्छ । पैसा झिक्नेहरू सिर्जना र राजु आबद्ध भएका सहकारीका कर्मचारीहरू हुन् । उनीहरूले बयानको क्रममा उक्त रकम राजु र सिर्जनाले चेक काटेर दिएको बताएका छन् ।
‘जग्गा आफ्नो नाममा आउने भनेपछि राजु र सिर्जनाले भनेअनुसार बैंकमा गयौं । त्यहाँ पनि मालपोतमा जसरी कागजपत्रमा सही गर्न लगाए । उनीहरूले भनेअनुसार गर्दै गएँ । अहिले आएर बल्ल थाहा पाएँ कि २८ लाखमा जग्गा बेचेको भनेर’ भावविह्वल हुँदै मण्डलले भने, ‘मैले २८ लाख देख्नै पाएको छैन । कहाँबाट मैले दुःख गरेर आर्जेको जग्गा बेच्छु । जग्गाको नाममा तेही एक टुक्रा छ । जस्तापाताको छानो हालेर तेही जग्गामा हामी ९ जनाको परिवार ओत लागेर बसेका छौं । त्यो जग्गा बेचेर हामी कहाँ बस्नु ?’ जालजेल गरेर मण्डलको नामको जग्गा आफ्नो श्रीमतीको नाममा पास गरेको दुई वर्षपछि राजुको २०७८ पुसमा मृत्यु भएको छ ।
न्यायको लागि हारगुहार
जालझेल गरेर आफ्नो नाममा भएको जग्गा अर्कै व्यक्तिको नाममा परेपछि लखनलाल मण्डल न्यायको लागि हारगुहार गरिरहेका छन् । मण्डल आफ्नो नाममा जग्गा फिर्ता ल्याउन दैनिकजसो विराटनगर महानगरपालिकाको न्यायिक इजलासमा पुग्ने गरेका छन् । उनले जालझेल गरेर आफूले धितो राखेको जग्गा आफ्नो नाममा ल्याउने सिर्जना खाती र विराटनगर–१२ मा रहेको नेपाल सहकारी संस्थाको तर्फबाट अख्तियारप्राप्त संस्थाका सचिव ४० वर्षीय निर्मलकुमार दाहाललाई प्रतिवादी बनाएर न्यायिक समितिमा निवेदन दिएका छन् ।
‘जालझेल गरेर मजस्तो लेखपढ गर्न नजान्ने मान्छेलाई फसाए । ९ जनाको परिवार छ । यो जग्गा जसरी पनि फिर्ता ल्याउन पहल गरिदिनुहोस्’– मङ्गलबार दिउँसो न्यायिक इजलासमा गहभरि आँसु झार्दै कानून व्यवसायी र सञ्चारकर्मीसँग मण्डलले भने ।
ठगीमा मुद्दा चलाउन प्रहरीमा सिफारिस
विराटनगर महानगरपालिकाको न्यायिक समितिले लखनलाल मण्डल ठगीमा परेकाले मोरङ प्रहरीलाई काम कारबाही अगाडि बढाउन पत्राचार गरेको छ । न्यायिक समितिकी प्रमुख विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, सदस्यहरू रूपा पाण्डे देउवा र तिथेन्द्र न्यौपानेको इजलासले सोमबार यस्तो आदेश गरेको हो ।
‘यसरी विपक्षी सिर्जना खातीसमेतले आफ्नो पति राजु शर्मा घतानीसँग मिली एक सिधासाधा गरिब र वृद्ध व्यक्तिलाई विश्वासमा पारेको देखियो । अब कानूनीरूपमा हेर्दा कुनै पनि व्यक्तिलाई फकाई झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि नोक्सानी वा क्षति पुर्याएमा वा आफ्नो वा कसैको लागि लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिनेछ भनी मुलुकी अपराध संहिता २०७४ को दफा २, ४ र ९ को उपदफा (२) को (१)मा उल्लेख गरेको देखिन्छ ।
प्रतिवादीसमेत मिली माथि उल्लेखित गरिएको परिभाषामा नै एक सिधा इमान्दार, व्यक्ति वादीलाई उपरोक्त परिभाषाभित्रकै कार्य गरी वादीले ६८ हजार कर्जा लिएकोमा सिर्जना खातीको नाममा पास गरी २८ लाख नबिल बैङ्कमा जम्मा गरी निज वादीको नामको खाली चेकमा निजलाई फकाई, झुक्याई सही गराई उक्त चेक प्रतिवादीसमेतले आफ्नो नियन्त्रणमा लिई वादीको नामको चेकबाटै प्रतिवादीसमेत भई आफूले खाएको ऋण चुक्ता गर्न उल्लेखित कार्य गरेको नबिल बैङ्कको स्टेटमेन्ट र बेन्जू ताम्राकार, पिन्टुकुमार ठाकुरले यस न्यायिक समितिमा आई गरेको बकपत्रसमेतबाट पुष्टि हुन आयो’ आदेशको तथ्य खण्डमा भनिएको छ, ‘ठगी मुद्दा न्यायिक समितिको क्षेत्राधिकारभित्र नपर्ने हुँदा उक्त मुद्दा चलाउने क्षेत्राधिकार मोरङ प्रहरीलाई छ । मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ को ठगी आपराधिक लाभ कसुरको दफा २४९ को सिर्जना खाती समेतलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुहुन जिल्ला प्रहरी कार्यालय मोरङलाई सक्कल मिसिल पठाइदिनु ।’
Leave a comment