रजिष्ट्रारले भने : सर्वसाधारण र सदस्यलाई विश्वास जगाउने काम सहकारी अभियानकै 

रजिष्ट्रारले भने : सर्वसाधारण र सदस्यलाई विश्वास जगाउने काम सहकारी अभियानकै  :: Sahakari Akhabar

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीका सदस्यहरु तथा आम सर्वसाधारणलाई विश्वास जगाउने काम सहकारी अभियानकै भएको बताएका छन् । शुक्रबार राष्ट्रिय सहकारी महासंघको ज्ञापनपत्र बुझ्दै उनले अभियानको माग अनुसार अपील जारी गर्न नमिल्ने स्पष्ट पारे । 

महासंघले बुझाएको ५ बुँदे ज्ञापनपत्रमा सहकारी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुनेगरी सदस्य र आम समुदायमा अपील जारी गर्न आग्रह गरिएको छ । ज्ञापनपत्र बुझेपछि रजिष्ट्रार पण्डितले उक्त काम सहकारी अभियान र सम्बन्धित संस्थाकै भएको बताए । ‘आफ्ना सदस्यहरुलाई विश्वासमा लिने काम सहकारी संस्था र अभियानकै हो’ उनले भने, ‘हामीले त उजुरी परेको अवस्थामा कानुनी कारवाही गर्नुपर्छ, पैसा फिर्ता नदिउँ भनेर अपील जारी गर्न मिल्दैन ।’

तरलता अभावका कारण केहि सहकारीहरु बचत फिर्ता गर्न नसकेका घटनाहरुले आम सर्वसाधारणमा सहकारीप्रति अविश्वास बढेको छ । सहकारीमा राखेको बचत जोखिममा पर्ने त्रासमा फिर्ता माग्नेको संख्या बढेपछि सहकारीहरुलाई तरलता व्यवस्थापनमा धौ धौ परिरहेको छ । यो अवस्थामा सहकारीका सदस्य तथा आम सर्वसाधारणलाई विश्वास जगाउन सरकारले पनि आग्रह गर्नुपर्ने अभियानले माग गर्दै आएका छन् । 

यसैगरी रजिष्ट्रार पण्डितले सहकारी कर्जा सूचना केन्द्रको कार्यविधि अर्थ मन्त्रालयमा पुगेको र ऋण असुली न्यायाधिकरण तथा बचत तथा ऋण सुरक्षण कार्यविधि भने सहकारी मन्त्रालयमा पठाइएको जानकारी दिए । यस्तै उनले सन्दर्भ ब्याजदर प्राविधि उपसमितिलाई तत्काल बैठक बसेर निर्णय गर्न समेत निर्देशन दिए । 

 



Leave a comment