काठमाडौं । सहकारीको समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघले सल्लाहकारको अगुवाईमा माथिल्लो तहमै लविङ गर्ने भएको छ । महासंघको संचालक समितिमार्फत माथिल्लो तहमा प्रभावकारी लविङ हुन नसकेपछि सल्लाहकारहरुको सहायता लिन लागेको हो ।
सहकारीहरुको समस्या समाधानका लागि महासंघले संचालक केबी उप्रेतीको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त समितिले महासंघ, राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) का सल्लाहकारलाई साथ लिएर माथिल्लो तहमा समस्या समाधानको लविङ गर्ने तयारी गरेको हो ।
समितिका संयोजक केबी उप्रेतीले तीन वटै संघहरुका सल्लाहकारको मिटिङ आगामी आईतबार बोलाइएको जानकारी दिए । ‘हामीले सहकारी संघहरुका सल्लाहकारको मिटिङ राखेका छौं’ उनले भने, ‘उहाँहरुको अगुवाईमा तीन ठुला राजनीतिक दलका प्रमुख, प्रधानमन्त्री, गभर्नर, अर्थ मन्त्री, सहकारी मन्त्रीलाई भेटेर समस्या समाधानका लागि आग्रह गछौं ।’
सहकारी समस्याबारे छलफल गर्न महासंघको नेतृत्वले भेट्न समय मागेपनि सहकारी मन्त्री शशी श्रेष्ठले भने वेवास्ता गर्दै आइरहेकी छिन् । महासंघले सन्दर्भ ब्याजदर बढाउन दवाव दिएपनि मन्त्रीले आफु ब्याज बढाउने पक्षमा नरहेको भन्दै महासंघको नेतृत्वलाई भेट्का लागि समय समेत दिएकी छैनन् ।
महासंघको मिनराज कडेलको नेतृत्व आएपछि सरोकारवाला निकायहरुमा लविङ कमजोर भएको, महासंघले सरोकारवाला निकाय तथा व्यक्तिहरुलाई स्पष्टसँग आफ्नो कुरा राख्न नसकेको भन्दै आलोचना भइरहेको छ । पछिल्लो समस्यामा पनि महासंघले नेतृत्व लिन नसकेको भन्दै सहकारीका संचालकहरुले आन्दोलनको चेतावनी समेत दिइरहेका छन् ।
महासंघ र बैंकमा पूर्वमन्त्री, सचिव, विशिष्ट पहिचान भएका व्यक्ति सल्लाहकार भएकाले उनीहरुको अगुवाईमा जादा लविङ प्रभावकारी हुने महासंघको बुझाइ छ । हाल नेफ्सकूनमा तीन जना पूर्व अध्यक्षहरु मिनराज कडेले, ऋषि घिमिरे र डिबी बस्नेत सल्लाहकार छन् ।
त्यसैगरी सहकारी बैंकमा भने महासंघका दुई पूर्व अध्यक्षहरु केशब प्रसाद बडाल र दिपक प्रकाश बास्कोटा रहेका छन् । यसबाहेक कमल चौलागाई, राधा घले, मिनराज कडेल धर्मदत्त देवकोटा, अर्थशास्त्री विश्वम्भर प्याकुरेल, भागवत श्रेष्ठ र केशव निरौला सल्लाहकारमा छन् ।
यस्तै महासंघको सल्लाहकारमा भने हालका गृहमन्त्री वालकृष्ण खाडका साथै पूर्वमन्त्री गणेश शाह रहेका छन् । यसबाहेक विष्णु रिमाल, भरत प्रधान, उषा झा, हरिकृष्ण उपाध्याय, दिपक प्रकाश बास्कोटा र रविन्द्र केसी सल्लाहकार रहेका छन् ।
Leave a comment