काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर छिटो पुनरावलोकन गर्न संघिय सहकारी विभागलाई दवाव दिएको छ । शुक्रबार रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई ज्ञापनपत्र बुझाउदै महासंघले बजार अनुरुप सन्दर्भ ब्याजदर स्वचालित हुनेगरी पुनरावलोकन गर्न माग गरेको हो । बजारमा ब्याजदर बृद्धि हुँदापनि सहकारीले भने सन्दर्भ ब्याजदरका कारण ब्याज परिवर्तन गर्न नपाउदा पुँजी पलायन भई सहकारीमा तरलता संकट भएको ज्ञापनपत्रमा दावी गरिएको छ ।
महासंघले बुझाएको ५ बुँदे ज्ञापनपत्रमा ऋण असुलीका लागि सहयोग गर्न, तरलताको ब्यवस्थाका लागि सहूलियत ब्याजदरमा रकम व्यवस्था गर्न, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण र बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गर्न र सहकारी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुनेगरी अपील जारी गर्न आग्रह गरिएको छ । महासंघ, प्रदेश र जिल्लास्तरिय संघले पटक पटक ज्ञापनपत्र बुझाएको उल्लेख गर्दै ज्ञापनपत्रमा महासंघले संचालक केबी उप्रेतीको संयोजकत्वमा समिति बनाएको समेत जानकारी गराएको छ ।
यसअघि वागमती प्रदेश सहकारी संघको नेतृत्वमा काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रेका जिल्ला संघहरुले संयुक्त रुपमा सोही प्रकृतिको ज्ञापनपत्र रजिष्ट्रार पण्डितलाई बुझाएका थिए ।
पछिल्लो समय सहकारीका केन्द्रीय संघ तथा महासंघको नेतृत्व प्रारम्भिक संस्थाका समस्यामा संवेदनशिल नभएको भन्दै उनीहरु विरुद्ध नै आन्दोलन हुन लागेपछि यसलाई थामथुम पार्न संघ महासंघले समिति बनाउनेदेखि ज्ञापन बुझाउन भने सक्रियता देखाएका छन् ।

Leave a comment