काठमाडौं । गत आर्थिक वर्षमा सहकारी संस्थाहरुले नेपाल राष्ट्र बैंक अन्र्तगतको वित्तीय जानकारी इकाईमा सम्पती शुद्धिकरणका पौने तिन लाख सूचना रिपोटिङ गरेका छन् । सम्पति शुद्धिकरण निवारणका प्रावधानमा सहकारी विभागको कडाइ र सहकारीकर्मीमा आएको सचेतनासँगै रिपोटिङ पनि बृद्धि हुन थालेको हो ।
इकाईका अनुसार आर्थिक वर्ष २०७८ / ७९ मा सहकारी संस्थाहरुले २ लाख ७४ हजार सिमा कारोबारको सूचना पठाएका छन् । अघिल्लो वर्ष २ लाख ३४ हजार सुचना मात्र सहकारीहरुले केन्द्रमा पठाएका थिए । प्रत्येक वर्ष सहकारीहरुले गर्ने रिपोटिङ वृद्धि हुदै गएको इकाईको तथ्यांकले देखाएको छ।
सहकारी संस्थाहरुले वित्तीय जानकारी इकाईमा सिमा कारोबार र शंकास्पद कारोबारको सुचना पठाउनुपर्ने व्यवस्था छ । सिमा कारोबार अन्र्तगत एक व्यक्तिले एकै पटकमा वा पटक÷पटक गरेर १० लाख रुपैयाँभन्दा बढिको कारोबार गरेको त्यसको सूचना केन्द्रमा दिनुपर्छ ।
यसैगरी जतिसुकै रकम कारोबार गरेपनि शंकास्पद ढंगले कारोबार भएको पाईएमा पनि त्यसको सूचना केन्द्रलाई दिनुपर्ने व्यवस्था रहेको छ । इकाईले १० करोडभन्दा बढि कारोबार गर्ने सहकारीहरुलाई गोएमएल सफ्टवेयर अनिवार्य गरेको छ भने गत जेठबाट भने १० करोडभन्दा कम कारोबार गर्ने संस्थाहरुले गोएमएल सफ्टवेयरमा दर्ता गरी उक्त सफ्टवेयरकै म्यासेज बोर्डमार्फत प्रतिवेदन तथा सूचनाहरु पठाउनुपर्ने व्यवस्था गरेको छ ।
सम्पति शुद्धिकरण निवारण ऐन अनुसार सहकारी पनि सूचक संस्था भएकाले केन्द्रले तोके अनुसार सूचना बुझाउनुपर्ने व्यवस्था छ । सम्पति शुद्धिकरण निवारणसम्बन्धी व्यवस्था कार्यान्वयनका लागि विभागले २०७४ सालमै निर्देशन जारी गरेको छ । सहकारी संस्थाहरुले उक्त निर्देशन पालना नगरेको भन्दै एक दर्जन भन्दा बढि संस्थाहरु कारवाहीमा परेका छन् ।
Leave a comment